कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आत्महत्या गर्न बाध्य पारेको आरोपमा पति थुनामा 

आत्महत्या दुरुत्साहनको पहिलो मुद्दा
प्रताप बिष्ट

हेटौंडा — विगतमा आत्महत्याको घटनामा कसैलाई दोषी ठहर गरिदैनथ्यो । मानसिक एवं शारिरीकलगायत विभिन्न किसिमको तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको भए पनि कोही कसैमाथि मुद्दा चलाउन पाइदैनथ्यो ।

गत भदौ १ गतेदेखि कार्यान्वयनमा आएको नयाँ फौजदारी संहिताले आत्महत्या गर्न बाध्य पार्ने पनि कारवाहीको भागिदार हुने कानुनी व्यवस्था रहेको छ । उक्त कानुनी व्यवस्था अनुसार जिल्ला अदालत मकवानपुरले पत्नीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पतिलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ ।


जिल्ला न्यायाधीश खडानन्द तिवारीको शुक्रबारको इजलाशले हेटौडा उपमहानगरपालिका—३ का ४५ वर्षीय राजु थिङले ३५ वर्षीया पत्नी सोनु थिङलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा थुनामा राख्ने आदेश दिएको हो ।

आत्महत्याको घटनामा मकवानपुरमा मुद्दा चलेको यो पहिलो घटना हो ।


राजुले पत्नी सोनुलाई बेला/बेलामा कुटपिट गर्दै आएका थिए । कुटपिट पश्चात् हेटौडा उपमहानगरपालिकाको न्यायिक समितिमा गत वैशाख १७ गते पतिले सधैं कुटपिट गर्ने गरेकाले आत्महत्या गरौं जस्तो भइसक्यो भनेर उजुरीसमेत दिएकी थिइन् ।


उक्त न्यायिक समितिमा उजुरी दिएको एक महिना बित्न नपाउँदै जेठ १६ गते सोनुले घरमै झुण्डिएर आत्महत्या गरेकि थिइन् । आत्महत्या गरेको समयमा उनका पतिमात्र घरमा थिए ।


सोनुका दाजु लालबहादुर ब्लोनले आफ्नो बहिनीलाई ज्वाई राजुले आत्महत्या गर्न बाध्य पारेकाले कारवाही गर्न जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिएका थिए । उक्त उजुरीको आधारमा राजुलाई प्रहरीले पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दा अदालतमा चलाएको थियो । जिल्ला प्रहरी कार्यालय हेटौंडाका अनुसार आत्महत्या भएको घटनामा अदालतमा मुद्दा चलाएको यो पहिलो हो ।


आत्महत्या दुरुत्साहन मुद्दामा ५ वर्षसम्म कैद र ५० हजार रुपैयासम्म दण्ड गर्न सक्ने कानुनी व्यवस्था रहेको जिल्ला अदालतका श्रेस्तेदार केशव कौशिकले बताए ।

प्रकाशित : असार १५, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?