कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिशूलीमा देखिनै छाड्यो गिद्ध

हरिहरसिंह राठौर

धादिङ — कुनै बेला त्रिशूली किनारमा हूलका हूल देखिने गिद्ध अचेल देखा पर्नै छाडेका छन् । रसुवा, नुवाकोट, धादिङ, गोरखाबाट त्रिशूली नदीले बगाएर पाखा लागेका गाईवस्तुको सिनो गिद्धले खाने गर्थ्यो ।

त्रिशूलीमा देखिनै छाड्यो गिद्ध

गिद्ध नआउँदा त्रिशूली बगरमा पाखा लागेको सिनोले वरपर बजारमा दुर्गन्धले बसिनसक्नु हुने गरेको छ । मलेखुका शिव पाण्डेका अनुसार कुनै पनि सिनो घण्टामै सफाचट गर्ने गिद्धका बथान त्रिशूली किनारमा देखिन छाडेको ५ वर्ष जति भएको छ ।

त्रिशूलीले बगाएको ल्याउने सिनोको मात्रै होइन, स्थानीय पशुपालक किसानका गाईगोरु मरे पनि सिनो व्यवस्थापनमा कठिनाइ र चुनौती थपिएकै छ । ‘अब त किसानको पशुवस्तु मरेमा डोजर प्रयोग गरी खाल्डो खनेर बारीमा गाड्न पनि हजारौं खर्च गर्नुपर्ने हुन्छ,’ नीलकण्ठ नगरपालिका–१२ का वडाअध्यक्ष बाबुराम लम्सालले भने ।


स्थानीय जंगले निवासी गोपीलाल श्रेष्ठले पशुपालन फर्म सञ्चालन गर्न भारतबाट ३७ वटा गाई खरिद गरी ल्याए । ५ वटा गाईले आम्दानी दिन थालेपछि गाईपालनमा हौसिएका उनले फर्ममा ४२ वटा गाई पुर्‍याएको साता नबित्दै साउनको अन्त्यमा एकै दिन ६ वटा गाई मरे । उनको फार्ममा केही दिनपछि ११ वटा गाई मरे ।


श्रेष्ठलाई १७ वटा गाईको सिनो व्यवस्थापन गर्न स्थान अभावसमेत भयो । सिनो व्यवस्थापनमा थप अढाइ लाख खर्चिनुपरेको उनले दुःखेसो पोखे । जिल्लामा पशु सेवा कार्यालयले दिने अनुदानमा किसानले खरिद गरी ल्याउने भारतीय गाईहरूसँग आउने रोगले गाउँघरका रैथाने गाईहरू पनि धमाधम मर्न थालेका छन् । छिमेकी देशबाट गाई ल्याउन प्रतिबन्ध भएकोले तस्करहरूमार्फत भन्सार र पशु क्वारेन्टाइन छलेर आउने गाईसँग विभिन्न रोगहरू पनि भित्रिने गरेका छन् । अनुदानका लोभमा भित्रिने भारतीय गाईहरूबाट सर्ने रोगले स्थानीय गाईहरूलाई पनि रोग सर्ने गरेको छ ।


नेपाल पन्छी संरक्षण संघका विज्ञ टोलीले १८ अप्रिल ०१५ मा विश्वमै दुर्लभ सुन गिद्ध, सेतो गिद्ध र हिमाली गिद्ध गल्छीभन्दा माथि नुवाकोट जाने बाटोमा त्रिशूली नदी किनारमा सिनो खाँदै गरेको अवस्थामा फेला पारेका थिए । यस्तै, दुर्लभ हाडफोर गिद्ध पनि १९ अप्रिल २०१५ मा देखिएको थियो । डगर गिद्ध २०१३ को माघमा कुरिनटारभन्दा माथिबाट देखिएको थियो ।


गिद्ध संरक्षणका लागि नेपाल सरकारले २३ जेठ ०६३ देखि पशु उपचारमा अत्यधिक प्रयोग हुने डाइक्लोफेनेक प्रतिबन्ध गरेको थियो । यसको विकल्पमा सुरक्षित मेलोक्सिक्यामको उत्पादन र प्रयोग सुरु भएको थियो । हाल पशु उपचारमा डाइक्लोफेनेक प्रयोग शून्य छ । पशुवस्तुलाई उपचारमा दिइने डाइक्लोफेनेकले पशुलाई निको गरे पनि त्यो कुनै समय मरेपछि गिद्धले ती पशुका सिनो खाँदा तत्काल गिद्धको किड्नी कमजोर भई मर्नेका लोप हुँदै गएको नेपाल पन्छी संरक्षण संघका गिद्धविज्ञ कृष्ण भुसालले बताए ।


विश्वमा जम्मा २३ प्रजातिका गिद्धहरू भए पनि नेपालमा ९ प्रजातिका फेला परेका छन् । तीमध्ये ५ प्रजाति विश्वमै दुर्लभ रहेको भुसाल बताउँछन् ।

प्रकाशित : भाद्र २१, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?