एक वर्षमा सवारी दुर्घटनाबाट चितवनमा १४६ को मृत्यु

रासस

चितवन — गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २९५ दुर्घटनामा उनीहरुको ज्यान गएको हो । 

अघिल्लो आर्थिक वर्षमा २७१ दुर्घटनामा १३२ को मृत्यु भएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष २४ दुर्घटना बढेर १४ बढी मानिसको मृत्यु भएको छ।

दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रम भने रोकिएको छैन। गत आवमा भएका दुर्घटनामा ४५३ सवारीसाधन परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार गत वर्ष भएका सवारी दुर्घटनामा परी ५५८ घाइते भएका छन्।
जिल्लामा भएका सवारी दुर्घटनामध्ये मोटरसाइकल बढी रहेको छ। गत वर्ष २०५ मोटरसाइकल दुर्घटनामा परेका छन्। यस्तै ८० ट्रक तथा ट्याङ्कर, ५३ बस, ५२ जिप÷कार दुर्घटनामा परेको कार्यालयको तथ्याङ्कले देखाएको छ। यस्तै कार्यालयले गत आवमा ४० हजार २९ सवारी कारवाही गरी रु तीन करोड सात लाख ६६ हजार ५०० राजश्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्षमा ४५ हजार १५० सवारीसाधनलाई कारवाही गरी रु तीन करोड ३६ लाख ८७ हजार ५०० राजश्व सङ्कलन गरेको थियो।

कारवाहीको सङ्ख्या हेर्ने हो भने जनचेतनाका कारण घट्दै गएको तर दुर्घटना न्यूनीकरण गर्न नसकेको प्रमुख गिरीले बताउनुभयो। हलुका सवारीसाधनको तीव्रगतिका कारण दुर्घटना बढी हुने गरेको उनले जानकारी दिए। बढ्दो सवारीको चाप र साँघुरा सडकका कारण भित्री सडकमा बढी सङ्ख्यामा दुर्घटना भएको उनले बताए।

प्रकाशित : श्रावण २, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फिदिम–राके सडकखण्ड पहिरोले अवरुद्ध 

ज्ञानु घिमिरे

पाँचथर — मेचीराजमार्गमा पर्ने फिदिम–राके सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका ३ को पाङग्रेभीरमा बुधबार बेलुकीबाटै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । 

सडक अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापालगायतका स्थानबाट ओहोरदोहोर गर्ने सवारीसाधन बाटोमै रोकिएको जिल्ला ट्रफिक प्रमुख जनक तिम्सिनाले बताए ।

पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने ट्राफिक प्रमुख तिम्सिनाले बताए । उनका अनुसार हाल स्काभेटर, र प्रहरको सक्रियतामा पहिरो पन्छाउने काम भइरहेको छ ।

प्रकाशित : श्रावण २, २०७६ १०:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×