कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसदीय समितिले लियो मन्त्रालयबाट भत्ता

मकवानपुर — प्रदेश ३ को शिक्षा, स्वास्थ्य तथा कृषि समितिले अनुगमन गरेबापतको भत्ता भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट लिएको छ । 

समितिले चितवन र सिन्धुली जिल्लामा सञ्चालित सामूहिक चक्लाबन्दी खेती र मत्स्य पालन कार्यक्रमको स्थलगत अध्ययन गरको थियो ।


समितिले अध्ययन गरेबापत्को भत्ता मन्त्रालयबाट लिएको हो । अध्ययनमा संलग्न १२ सांसदले जनही २० हजार रुपैयाँका दरले मन्त्रालयबाट भत्ता लिएका थिए । संसद्को समितिले मन्त्रालयबाट भत्ता लिनु नैतिकताविपरीत काम भएको प्रदेश ३ का सार्वजनिक लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठले बताए । यसमा समितिको ध्यानाकर्षण भएको भन्दै उनले अध्ययन गरिने सुनाए । ‘कार्यपालिकाको बजेटबाट व्यवस्थापिकाको काम गर्नुहुँदैन,’ उनले भने, ‘यस विषयमा ध्यानाकर्षण भएको छ । समितिले यस विषयमा छलफल अगाडि बढाइसकेको छ ।’


समितिका सभापति घनश्याम दाहालको नेतृत्वमा १२ सदस्यले गरेको अध्ययन प्रतिवेदन बुधबार प्रदेशसभामा पेस गरिएको छ । समितिका सदस्य इन्द्रमाया गुरुङ, उर्मिला कर्माचार्य, कञ्चन खनाल, केशवप्रसाद पोखरेल, गोमा भुर्तेल, प्रेमबहादुर पुलामी, मैना अछामी, लालकुमारी पुन, वसन्त मानन्धर, सरस्वती बस्नेत र सरस्वती बाटीले भ्रमण भत्ता मन्त्रालयबाट लिएका हुन् । उनीहरूलाई प्रथम श्रेणीको कर्मचारी बराबरको दैनिक भत्ता, खाना खर्च, आवास भत्ता उपलब्ध गराएको मन्त्रालय स्रोतले जनाएको छ ।


यता, मन्त्रालयले भने आफ्नो वार्षिक कार्यक्रमअनुसार नै सांसदलाई अध्ययनका लागि पठाइएको जनाएको छ । वार्षिक कार्यक्रमअनुसार जेठ २४, २५ र २६ मा चितवन र सिन्धुलीको विभिन्न क्षेत्रमा समितिका सदस्य स्थलगत अध्ययनमा गएका मन्त्रालयले जनाएको छ । समितिले भने प्रक्रिया पुर्‍याएर खर्च जुटाउन ढिलो हुने र मन्त्रालयमा सोही शीर्षकमा बजेट भएकाले मिलाइएको समितिका सभापति घनश्याम दाहालले जानकारी दिए ।

प्रकाशित : भाद्र १२, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?