कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्ध्याकरण गरे १५ सय भत्ता

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको एक गाउँपालिकाका पुरुषले बन्ध्याकरण गरेमा १ हजार ५ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउने भएका छन् । जन्मदरलाई घटाउन र महिलाको स्वास्थ्यलाई मध्यनजर राखेर मकवानपुरगढीले पुरुषले बन्ध्याकरण गरेमा वडा कार्यालयमार्फत् प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ ।

‘आगामी आवदेखि सन्तानको रहर पुगेर पुरुषले बन्ध्याकरण गरेमा १५ सय भत्ताको व्यवस्था गरिएको छ,’ अध्यक्ष विदुर हुमागाईंले भने, ‘पुरुषले बन्ध्याकरण गर्न रुचि नै नदेखाएकाले भत्ताको व्यवस्था गरेका हौँ ।’


गाउँपालिका अधिकांश पुरुषले आफूले मात्र होइन, महिलालाई पनि बन्ध्याकरण गर्न रोक लगाउने गरेका छन् । जसका कारण जन्मदर ह्वात्तै बढेको छ । गाउँपालिकामा एउटा परिवारको सरदर चार जना बच्चा छन् । विगतमा गाउँमा परिवार नियोजन क्याम्प ल्याउँदा पुरुष सबै गाउँमा नै नबस्ने र महिलालाई स्थायी बन्ध्याकरण गर्न नदिने प्रवृत्ति रहेको थियो ।


यो प्रवृत्तिलाई निरुत्साहित गर्न प्रोत्साहन भत्तासँगै परिवार नियोजनबारे गाउँगाउँमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक भोला चौलागाईंले बताए । ग्रामीण बासिन्दालाई परिवार नियोजनप्रति भ्रम छ,’ संयोजक चौलागाईंले भने, ‘परिवार नियोजन गर्‍यो भने काम गर्न सकिँदैन भन्ने चिन्तत छ ।’


गाउँपालिकाको बुधबार सम्पन्न चौथो गाउँसभाले आव ०७६/७७ मा कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले दुधमा अनुदान दिने व्यवस्था गरेको छ । दुध बिक्री गर्ने कृषकलाई अनुदान दिने व्यवस्था गरेको हो । दुग्ध उत्पादक सहकारीमा दुध बिक्री गर्ने कृषकलाई प्रतिलिटर ५० पैसा अनुदान दिने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत भीम परियारले बताए । ‘अनुदानले कृषकलाई उत्साहित बनाएको छ,’ उनले भने ।


गाउँसभाले गाउँपालिकाभित्र रहेका ४० विद्यालयका बालबालिकालाई दिवा खाजाको व्यवस्थाका लागि रकम विनियोजित गरेको छ । दिवा खाजाका कारण सबै बालबालिका स्कुलमा भर्ना हुने र नियमित ढंगले पढ्न आउने गाउँपालिकाको ठम्याइ छ ।


गाउँपालिकाले जनश्रमदानलाई महत्त्व दिएको छ । ‘राम्रो गढी, हाम्रो गाउँ, जनश्रमदान गर्न अनिवार्य जाऔं’ भन्ने नारा बनाएर गाउँपालिकाको सर्वसाधारणदेखि अध्यक्षसमेतले श्रमदान गर्नुपर्ने नीति तथा कार्यक्रममा तर्जुमा गरेको छ । गाउँपालिकालाई २०७७ सालसम्म बालविवाहमुक्त बनाउने कार्यक्रम पनि पारित भएको छ ।


यसैगरी, गर्भवती महिलालाई स्वास्थ्य संस्थामा सुरक्षित ढंगले सुत्केरी गराउन आकर्षण गर्ने उद्देश्यले प्रत्येक स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई संघीय सरकारले उपलब्ध गराउने २ हजार ८ सय रुपैयाँमा गाउँपालिकाले १ हजार ५ सय थपेर ४ हजार ३ सय उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आगामी आवका लागि ४९ करोड ९० लाख रुपैयाँको अनुमानित बजेट पारित गरेको छ । बजेटमा कृषि, पूर्वाधार, सिँचाइ, शिक्षालगायतका क्षेत्रमा जोड दिइएको छ ।


गाउँपालिकाले आव ०७६/७७ का लागि ४९ करोड ९० लाख ५८ हजारको अनुमानित आय पेस गरेको थियो । गाउँपालिकाले अति विपन्न, दलित र लोपोन्मुख समुदायलाई २ वटाभन्दा बढी गाई वा ५ भन्दा बढी बाख्रापालन कार्यक्रमका लागि ‘घरघरमा काम, हातहातमा दाम’ कार्यक्रम सञ्चालनका लागि समूह निर्माण गरेर तालिमसहित अनुदान उपलब्ध गराउने भएको छ । गाउँसभाले बाँझो जमिनको उपयोगसम्बन्धी

कार्यविधि तयार गरेको छ ।

प्रकाशित : असार २७, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?