चुरे जंगल अतिक्रमण

राजकुमार कार्की

सिन्धुली — सुकुम्बासीका नाममा कमलामाई नगरपालिका १४ को चन्दनपुर र दुधौली नगरपालिका ३ को झुंगा नजिक सयौं बिघा जंगल फँडानी गरेर बस्ती बसालिएको छ । स्थानीयका अनुसार दुई दशकअघिदेखि सुरु भएको फँडानी हुने क्रम अझै रोकिएको छैन । जंगल फँडानी भई मानवबस्ती बसेपछि चुरेक्षेत्र विनाश हुँदै छ । 

फँडानी हुने क्रम छँदै थियो तर एक दशकदेखि जग्गा हुनेहरूले समेत सडक छेउमा घर बनाउन पाइने लोभले सुकुम्बासी बनेर चुरे जंगल अतिक्रमण गरेका हुन् । चुरे क्षेत्रको जंगल अतिक्रमण गरेर खेती लगाउन पनि थालिएको छ । अतिक्रमित जग्गामा पक्की घरहरूसमेत बनेका छन् ।

कतिपय पक्की घरहरू निर्माणाधीन अवस्थामा रहेका छन् । धरान, चतरा, सिन्धुली हँुदै हेटौंडा जोड्ने मदन भण्डारी राजमार्गले सारिएको सडकलाई नै कायम गरी कालोपत्रे गर्न सुरु भएपछि सुुकुम्बासीका नाममा अतिक्रमण गर्नेहरूमा उत्साहित भएका छन् । 'सुकुम्बासीका नाममा हुकुमबासी हाबी भए, धमाधम फँडानी भइरहेको छ,' स्थानीय बुधे दनुवारले भने ।

माओवादी लडाकुको शिविर सडकको माथितिर बनेपछि तत्कालीन समयमा सबैभन्दा धेरै फँडानी भएको थियो । लडाकु समायोजनपछि यतिखेर उक्त स्थानमा नेपाली सेनाको पर्यावरण गण बसेको छ । अतिक्रमणकारीहरूले सालको रूखलाई पहिलो वर्ष फेदमा बोक्रा काटेर घेरिदिने, रूख सुक्दै गएपछि ढाल्ने चलन भएको स्थानीयले बताएका छन् । बर्सेनि फँडानी भइरहे पनि कसैले वास्ता गरेको छैन । वर्षौदेखि सुकुम्बासी भई घर बनाएर बसेकाहरू भने जग्गाधनी पुर्जा नपाएको गुनासो गर्छन् ।

सुकुम्बासीको नाममा फँडानी गर्नेले पहुँचका आधारमा जग्गा ओगट्ने गरेका छन् । सक्ने ५ देखि १५ कठ्ठासमेत लिएका छन् । चार दशकभन्दा अघिदेखि छाप्रो हालेर बसेका भने त्यसमै सीमित देखिन्छन् । नव सुकुम्बासीको उक्त क्षेत्रमा बोलवाला रहेको छ । उनीहरूको खेत भने प्रशस्त रहेको छ । स्थानीयका अनुसार चन्दनपुर र झंुगामा सुकुम्बासीका नाममा बसेकाहरूमध्ये आधाभन्दा धेरैको जग्गा जमिन छ । सबै जना नदीले खेत बगाएको र पहिरोले घर बगाएको भन्दै सुकुम्बासी बनेका छन् ।

स्थानीय वसन्ती दुनुवारले भनिन् 'कुनै स्थानमा भर्खरै मात्र पनि फँडानी भएको छ । उजुरी गर्दा सबै उठ्नुपर्ला भन्ने भयले गर्दा सबैजना तैं चुप मै चुप भएका छन् ।' निर्माण भएका पक्की संरचना तीनतलेसम्मका छन् । सुकुम्बासीले करोडको हाराहारीमा खर्चेर पक्की संरचना बनाउन नसक्ने स्थानीय बताउँछन् ।

वास्तविक सुकुम्बासी पहिचान गरेर सरकारले जग्गाधनी पुर्जा उपलब्ध गराउनुपर्ने माग उनीहरूले गरेका छन् । वास्तविक सुकुम्बासी पहिचान नहुँदा र लालपुर्जा नभएर भूकम्पप्रतिरोधी घर निर्माण गर्न नसकेको कतिपयले गुनासोगरेका छन् ।

वन डिभिजन कार्यालयका प्रमुख नारायण श्रेष्ठ अतिक्रमण रोक्न अब स्पेसल टाक्सफोर्स परिचालन गरिने बताउँछन् । भन्छन्, 'चुरे अतिक्रमण गरी फँडानी धेरै पहिलादेखि हुँदै आएकाले सबै मिलेर रोक्नुपर्छ ।'

प्रकाशित : जेष्ठ ५, २०७६ ०७:३९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नेपालीको सीप जापानी बजारमा

राजकुमार कार्की

दुधौली, सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिका ८ का महिलाले बनाएको हस्तकला सामग्री विदेश निर्यात हुने गरेको छ । महिला निर्मित यी सामान जापानी बजारसम्म पुग्ने गरेको हो ।

हातमा सियो र धागो लिई निरन्तर खटिएका उनीहरूले बनाएको हस्तकलाका सामग्रीहरू कुसन, ब्याग, बेडकभर, लन्चम्याट, योगा म्याट, चकटी म्याट्रेसलगायत जापानबाटै व्यवसायी आएर खरिद गरेर लैजान्छन् । ७ जना महिलाहरूले हस्तकला सामग्री निर्माणको काम गरेका छन् । फरक क्षमता भएकाले निर्माण गरेको हस्तकलाको सामग्री जापानमा पनि सजिलै बिक्री हुने गरेको उनीहरूको भनाइ छ ।

फरक क्षमता भएकी जानुका कार्की हस्तकला सामग्री निर्माणमा अब्बल दरिन्छिन् । उनले बनाएका सामान खरिदकर्ताले तेब्बर मूल्यमा बिक्री गर्ने गरेका छन् । जानुकाको दाहिने गोडा चल्दैन । सानैदेखि गोडा नचल्ने भएकाले के भएर हो भन्ने उनलाई हेक्का छ्रैन । पाँच वर्षदेखि हस्तकला सामग्री तयार गर्ने काममा लागेकी उनलाई यतिखेर भने सजिलो भएको छ ।

तीनपांग्रे स्कुटरमा काममा आउने र फर्कने गरेकी उनलाई यसअघि परिवारका सदस्यले ल्याउने लाने गर्दथे । हस्तकलाको काम सिकेर रोजगारी पाएकोमा उनी दंग छिन् । भन्छिन्, ‘मेरा लागि हस्तकलाको काम वरदान भयो, रोजगारी पनि पाएँ, काम पनि सिकेँ ।’

उसो त उनलाई सवारीसाधन किन्नसमेत हस्तकला सामग्री खरिद गर्ने व्यापारीले नै सघाएका छन् । एक लाख ५० हजारमा खरिद गरेकोमा एक लाख मात्र कमाएर तिर्नु भनेका छन्,’ उनले थपिन्, ‘म जापानको टिफा संस्थाका नाकाजोनोले दुधौलीमै पुगेर हस्तकलाका सामग्री खरिद गरेर लैजान्छन् । वर्षमा कहिले दुईपटक त कहिले एकपटक आएर सामान लैजाने गरेका छन् । मासिक हस्तकलामा सामग्री निर्माण गर्नेले १५ हजारसम्म कमाँउछन् ।’

रोचक कुरा त के छ भने, उनीहरूले बनाएका हस्तकलाका सामग्री जापानमा जत्तिमा बिक्छ त्यो रकम बोनस आउने गरेको छ । हस्तकला सामग्री निर्माणकी अगुवा आशा अधिकारी दनुवारका अनुसार यहाँ तीन सय मूल्यमा बनाएको सानो कुशन जापानमा तीन हजारसम्ममा बिक्री भएर बोनस आएको छ ।

हस्तकलाको सामग्रीमा नाम नै लेखिने हुनाले कसको सामानलेकति मूल्य पायो भन्ने थाहा हुने गरेको छ । गुणस्तर हेरेर सामान बिक्री भएपछि बोनस आउने हुनाले राम्रो काम गर्नमा प्रतिस्पर्धा नै हुने गरेको आशाले जनाइन् । स्क्वायर फिटका हिसाबले काम गर्ने उनीहरूले बोनससहित महिनाको २५ देखि ३० हजारसम्म आम्दानी गरेका छन् ।

वार्षिक १० लाखभन्दा बढीको हस्तकलाका सामान जापान निर्यात हुने गरेको सामग्री जुटाइदिने ह्यान्डसका वासुदेव अधिकारीले बताए । स्थानीय र केही परका बजारबाट कपडा तथा अन्यकच्चा सामग्री खरिद गरेर ल्याउने गरिएको छ ।

प्रकाशित : जेष्ठ १, २०७६ ०८:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×