प्रहरीद्वारा पत्रकारमाथि निर्घात कुटपिट
सिन्धुली — पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) लाई सादा पोसाकमा रहेका प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । कमलामाइ नगरपालिका ७ को माझीटारको होटलमा खाजा खान लाग्दा शानिबार साँझ ती सादा पोसाकमा रहेका प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । सख्त घाइते अध्यक्ष कार्कीलाई काठमाडौं लगिएको छ ।
उनको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष कार्कीको टाउकोमा गहिरो चोट लागेको छ । खाजा खान बसेको स्थानमा सादा पोसाकमा आएका सलामसिङ तामाङ र प्रहरी जवान विकास सिङ स्याङ्तानले मोबाइलबाट भिडियो रेकर्ड गर्न थालेपछि नगर्न भन्दा कुटपिटमा उत्रिएका थिए ।
महासंघका पूर्वअध्यक्ष मिनकुमार दाहाललाई पनि ती प्रहरीले कुटपिट गरेका छन् । उनी सामान्य घाइते छन् । पूर्वअध्यक्ष दाहालका अनुसार हेलमेटले टाउकोमा प्रहार गरेपछि अध्यक्ष कार्की बेहोस भएर ढलेका थिए । प्रहरीहरु मोटरसाइकल छोडेर भागेका थिए ।
प्रहरी उपरीक्षक चक्रबहादुर सिङका अनुसार ती दुवै प्रहरीलाई नियन्त्रणमा लिइएको छ । उनीहरुले रेकर्ड गरेको भिडियोसमेत बरामद भएको आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको छ ।
पत्रकारहरुमाथि प्रहरीले आक्रमण गरेको विषयलाई लिएर पत्रकार महासंघ शाखा आन्दोलित भएको छ ।
प्रकाशित : असार २२, २०७६ १३:४४