मानसरोवर जाने तीर्थयात्री बढे- प्रदेश ३ - कान्तिपुर समाचार

मानसरोवर जाने तीर्थयात्री बढे

बलराम घिमिरे

रसुवा — रसुवागढी नाका हुँदै कैलाश मानसरोवर जाने तीर्थयात्रीको संख्या बर्सेनि बढ्दो छ । यो वर्षको सिजन सुरु भएयता जेठ २० सम्ममा रसुवागढी नाका हुँदै १७ सय ८३ तीर्थयात्री तिब्बतको कैलाश मानसरोवरको यात्रामा गएका छन् ।

रसुवागढी नाका हुँदै तिब्बतको कैलाश मानसरोवर जाने क्रममा तीर्थयात्री । तस्बिर : बलराम/कान्तिपुर

कैलाश मानसरोवर जाने मुख्य सिजन मेदेखि सेप्टेम्बरसम्म रहेको छ । यो नाका हुँदै कैलाश मानसरोवर जाने तीर्थयात्रीहरूमा भारतीय नागरिक धेरै रहेको अध्यगमन कार्यालय रसुवागढीले जनाएको छ ।


अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीले दैनिक डेढ सयको हाराहारीमा तीर्थयात्रीहरू त्यता गइरहेको बताए । ‘मानसरोवर जाने तीर्थयात्रीहरूमा भारतीय नागरिकहरू धेरै छन्,’ उनले भने । कैलाश मानसरोवर जान सस्तो र सहज हुने भएपछि गत वर्षदेखि ट्राभल एन्ड ट्रेकिङ एजेन्सहरूले रसुवागढी नाका प्रयोग गर्न थालेका हुन् ।


काठमाडौंबाट नेपालगन्ज, सिमिकोट, हिल्सा हुँदै मानसरोवर पुगेर फर्किंदा ११ दिन लाग्ने र यात्रा खर्चिलो पनि छ । हुम्लाको हिल्सा नाकाको तुलनामा रसुवागढीबाट मानसरोवर जाँदा सस्तो र सहज रहेको ट्रेकिङ एजेन्सी सञ्चालक प्रदीप पण्डितले बताए । मानसरोवर जानका लागि मुख्य गरी सिन्धुपाल्चोकको तातोपानी नाका र हुम्लाको हिल्सा नाका प्रयोग हुने गरेको छ ।


०७२ वैशाख १२ को भूकम्पले सिन्धुपाल्चोक, तातोपानी नाका बन्द भएपछि हुम्लाको हिल्सा नाकाबाट तीर्थयात्रीहरू मानसरोवर जाने गरेका थिए । चीन सरकारले रसुवागढी नाकालाई ०७४ भदौ १४ मा अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो मुलुकका नागरिक आवतजावत गर्न थालेका छन् । ०७४ भदौ १४ अघि तेस्रो मुलुकका नागरिकलाई रसुवागढी नाकाबाट आवतजावत गर्न अनुमति थिएन् ।


धार्मिक किम्बदन्तीअनुसार महादेवको तपोभूमि मानिने कैलाश पर्वत र मानसरोवर कुण्डको परिक्रमा गर्दा मुक्ति मिल्ने तीर्थालुको विश्वास छ । रसुवागढी नाकाबाट मानसरोवर करिब ६ सय ५० किलोमिटर टाढा पर्दछ । नेपालतर्फको नाका व्यवस्थित हुन नसक्दा चीनको केरुङ जाने र कैलाश मानसरोवर जाने तीर्थयात्रीलाई समस्या परेको पर्यटन व्यवसायीहरू बताउँछन् ।


नाकामा पानी परेमा ओत लाग्ने ठाउँ छैन भने सार्वजनिक शौचालयको समेत अभाव छ । नाकाभन्दा करिब डेढ किमिको दूरीमा मात्र होटल छन् । मानसरोवर जाने तीर्थयात्रीको चाप बढेसंँगै रसुवागढी नाकामा चहलपहलमा वृद्धि भएको छ ।

प्रकाशित : जेष्ठ २५, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्

सहरका सडकमा बटुवालाई छैन बाटो

कुपण्डोलको १ सय ५० मिटर फुटपाथ साघुँरो छ । अपांगमैत्री छैन । मापदण्डअनुसार ४ लेनको सडकमा कम्तीमा १२ फिटको फुटपाथ हुनुपर्छ ।
सीमा तामाङ

काठमाडौँ — दिउँसोको समय, कुपण्डोलबाट थापाथली जाने सडकमा खोलापट्टिको छेउमा हिँड्दै थिइन् एक वृद्धा । उमेरले ७५ पुगेकी सुनमती देवी जोशी । अर्का एकजना महिलाको सहारा लिएर त्यो सडक खण्डमा हिँडिरहेकी उनले नियमित प्रयोग गर्ने बाटो हो त्यो । पुल्चोक बस्ने भएकीले दिनमा एकपल्ट त हिँडेकै हुन्छिन् यो सडक । 

ललितपुर कुपोण्डोलस्थित साँघुरो फुटपाथमा हिँड्दै सर्वसाधारण । तस्बिर : अंगद ढकाल/कान्तिपुर

‘साघुँरो फुटपाथ भएकाले हिँड्न निकै समस्या छ,’ उनले भनिन्, ‘घरको सिँढीसँगै फुटपाथ जोडिएको छ, त्यसैले मान्छे हिँड्ने बाटो हो कि घर पुग्ने सिँढी हो छुट्याउनै गाह्रो छ ।’ ललितुरको सिमाना कुपण्डोलदेखि पुल्चोक जाने करिब १ सय ५० मिटर दूरीको फुटपाथ मापदण्डभन्दा साँघुरो छ र अपांगमैत्री पनि छैन ।

चार लेनको सडकमा कम्तीमा १२ फिटको फुटपाथ हुनुपर्ने सडक मापदण्ड छ, बीचमा आँखा नदेख्ने व्यक्तिले लठ्ठीको टेकेर हिँड्ने मिल्ने ट्र्याक हुनुपर्ने सडकको मापदण्ड हो । तर, यहाँको फुटपाथ मुस्किलले तीन फिट र कतिपय ठाउँमा तै त त्योभन्दा साँघुरो फुटपाथ छ, आँखा नदेख्ने व्यक्तिले लठ्ठीको सहारामा हिँड्ने ट्र्याक पनि छैन । त्यही कारण अपांग त के सबलांग पैदलयात्रु पनि सहजै हिँड्न सक्ने अवस्था छैन । फुटपाथमा ठूला रुखसँगै घरका सिँढी पनि जोडिएको हुँदा पैदलयात्रुलाई हिँड्न समस्या हुने गरेको छ ।

त्यही बाटो प्रयोग गरिरहेका भेटिए ७३ वर्षीय पल्टु ठाकुर । कुपण्डोल बस्ने उनी भन्छन्, ‘बूढो भएँ, लौरो टेकेर यात्रा गर्नुपर्छ । गाउँको जस्तै सिँढी भएकाले झुक्केर लड्छु भन्ने डर लाग्छ । त्यसैले पिच रोडबाटै हिँड्ने गर्छु ।’ उनको अनुभवमा धेरै मान्छे समूहमा आउँदा बाटो दिँदैनन्, ठोक्किँदै हिँड्छन् । उनले भने, ‘साँघुरो फुटपाथ भएकाले छेउमा उभिने ठाउँ छैन । त्यसैले बढी मान्छे हिँड्ने समयमा पिच रोड नै रोज्छु ।’

यस्तै, अनुभव सुनाउँछिन्, पुल्चोक बस्ने ५९ वर्षीया विजया बाँस्कोटा पनि । त्यो सडक खण्डको फुटपाथ प्रयोग गर्दा यस्तै समस्या भोग्नुपर्छ उनले । उपत्यका हिँडेरै यात्रा गर्न सकिने ठाउँ भएकाले प्रायःजसो हिँडेरै नै यात्रा गर्ने उनले बताइन् । ‘तर फुटपाथमा घरको पेटी भएकाले पिच रोडबाट हिँड्नुपर्छ । फुटपाथ समान चौडाइको छैन, कतै फराकिलो, कतै साँघुरो छ ।’

चार पाँचजना समूहमा हिँडे भने अन्यले केही बेर रोकिनुपर्छ । तीव्र गतिमा आएका सवारीका चालकले पैदलयात्रु नहेरी मोड्ने गर्छन् । जसले फुटपाथ छाडी पिच सडक प्रयोग गरेका पैदलयात्रीलाई दुर्घटनाको जोखिम बढाउँछ । अगाडि वा पछाडिबाट आएका सवारीसाधनले ठक्कर दिने हो कि भन्दै डर मान्दै पैदलयात्रु हिँड्छन् ।

‘फुटपाथको एक छेउमा भएको सिँढी झुक्किने किसिमको छ,’ पुल्चोकका विकास महर्जनले भने, ‘यसले गर्दा पहिलो पटक हिँड्ने अधिकांश मानिस यो फुटपाथको सिँढीबाट लड्छन् ।’ उनी आफैं पनि झन्डै अल्झेर लडेका थिए । दिउँसो हिँड्न कुनै समस्या नभए पनि साँझ छिप्पिँदै गएपछि अँध्यारोमा उक्त फुटपाथ हिँड्न गाह्रो हुने पैदलयात्रु बताउँछन् । अरू ठाउँमा सडक बत्ती भए पनि त्यस खण्डमा छैन, जसले पैदलयात्रीलाई कठिनाइ हुन्छ ।

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले महानगरपालिकाअन्तर्गतका सबै ठाउँमा अपागंमैत्री फुटपाथ बनाइने दाबी गरे । ‘फुटपाथ मर्मत गर्न र अपांगमैत्री फुटपाथ निर्माण गर्न यस वर्ष ५० लाख रुपैयाँ छुट्याएका छौँ,’ उनले भने । यसैगरी सडक वरिपरि बत्ती राख्न नेपाल विद्युत् प्राधिकरणसँग स्मार्ट लाइटका लागि सम्झौता भइसकेकाले सडक तथा फुटपाथमा अबको केही महिनामै बत्ती जडान हुने उनको भनाइ छ ।

आउने आर्थिक वर्षको बजेटले यस्ता समस्याको अन्त्य गर्ने उनले सुनाए । जुन बाटो चार लेनको हुन्छ, त्यसमा अनिवार्य रूपमा १२ फिटको फुटपाथ राख्नुपर्ने सहरी सडक मापदण्डमा भनिएको छ । सामान्य सडकमा समेत पैदलयात्रीका लागि कम्तीमा १.२ मिटरको फुटपाथ आवश्यक पर्छ जुन अन्तर्राष्ट्रिय मापदण्ड नै हो । त्यस्तै दायाँ मोड्ने सवारीसाधनका लागि सडकमा कम्तीमा ४ मिटरको फराकिलो ठाउँ राख्नुपर्ने सडकको मापदण्ड छ ।

प्रकाशित : जेष्ठ २५, २०७६ ०७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×