रातिराति भैरव–कुमारी

राजेन्द्र मानन्धर

दोलखा — प्राचीन दोलखा सहरमा जब रात छिप्पिन्छ, बाजागाजासहित भैरव र कुमारी सेनामेनाका साथ सहर पस्छ । भाद्र कृष्ण द्वितीयादेखि षष्ठीसम्म रातभर बाजा बजाउँदै सहर घुम्ने क्रम चलिरहल्छ ।

सहरको टोलहरूमा भैरव र कुमारी पुग्दा सहरबासी उठ्छन र दर्शन गरेपछि कोही सुत्न घर फर्कन्छन् कतिपय सँगै घुम्छन् । बाहिरबाट आएका मानिस भैरव कुमारीसँगै रमाउने गरेका छन् ।

परम्परागत ढाँचामा टसिचा टोलबाट निस्कने भैरवकुमारी जात्रा राति १० बजेदेखि सुरु हुन्छ । सहर घुमेर बिहानीपख थन्क्याइन्छ । यो जात्रा चलिरहेकाले प्राचीन सहर दिनभन्दा रातमा बढ्ता भीडभाड भइरहेको वडा अध्यक्ष विराज श्रेष्ठ बताउँछन् । तान्त्रिक विद्या जानेका गुठियार र शिवभक्ति जातका खलक भैरव र कुमारीको भेष धारण गर्छन् ।

यो जात्रामा अभिनयको भूमिका निर्वाह गर्ने १३ जना हुन्छन् । रातभरि १२ जना कुसुले र २ जना कसाईले बाजा बजाइरहन्छन् । भैरव कुमारी ढोलक र अन्य बाजाको तालमा अघिपछि गर्दै नाचिने रोचक जात्रा हेर्न टाढाबाट मानिस आइरहेका छन् । जात्रको मुख्य रहस्य कुमारी रिसले मानव संहार गर्छु भन्दै अगाडि बढदा भैरवले छेक्दै नरसंहार रोक्ने खोजेको अभिनय हो ।

जात्रामा भैरव र कुमारीलाई छुन, ढोग्न, पूजा सामग्री चढाउन तँछाडमछाड चल्छ । नि:सन्तान महिला गर्भवती हुने, दीर्घरोग निको हुने र बोली नफुटेका बालक बोल्ने विश्वाससाथ दर्शन गर्न आउनेहरू हुन्छन् । समस्या भएकाहरूलाई भैरव र कुमारीको बीचमा राखेर भिन्दै तालले चर्को बाजा वजाइदिन्छन्, कुमारको गणसहितले समातेर तीनचोटि ओहोरदोहोर मनोकांक्ष गराइदिएपछि इच्छा पूरा हुने जनविश्वास लिएर जात्रे घर फिर्छन् ।

स्थानीय संस्कृतिका अध्येता तीर्थनारायण जोशीका अनुसार नकिन (थकाल्नी) ले रातो सारी चोलो, हातमा धागो कात्ने फिरफिरे र लठ्ठी लिएको हुन्छ । सर गउ (सेनापति) को लुगा सेतो जामा, सेतो दौराजस्तो लगाएर घोडामाथि चढेको हुन्छ ।

उक्त भूमिकामा सबैले आआफ्नै तालमा नाचेको हेर्दा रात गएको थाहै नहुने जात्रामा सहभागी कल्पना श्रेष्ठ बताउँछिन् । मनोकांक्षा पूरा हुने विश्वासले स्थानीय चेलबेटीहरू ब्रत बस्नेसमेत गर्छन् । द्वितीयाको दिउँसो पूजा सामग्रीसहित एउटा बोका बालकुमारी मन्दिर (कोबीदेउ) मा तान्त्रिक विधिविधानबाट पूजा गरिएको भीमेश्वर पूजा व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठ बताउँछन् ।

प्रकाशित : भाद्र ५, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्

उब्जनीले ९ महिनाभन्दा पुग्दैन खान

कान्तिपुर संवाददाता

चितवन — नगरपालिकालाई हुने खानेहरूको बसोबास क्षेत्रका रूपमा बुझ्ने गरिन्छ । चितवनको राप्ती नगरपालिका–१३ मा बाह्रै महिना खान पुग्ने घरधुरी एउटा पनि छैन । यो वडा सिमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय चेपाङ बहुल क्षेत्र हो । 

नगरपालिकाले नै गरेको घरधुरी सर्वेक्षणमा यो अवस्था भेटिएको हो । उब्जाउका हिसाबले तुलनात्मक रूपमा वडा– १३ कमजोर भए पनि बाह्रै महिना खान पुग्ने घर शून्य नै नभएको मत केहीको छ ।

नगरपालिका कार्यालयका अधिकारी भने सर्वेक्षण नतिजाले देखाएको कुरा ठीक भएको दाबी गर्दछन् । कुल १३ वटा वडा रहेको नगरपालिकाभित्र १२ हजार ५ सय ३१ घरधुरी छन् । प्रत्येक घरधुरीमा पुगेर गरेको सर्वेक्षणका आधारमा नगरको प्रोफाइल तयार भएको छ । गएको असारमा सम्पन्न नगरपालिकाको नगरसभामा प्रोफाइल सार्वजनिक भएको थियो ।

जसमा राप्तीको वडा – १३ का कुल ५ सय ७४ घरधुरीमध्ये तीन महिनासम्म खान पुग्ने घरधुरी सबैभन्दा धेरै २ सय ६० छन् । नगर प्रोफाइल तयार कार्यक्रममा संलग्न सूचना प्रविधि शाखाका प्रमुख लक्ष्मी कँडेलका अनुसार आफ्नै खेतको उत्पादनले खान पुग्ने घरपरिवारको अवस्था विश्लेषण गरिएको थियो ।

‘हामीले तीन महिनासम्म खान पुग्ने, ६ महिनासम्म खान पुग्ने, नौ महिनासम्म खान पुग्ने र नौ महिनाभन्दा माथि बाह्रै महिना खान पुग्ने परिवारको विवरण संकलन गरेको हो । आफ्नै खेतको उत्पादनले कति खान पुग्छ भनेर सोधेका थियौं,’ कँडेलले भनिन् ।

विवरण लिन सर्वेक्षक/गणक घर घरमा नै गएका थिए । उनीहरूलाई तालिम दिएर खटाइएको थियो । ‘त्यसरी गरेको घरधुरी सर्वेक्षणमा राप्ती–१३ मा नौ महिनाभन्दा माथि खान पुग्ने घरधुरीको संख्या भेटिएन । यो सत्य कुरा हो,’ कँडेलले भनिन् । राप्ती–१३ का वडाध्यक्ष सूर्यबहादुर चेपाङले भने अवस्था त्यस्तो नभएको बताए ।

मकै, कोदो भए पनि खाएर बाह्र महिना पुर्‍याउने परिवार आफ्नो वडामा धेरै रहेको उनले सुनाए । ‘बाह्रै महिना खान पुग्ने गरेर धान नफल्ला रे तर हाम्रो वडामा मकै, कोदो फल्छ,’ वडाध्यक्ष सूर्यबहादुर चेपाङले भने, ‘मकै, कोदो, सिमी भटमास बेचेर चामल किन्नेहरू पनि छन् । काम गरेर अन्न किन्नेहरू पनि छन् ।’

नगरपालिकाको कृषि तथा सहकारी शाखाका प्रमुख श्रीकृष्ण न्यौपाने पनि तथ्यांक संकलनमा केही कमजोरी भयो कि भनेर हेर्नुपर्ने बताउँछन् । प्रमाणीकरण कार्यशालामा मेयर, उपमेयर र वडाध्यक्षसहितका कार्यपालिका सदस्य तथा विषय विज्ञहरू पनि थिए ।

राप्ती–१३ मा परे पनि कान्दा गाउँ निकै विकट बस्ती हो । पहाडको कुनामा रहेको यो गाउँमा धेरैलाई खान धौधौ नै छ । चेकराम चेपाङको घरमा पुराना मकैको खातै खात भेटिन्छ ।
आफ्नो घरमा नौ वर्ष पुरानो मकै हुने गरेको उनी बताउँछन् । १२ नम्बर वडामा नौ महिनाभन्दा माथि खान पुग्ने घर एउटा मात्रै भेटिएको छ । ‘हाम्रो जिल्लाको विकट क्षेत्रमा यस्तो समस्या छ,’ राप्तीका उपमेयर इमानसिंह लामाले भने । तर समग्र नगरपालिकामा खाद्य सुरक्षाको अवस्था राम्रो देखिन्छ ।

नगर प्रोफाइलमा उल्लेख भए अनुसार नगरभित्रको उत्पादनले यहाँको एकजना व्यक्तिका लागि वर्षमा २ सय ९० केजी अन्न उपलब्ध हुने गरेको छ । जुन खाद्य सुरक्षाका दृष्टिले मजबुद अवस्था भएको मानिन्छ ।

प्रकाशित : भाद्र ५, २०७६ ०९:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्