कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाता पर्खँदा भवन निर्माणमा ढिलाइ

कृष्ण थापा

नुवाकोट — भूकम्पको चार वर्ष बितिसक्दा पनि त्यसबेला भत्किएका स्वास्थ्य संस्थाका भवन अझैसम्म पुनर्निर्माण हुन सकेका छैनन् । भूकम्पले ढलेका स्वास्थ्य संस्थामा प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आयुर्वेद औषधालय गरी ४२ वटा संरचना छन् । 

अधिकांशका भवन दाताले बनाइदिने भनेर पर्खिंदा ढिला भएको हो । अधिकांश डिजाइनमा सीमित छन् भने कतिपयको जग्गा प्राप्तिका प्रक्रियाबाट काम अघि बढेको छैन । भारतीय दूतावासमार्फत बनाइदिने भनिएका स्वास्थ्य चौकीहरू २७ वटा छन् । १३ वटा स्वास्थ्य चौकी डिजाइन स्वीकृत भएर बोलपक्र आह्वानको त्रममा छन् भने १४ वटाको डिजाइन भएर आउन बाँकी छ ।


भारतीय दूतावासमार्फत बनाएर बोलपत्र आह्वान गर्ने भनिएका स्वास्थ्य चौकीहरू बुङताङ, रालुकादेवी, तारुकाजोर, बुधसिङ, गाउँखर्क, बेतिनी, लच्याङ, मदानपुर, बेलकोट, छाप, थानापति, लिखु र सूर्यमति रहेको सहरी तथा भवन डिभिजन कार्यालयले जनाएको छ । कतिपय स्वास्थ्य संस्थाहरूको जग्गा प्राप्ति गर्न सकेका छैनन् ।


जग्गा प्राप्त गर्नुपर्ने स्वास्थ्य चौकीमा थप बुद्धसिङ, घ्याङफेदी, कविलास, फञ्चकन्या र सिक्रे छन् । सित्रेमा निर्माण हुने भनिएको प्राथमिक स्वास्थ्य केन्द्र हो । उक्त केन्द्रको लागि ७ रोपनी जग्गा आवश्यक पर्ने सहरी तथा भवन डिभिजन कार्यालयका सव इन्जिनियर राजेन्द्र प्याकुरेलले बताए ।


दुईपीपलमा एउटा स्वास्थ्य चौकी कुन ठाउँमा बनाउने भनेर स्थान टुंगो भएको छैन । त्यसैगरी जिल्लामा आधा दर्जन आयुर्वेद औषधालय निर्माण हुन बाँकी छन् । ती औषधालयहरूमा नर्जामण्डप, तारुका, खनायोखर्क, सुन्दरादेवी र थानसिङको डिजाइन स्वीकृत भएर आउन बाँकी छ । त्यसैगरी देवीघाटस्थित जिल्ला आयुर्वेद औषधालय पनि डिजाइनमै सीमित छ । जिल्ला अस्पताल त्रिशूली बाहेक ६८ वटा स्वास्थ्य संस्था छन् ।


५७ वटा स्वास्थ्य संस्था भूकम्पले ध्वस्त भएका थिए । भूकम्पले भत्किएको स्वास्थ्य समयमा नबनेपछि विरामीलाई अस्थायी प्रिफेब भवनबाट स्वास्थ्य उपचार दिइरहेको जिल्ला स्वास्थ्य कार्यालय निमित्त प्रमुख राममणि घिमिरेले बताए । ‘पक्की भवन बन्ला,’ उनले भने, ‘अस्थायी प्रिफेब भवनबाट सेवा दिइरहेका छौँ ।’ जिल्ला अस्पतालको भवन निर्माणाधीन छ भने स्वास्थ्य सेवा जर्मन दूतावासले बनाइदिएको प्रिफेब भवनबाट सेवा प्रवाह भइरहेको छ ।

प्रकाशित : जेष्ठ १९, २०७६ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?