कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमला नदी कटानले कृषक सुकुम्बासी

राजकुमार कार्की

सिन्धुली — दुधौली नगरपालिका ९ का मंगले दनुवारलाई अहिले कमलाखोंचको फाँटमा धान खेत देख्दा ईर्ष्या जागेर आउँछ । कुनै दिन आफ्नो खेतमा यसैगरी धानको हरियाली हेरेर रामप्रसाद दंग पर्थे ।

कमलाखोंच क्षेत्रमा कमला नदीको बाढीले बर्सेनि उर्वरभूमि कटान गरेपछि सयौं कृषक अहिले सुकुम्बासी बनेका छन् । बाँकी रहेको खेत पनि नदी कटानको चपेटामा परेको छ ।

मंगले अहिले नदी कटानबाट जोगिएका फाँट खेतमा मजदुरी गरेर जीवन निर्वाह गर्न बाध्य छन् । उनको दुई बिघा फाँट खेत अहिले बगर बनेको छ । कमला नदीको कटानबाट बर्सेनि सोही नगरपालिकाको हत्पते, निपाने, हर्षाही, टाँडी, सिर्थौली र कमलामाई नगरपालिकाका वडा नं. ८ देखि १४ सम्मका कृषक प्रभावित हुँदै आएको स्थानीय बताउँछन् ।

यस वर्ष कमलानदीले १० बिघाभन्दा बढी धनहर खेत बगरमा परिणत गराइसकेको दुधौलीका दीपेन्द्र बुढाथोकीले जनाए । उनका अनुसार कमला नदी कटानको समस्या बढ्दो रूपमा देखा परेको दुई दशक बढी भए पनि नियन्त्रण गर्न कुनै पनि निकायबाट प्रभावकारी काम हुन नसक्दा कृषक सुकुम्बासीमा परिणत हुने क्रम बढ्दै गएको छ ।

तत्कालीन भूमिपति कृषक मंगलेको सबै खेत ०५० मा कमला नदीमा आएको बाढीले बगाएपछि अहिले १२ जनाको परिवार मजदुरी गरेर पालिँदै आएको गुनासो पोख्छन् । ‘जीवन निर्वाहका लागि यतिखेर मजदुरी गर्नुको विकल्प छैन,’ उनले भने, ‘गरिबी निवारण कार्यक्रमबाट १४ हजार चार सय ऋण लिएर गोरु किनी टायर गाढा चलाउन थालेको छु ।’

त्यसबाट धेरथोर गुजरा चलेको उनले दुखेसो पोखे । कमला नदीले गाँउमा रहेका झन्डै दुई सय परिवारको चार सय बिघाजति खेत बगाएको उनले बताए । मंगले मात्र हैन, हत्पतेका कृषक चोक्ता दनुवारको पीडा पनि थामिनसक्नुको छ । उनी नवसुकुम्बासी बनेका छन् । कमला नदीमा आएको बाढीले १० कट्ठा खेत बगाएपछि अहिले दैनिक मजदुरी नगरे चुलामा आगो नबल्ने उनले पिडा सुनाए ।

भएको खेतको आम्दानीले मज्जासँग परिवारको गुजारा गर्दै आएको उनी अहिले बगर बनेको खेत हेरेर भक्कानिन्छन् । ‘कमला नदीको पीडा सहेर बस्न बाध्य कृषकहरू यस क्षेत्रमा सयौंको संख्यामा छन् दनुवारले भने, ‘नदी नियन्त्रण नहुँदा बर्सेनि सुकुम्बासीको संख्या बढ्दै गएको छ । सात जनाको परिवार भए पनि एक वर्ष अघिसम्म खान लाउनको कुनै समस्या थिएन उनले थपे, ‘अहिले अरुको खेतमा ज्याला मजदुरी गरेर परिवारको पेट पाल्ने गरेको छु ।’ हर्षाहीका कृषक दुर्गाबहादुर घिसिङ यसै वर्ष मात्रै कमला नदीमा आएको बाढीले सात कट्ठा खेत बगाएपछि अब खान नपुग्ने बताउँछन् ।

उनी भन्छन्, ‘कमला नदीको कटानले हर्षाही र टाँडीका कृषकको अवस्था दर्दनाक बनेको छ ।’ उनका अनुसार कमला नदीको कटानबाट यस क्षेत्रका हजारौं बिघा उर्वर जमिन बगरमा परिणत हुने क्रम बढ्दै गएको छ । हालसम्म यस क्षेत्रमा कमला नदीले पुर्‍याएको क्षतिको विवरण कुनै पनि निकायले संकलन नगरेकाले निश्चित क्षेत्रफल भन्न कठिन छ तर यो नदीले विनाश गर्ने कार्य बर्सेनि बढ्दै गएकाले सयौं भूमिपति कृषक भूमिहीनमा परिणत भएका छन् । यस भेगमा सबै वडाले आआफनो क्षेत्रमा सानातिना नदी नियन्त्रणका योजना पारी दुई/तीन लाख खर्च गरी ठाउँ–ठाउँमा तटबन्ध निर्माण गरेर कमला नदीको कटानलाई नियन्त्रण पनि गरेका छन् तर न्यून बजेटका कारण उक्त प्रयास प्रभावकारी हुन नसकेको स्थानीय बताउँछन् ।

नदी नियन्त्रण गर्न ठुलै योजना आवश्यक रहेको सिर्थौलीका प्रेम भट्टराईले बताए । अहिले सञ्चालन भएका सानातिना योजना खासै प्रभावकारी हुन नसकेको उनले जनाए । ‘एकातिर तटबन्ध बनायो, अर्कोतिरबाट बाढीले भत्काउँछ,’ उनले थपे, ‘समस्या समाधानका लागि स्थानीयस्तरबाट पटक–पटक आवाज उठेको भए पनि सरकारी निकायको ध्यान पुग्न सकेको छैन ।’ कमला नदीले सबैभन्दा बढी क्षति ०४१ र ०५० मा आएको बाढीले पुर्‍याएको थियो ।

प्रकाशित : श्रावण १३, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?