वडा सदस्यद्वारा सुविधा बढाउन माग

सुवास विडारी

मकवानपुर — देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाका वडा सदस्यहरूले आफूहरूले प्राप्त गर्दै आएको सेवासुविधा बढाइदिन प्रदेश सरकारसमक्ष माग गरेका छन् ।

आफूहरूले पाएको सुविधा ज्यादै न्यून भएको र आन्तरिक स्रोतबाट सेवासुविधा बढाउन कानुन बाधक भएको उनीहरूले बताएका छन् । प्रदेश मुकाम हेटौंडा आएर मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठ र आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेललाई आइतबार ज्ञापनपत्र बुझाउँदै उनीहरूले

सेवासुविधा बढाइदिन र कानुन संशोधन गरिदिन आग्रह गरेका हुन् ।


प्रदेश सरकारले बनाएको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सेवासुविधा तथा पारिश्रमिकसम्बन्धी कानुनमा आफूहरूको तलब सुविधा न्यून तोकिएका कारण दैनिक जीवनयापन गर्न असहज भएको उनीहरूको गुनासो छ ।


काठमाडौं महानगरपालिकाले आन्तरिक स्रोतबाट तलब सुविधा दिने गरी वडा सदस्यहरूको तलब सुविधा मासिक १५ हजार निर्धारण गरे पनि प्रदेशको कानुनले भने सात हजार मात्र तोकेका कारण महानगरको निर्णय कार्यान्वयनमा समस्या भएको काठमाडौं ६ नम्बर वडा सदस्य लक्ष्मी श्रेष्ठले गुनासो गरिन् ।


‘२०५४ सालमै वडा सदस्यको तलब ६ हजार थियो, २० वर्षपछि पनि वडा सदस्यको तलब ७ हजार तोकिएको छ, यो समय सुहाउँदो छैन, हामीलाई सामान्य जीवन चलाउन पुग्ने तलब त चाहियो नि ।’ जनताको काममा रातदिन खटिनुपर्ने बाध्यता रहेको सुनाउँदै उनले जनताको सेवा गर्न भनेरै आएका भए पनि भोको पेटमा काम गर्न नसकिने बताइन् ।


३२ वटा वडा रहेको काठमाडौं महानगरपालिकामा एक सय २८ जना वडा सदस्य छन् । आफूहरूको तलब सुविधा अन्य स्थानीय तहको भन्दा बढी हुनुपर्ने काठमाडौं–१४ कि वडा सदस्य लक्ष्मी खड्काले बताइन् । ‘कुकुर मरे पनि फाल्नलाई जनप्रतिनिधिको मुख ताकेर बस्छन्, पानीको पाइप फुटे पनि जनप्रतिनिधि नै गुहार्छन्, हामी दिनरात जनताकै काममा हुन्छौं तर हामीलाई सामान्य जीवन बिताउन पुग्ने सुविधा पनि छैन,’ खड्काले भनिन् ।


काठमाडौं–४ का वडा सदस्य ध्रुवप्रसाद त्रिपाठीले देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकाको आन्तरिक स्रोत पनि बलियो रहेको र बढ्दो महँगीका कारण जीवनयापनसमेत सहज नभएको बताए । उनले काठमाडौंको हकमा छुट्टै मापदण्ड राखी अलग्गै निर्धारण गर्नुपर्ने आवश्यकता रहेको भन्दै प्रदेशको ऐन संशोधन गर्न माग गरे ।


वडा सदस्यहरूको ज्ञापनपत्र बुझ्दै प्रदेशका कानुनमन्त्री जम्मकट्टेलले वडा सदस्यहरूको समस्याबारे आफूहरू जानकार रहेको बताउँदै महानगरको सभाले निर्णय गर्ने गरी आफूहरू कानुन संशोधन गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाए । उनले सेवासुविधा बढाउने विषयमा संघीय सरकारको निर्णय आवश्यक रहेको र अन्तर प्रदेशसँग सम्बन्धित विषय भएकाले सोहीअनुसार निर्णय गरिने बताए ।

प्रकाशित : असार ९, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्

सधैं हात्तीको त्रास

सुजता लामा

सिन्धुलीमाढी — कमलामाई नगरपालिका ८ पातिपरनका वीरबहादुर मगरकी ३५ वर्षीया श्रीमतीको हात्ती आक्रमणमा मृत्यु भयो । उनको मृत्युपश्चात् परिवार अहिले विक्षिप्त छ । वीरबहादुरले श्रीमती र ५ छोराछोरीले आमा गुमाएका छन् । 

बजारबाट घरका लागि आवश्यक विभिन्न सामान लिएर फर्कंदै गर्दा घर नजिकैको रातुझोरा भन्ने ठाउँमा श्रीमतीलाई हात्तीले आक्रमण गरेको हो । श्रीमतीको मृत्युले उनका परिवार ठूलो पीडामा छन् । ‘पहिलेदेखि नै हात्तीले केही गर्ने हो कि भनेर डरैडरमा बाँचेका थियौं, नभन्दै श्रीमतीलाई हात्तीले मारिदियो ।’

गहभरि आँसु पार्दै वीरबहादुले भने, ‘अझै कति दिनसम्म हामी यस्तो त्रासैत्रासमा बाँच्नुपर्ने, थाहा छैन ।’ अझै पनि हात्ती आतंक रहेकाले बाँच्नेहरू पनि त्रासैत्रासमा छन् । फेरि पनि परिवारका अरू कोही सदस्य गुमाउनुपर्ने त होइन भन्नेमा उनका परिवार त्रसित छन् । ‘कतिखेर हात्ती आएर के गर्ने हो भन्ने थाहा छैन ।’ उनले भने, ‘हात्तीलाई नियन्त्रणमा लिई हामीलाई सधैंभरि हात्तीको त्रासमा बाँच्नुपर्ने समस्याबाट मुक्त गर्न कसैको ध्यान गएन ।’

पातिपरनकी ताराकुमारी माझीको भने हात्तीले खेतमा लगाएको सबैजसो मकै खाइदियो । झन्डै १ सय भारी मकै भित्र्याउँदै आएको खेतबाट ताराले यस वर्ष भने जम्मा २ डोका मात्रै मकै भित्र्याइन् । ‘लगाएको बाली जति सबै हात्तीले खाइहाल्छ । यस्तै हुने हो भने त अनिकाल नै पर्ला जस्तो भइसक्यो ।’ उनले भनिन्, ‘यसपालि खेतको मकैको त भरै भएन । बारीको मकै चाहिं पाकेको छैन । त्यसको पनि के आस भोर, फेरि आएर खाइहाल्ला ।’

गत वर्ष पनि हात्तीले उनको आधाभन्दा बढी मकै खाएको थियो । घरसमेत भत्काएको थियो । हात्तीले घर भत्काएपछि उनी घरमाथि बारीको पाटामा एउटा सानो घर बनाएर बसेकी छन् । हात्तीको बिगबिगीले रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको माझीले बताइन् । हात्ती गाउँ पसेर घर भत्काउने अन्नबाली खाने गर्न थालेपछि वन कार्यालयमा गएर पटक–पटक भन्दा पनि सुनुवाइ नभएको उनले दुखेसो पोखिन् ।

‘हामी रात दिन त्रासैत्रासमा बाँच्न सक्दैनौं । सम्बन्धित निकायले हात्ती नियन्त्रणतर्फ ध्यान दिनुपर्‍यो । हैन भने यो ठाउँ छोड्देऊ, अन्तै बस्ने व्यवस्था गर्दिन्छौं भन्न सक्नुपर्‍यो,’ उनले भनिन् । जिल्लाका विभिन्न ठाउँमा ५/६ वर्षदेखि नै हात्ती गाउँमा पसेर क्षति गर्ने गरेको भए पनि पछिल्लो ३ वर्षदेखि भने बढी मात्रामा गाउँमा देखिन थालेको छ ।

प्रकाशित : असार ९, २०७६ १०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×