कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुसहर समुदायको पहिलो सफारी

पर्यटकहरू हात्ती चढ्नकै लागि आउँछन् तर गाउँ नजिकैबाट हात्ती हिँडेको देखे पनि पहिलो पटक मुसहर समुदायले हात्ती सफारी गर्न पाएका छन् 
रमेशकुमार पौडेल

चितवन — बिगवा माझी मुसहरले जान्ने बुझ्ने भएदेखि नै हात्ती देखेका हुन् । उनको गाउँ मालपुर आडबाटै हात्तीहरू आउजाउ गर्छन् । पर्यटकीय क्षेत्र सौराहासँगै जोडिएको छ उनको गाउँ । सौराहा आउने धेरै जसो पर्यटक हात्ती चढेर जंगल घुम्न रुचाउँछन् ।

मुसहर समुदायको पहिलो सफारी

हात्ती सफारीका लागि देश/विदेशमा प्रख्यात सौराहा आडमा बसेर पनि ४० वर्षीय बिगवाले आइतबार जीवनमा पहिलो पटक हात्ती चढेर जंगल घुमे ।


सौराहा नजिकैको बाघमारा मध्यवर्ती सामुदायिक वन कार्यालयको अगाडि हात्ती चढ्नेको सधैं भिडभाड हुन्छ । अरू बेला सौराहादेखि निकै टाढाका पर्यटक हात्ती चढ्न लामबद्ध हुन्थे तर आइतबार मध्याह्न मालपुर गाउँका मुसहर निकै उत्सुकतासाथ हात्ती चढ्ने पालो कुर्दै थिए । त्यहाँ भेला भएका ४० जना महिला पुरुष मुसहरलाई वनका अध्यक्ष जितु तमाङले सोधे, ‘यसभन्दा अघि हात्ती चढ्ने कोको हुनुहुन्छ, हात उठाउनुस् ।’


तर कसैले पनि हात उठाएनन्, सबै पहिलो पटक हात्ती चढेर जंगल घुम्न जाँदै रहेछन् । ६० वर्षका तेजबहादुर माझी मुसहरले भने ‘टुरिस्टहरू हात्ती चढ्नैका लागि टाढा टाढाबाट यहाँ आए तर हामी यही भएर पनि अझसम्म हात्ती चढिएन ।’ मुसहरहरू खोला र जंगल नजिक बस्ने गर्थे । तेजबहादुरको जन्म नवलपरासीमा भएको हो तर चितवनमा बिहे गरेपछि उनी मालपुरमै बस्न थाले ।


‘पहिला त खोलामा माछा पाइन्थ्यो । जंगलमा दाउरा र साग सिस्नो हुन्थ्यो । यसैबाट जीवन निर्वाहा गरियो । कमाउन सकिएन । हात्ती चढ्न पनि खर्च नै लाग्ने । पैसा नभएपछि किन हात्ती चढ्ने,’ तेजबहादुरले भने । ५० वर्षकी शान्ति मुसहर पनि हात्ती चढ्न पाउँदा रमाएकी थिइन् । जंगल जाँदा गैंडा नदेखेकी हैनन् । त्यो बेला गैंडा देखिए भागेर ज्यान जोगाउनुपर्थ्यो । ‘हात्तीमा बसेर गैंडा हेर्दा त दौडन नपर्ला,’ उनले भनिन् ।


अमिर माझी, हरेन्द्र माझी र जीवन माझी मुसहर समुदायका नव युवा हुन् । कक्षा १० देखि १२ सम्म पढेका यी युवा पनि पहिलो पटक हात्ती चढ्दै थिए । ‘हाम्रा बाउबाजेले आफ्नै शैलीमा जीवन गुजारे । हामी पनि त्योभन्दा फरक खासै हुन सकिएन । हात्तीमाथि चढेर देश विदेशका मान्छे जंगल डुलेको देख्दा त्यसरी हामी पनि डुल्न पाए हुन्थ्यो भन्ने लागेको हो तर लागेर मात्रै के गर्ने पैसा नभएपछि,’ जीवनले भने । बाघमारा मध्यवर्ती सामुदायिक वन हात्ती सफारी गराउने चितवनकै मुख्य वन हो ।


यसको वार्षिक आम्दानी तीन करोड रुपैयाँको हाराहारीमा हुने अध्यक्ष तमाङले बताए । हात्ती सफारीको प्रवेश शुल्क नै आम्दानीको मुख्य स्रोत हो । यो सामुदायिक वनको संरक्षण कार्य ०४६ को भदौ १५ बाट सुरु भएको थियो । ३० वर्ष पुगेको अवसर पारेर मुसहरहरूका लागि निःशुल्क हात्ती सफारी आयोजना गरेको अध्यक्ष तमाङले भने ।


वनको क्षेत्रफल २१५ हेक्टर छ । उपभोक्ता एक हजार ३३० घरधुरी छन्, जसमध्ये मुसहरका ४४ घरधुरी छन् । ‘सबै मसुहरको आर्थिक अवस्था साह्रै नाजुक छ । जंगल गएर दाउरा ल्याएर चुलो बाल्छन् । उनीहरूका लागि मात्रै हामीले वनमा दाउरा काट्न दिएका छौं ।


महिनाको दुई दिन उनीहरूले जंगलबाट दाउरा ल्याउँछन्,’ अध्यक्ष तमाङले भने । ५० वर्षीय रुपलाल माझीले आफ्नै नाममा जग्गा हुने मुसहर लगभग नभएको बताए । त्यसैले दुनियाँ लोभिएको हात्ती सफारीको मज्जा लिन आफूहरूले अहिलेसम्म नपाएको उनले बताए ।


‘खानलाउनकै दुःख भएपछि हामी हात्ती चढ्न गइएन । लो आउ चढ भनेर अहिलेसम्म कसैले भनेन,’ रुपलालले भने । हात्ती चढेर केके हेर्न पाइन्छ, जंगल जोगिएका कारणले नै हात्ती चढेर मान्छेहरू जनावर हेर्न आएका हुन, त्यसैले जंगल जोगाउनुपर्छ भन्ने सन्देश दिन मुसहरका लागि हात्ती सफारी राखेको अध्यक्ष तमाङले बताए ।


मुसहरका लागि सामुदायिक वनले अरू सहयोग पनि गर्दै आएको छ । स्कुल पढ्ने मुसहरका बालबालिकालाई ट्युसन पढाउन वनले वर्षको ८० हजार दिएर एकजना शिक्षक खटाएको छ ।

प्रकाशित : भाद्र १६, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?