खानेपानीकै जोहोमा जान्छ दिन

इन्द्रावतीका गृहिणी डेढ घण्टा टाढाबाट पानी बोक्न बाध्य छन् । भूकम्पपछि मूल सुक्दै जाने क्रम बढेको छ
अनिश तिवारी

सिन्धुपाल्चोक — एक गाग्री पानी थाप्न दिनभर लाइन बस्नुपर्ने पिरले इन्द्रावती गाउँपालिका- ८ ज्यामिरे मानेकी देवमाया तामाङ दिक्क छिन् । पानी भर्नको लागि बिहान चारै बजेदेखि बेलुकीसम्म समय मिलाएर आउनुपर्ने उनको आधा दैनिकी पानी भरेर बित्ने गर्छ । 

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ ज्यामिरे मानेका महिला पालो कुरेर पानी थाप्दै । तस्बिर : अनिश/कान्तिपुर 

'कति कुर्नु हजुर, यहाँ त पालो पाउनै हानथाप गर्नुपर्छ, पानीको अभावले कहिल्यै छोडेन्,' पानी लिन दुई घण्टादेखि लाइनमा बसेकी उनले गुनासो पोखिन् । पानी बोक्न डेढ घण्टा हिडेर आएकी तामाङले दुई गाग्री पानी जसरी पनि घर लैजानुपर्ने आवश्यकता सुनाइन । 'दिन नै बित्ने भयो', उनले भनिन् ।

'पानी घर नलगे सुख पाइदैन्, लाइन नबसे पालो नै पाइँदैन्,' उनले थपिन् । टन्टलापुर घाम र कच्ची सडकमा उडिरहेको छारो सहँदै खानेपानी थाप्न लाइन बसिरहेकी ज्यामिरेडाँडाकी सुनमाया तामाङ पसिना पुस्दै थिइन् । 'पानी लिन भनेर घरबाटै हतार गरेर आएको हो, भाडोले भरिसकेछन्,'उनले भनिन् ।

खानेपानी थाप्न भनेर समय मिलाएर आए पनि पालो पाउन एकदमै गाह्रो हुने् उनको कथन छ ।इन्द्रावतीको वडा ८ ज्यामिरे मानेको चोक र बजारको बस्तीबीच गरी पानीको स्रोतको नाममा दुईवटा धारा छन् । दुईवटा धाराको ट्यांकीमा जम्मा भएको पानी उपभोग गरिरहेका स्थानीयले पानीकै लागि भनाभन गर्नुपर्ने अवस्था छ ।

भूकम्पपछि इन्द्रावती - ८ ,९ को विभिन्न स्थानमा वरिपरिको मूल सुक्न थालेपछि पानीको समस्या झनै चर्किएको छ । इन्द्रावती गाउँपालिका—८ ज्यामिरे मानेदेखि कुञ्चोक जौडाँडामा एउटै धाराको भर पर्नुपर्ने बाध्यता रहेको ज्यामिरेडाडाका स्थानीय केदारनाथ आचार्यले वताए । इन्द्रावती—६ स्थित पोखरी खेत मुहानमा पानीको स्रोत फेला पारेपछि सुरुवातमा स्थानीय आफैं जुटेर चन्दा संकलन गरेर पानी ल्याएका थिए ।

कुनै स्थानमा पनि पानीको स्रोत फेला नपरेपछि खानेपानी समस्या भएको गुनासो आइरहेको इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङले बताए । 'यो समस्याबारे हामी जानकार छौं, केन्द्रदेखि स्थानीयबाट खानेपानीको कार्यक्रम आएका छन्,यसबारे पहल भइरहेको छ,'उनले भने ।

स्थानीय स्तरबाट बृहत् खानेपानीको कार्यक्रम ल्याएर यहाँको समस्या समाधान गर्ने पहलकदमी लिइरहेको उनले दाबी गरे ।

प्रकाशित : वैशाख १९, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

बन्न सकेन सम्पदा बस्ती

राजेन्द्र मानन्धर

दोलखा — प्राचीन सभ्यताका दुई दर्जन सार्वजनिक पाटीहरू देख्दादेख्दै भत्किए । अहिले त्यहाँ व्यक्तिका घर र आँगन छन् । यही पुस्ताका आँखा अगाडि किरात, मल्ल र शाहकालीन मठमन्दिर नासिँदै गए । धारा र ढलहरू पुरिए । अहिले त्यहाँ व्यक्तिका निजी संरचना छन् ।

पौराणिक राज्यको इतिहास बोकेको दोलखा बजारका सम्पदाहरू इतिहासका पानामा सीमित हुने खतरा बढेपछि स्थानीयहरू चिन्तित छन् । बाटाहरू मिचिएपछि यस वर्ष कष्टपूर्वक मच्छिन्द्रनाथको रथ गन्तव्यमा पुर्‍याइयो । कतिपयले यस वर्ष उक्त रथ तान्दातान्दै ढल्नुको कारण सार्वजनिक बाटाहरू अतिक्रमणलाई लिन्छन् ।

आधुनिक नेपालका सुरुवातकालसम्म दोलखाको चौघेरा स्वतन्त्र राज्यको अस्तित्वमा थियो । राजाहरूले शासनको बागडोर समाल्दै मन्दिर र मूर्तिहरूको सहरका कला, संस्कृति सिर्जना गर्दै जोगाउँदै छोडेका थिए । 'पुर्खाहरूले जात्रा र पर्वहरूलाई विचार गरेर बनाएका १० मिटर चौडासम्मका बाटाहरू नयाँ पस्ताले मिच्दै गए,' स्थानीय राजनीतिक प्रतिनिधि ज्ञानेन्द्र प्रधान भन्छन्, 'यहाँका मानिस भेला हुने सार्वजनिक चौरसम्म नापी गरेर व्यक्तिको पोल्टामा पारियो ।'

नेवारी संस्कृति र परम्पराका सयौं थरीका जात्रा, चाडपर्व र परम्पराले भरिएको दोलखा बजार आधुनिक आवरणमा ढालिँदै गइरहेकामा नयाँ पुस्ता चिन्तित छन् । एकपछि अर्को सार्वजनिक सम्पदामाथि कब्जा जमाइँदा सरकारी निकाय भने चुपचाप बसिरहेको आरोप भीमेश्वर नगरपालिका २ स्थित दोलखा बजार क्षेत्रका वडा सदस्य चरित्रकृष्ण श्रेष्ठ बताउँछन् ।

'योजनाबिनै प्राविधिकले सार्वजनिक जग्गा मिचेर बनाइएका नक्सालाई कानुनी हैसियत दिँदै गएकाले जटिल बन्दै गयो,' उनले आरोप लगाए । उक्त वडाका वडाअध्यक्ष विराजमान श्रेष्ठ मठमन्दिर, देवल, पाटीपौवा, डबली मिचेर बनाइएका संरचना यकिन गरी भत्काउनेसम्मको योजना बनाइरहेको बताउँछन् ।

प्राचीन सहरको सम्पदा बस्ती पुनर्निर्माणसम्बन्धी संवाद कार्यक्रममा राजनीतिक प्रतिनिधि प्रेमकृष्ण श्रेष्ठले ढल, धारा, कुलो मठमन्दिर, विद्यालय क्षेत्रभित्रका सार्वजनिक जग्गा मिच्नेलाई कारबाही नभएको गुनासो गरे । 'हामीलाई भने दुइटा बाख्रा बाँध्ने खोर पनि सार कि सार भनेर किचकिच गरिन्छ, मिच्नेले मिचेको मिचै छन्,' उनले भने ।

पुर्खाहरूबाट निर्मित दोलखा बजारभित्रका धार्मिक मार्गहरू मिचेर व्यक्तिका घरका दलान, आँगन र मलखाद बनाइएका छन् । भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठका अनुसार चरम अतिक्रमणले जात्रा पर्व चलाउन पनि कठिन पर्दै गएको छ । उनी पुरातत्त्व विभागले गरिरहेको सम्पदाहरूको पुनर्निर्माणप्रति पनि असन्तुष्ट छन् ।

दोलखा बजारका मौलिक र परम्परागत शैलीभन्दा पनि ठेकेदारलाई सजिलो पर्ने गरी पुनर्निर्माण भइरहेको आरोप उनको छ । भीमेश्वरको भण्डार घर बनाउने बेला पुरातत्त्वको कार्यशैलीको विरोध नै गर्नुपरेको सुनाउँदै संवाद कार्यक्रममा दोलखाको परम्परागत मौलिकता जोगाउन व्यक्तिदेखि राज्यपक्षसमेत उत्रिएको बताए ।

'दोलखाको इतिहास नलेखी नेपालको इतिहास पूरा हुँदैन' भन्ने इतिहास शिरोमणि बाबुराम आचार्यको भनाइ स्मरण गर्दै स्थानीय राजनीतिक प्रतिनिधि राकेश श्रेष्ठ दोलखाको इतिहास मेटिँदै गएकोमा चिन्ता गर्छन् । उनको भनाइमा नगरपालिकाले दिएको नक्सा डिजाइनका कारण सम्पदा बस्ती बिगि्रँदै गएको हो ।

दोलखाको इतिहासको जानकार अगुवा शिक्षक तीर्थनारायण जोशीले भनेे, 'दोलखा बजारभित्र बटुवा आराम गर्ने, भजकिर्तन गर्ने र भेला हुने ३५ वटा पाटी थिए । 'खै कहाँ गए ती पाटीहरू ? हेर्दाहेर्दै धेेरैजसो पाटीहरू व्यक्तिका घर र पसलकौलमा परिणत भए,' उनले कार्यक्रममा सबैलाई सुनाए ।

दोलखा बजारभित्र ११ वटा गल्लीहरू थिए । अहिले ती गल्लीहरू खुम्चँदै व्यक्तिको हुन पुगेको दुःखेसो उनको छ । पुरातात्त्विक सम्पदाहरू चोरीको शृंखला सुरु हुनुपूर्व दोलखा बजारका प्रायःजसो घरमा मन्दिर थिए र मन्दिरभित्र पुरातात्त्विक देवताको मूर्तिहरू थिए । दुंगल टोलको एक मन्दिरका मूर्तिहरू हराएपछि देवताको फोटो अंकित कागजका पोस्टरलाई पूजा गर्नुपर्ने दुर्दशा आएको स्थानीय टीकाजोशी बताउँछन् ।

हालसम्म राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पदा बस्ती पुनर्निर्माणबारे नीति नपठाएकाले दोलखा बजारका घरहरूमौलिकता हराएको ढाँचामा बनिरहेका छन् । बलियाघरहरूमा पुर्खाहरूले बनाए जस्तैगरी दलान, ढु‌ंगामा कमेरो माटो लिपिएका गारा, त्यस्तै प्रकृतिका झयाल ढोकाका आकृति दिने योजना पुनर्निर्माणको ढिलासुस्तीले समाप्त हुँदै गएको वडा अध्यक्ष विराजमान श्रेष्ठ बताउँछन् ।

लगभग तीन सय ६५ वटा किरात, मल्ल र शाहकालीन कलाकृति झल्कने स्वरूप दिन सकिने घरहरू बन्ने सूचीमा थिए । वडा कार्यालयका अनुसार ६५ प्रतिशत घरहरू पुनर्निर्माण प्राधिकरणले दिएको नमुनाकै घरहरू बनिसकेका छन् । सम्पदा बस्तीका लागि भूकम्पपीडितलाई दिन तीन लाखबाहेक थप ५० हजार निकासासमेत नभएकाले उक्त बजारले सम्पदा बस्तीमा पुनिर्निर्माण हुने अवसर गुमाएको हो ।

प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले सम्पदा बस्तीसम्बन्धी कार्यविधि बनिसकेको बताउँछन् । तर, स्थानीय तहमा कार्यान्वयन गर्ने निकाय भवन डिभिजन कार्यालय भने कार्यविधिको अभावले सम्पदा बस्ती सम्बन्धमा केही गर्न सकिने अवस्था नभएको बताउँदै आएको छ ।

प्रकाशित : वैशाख १९, २०७६ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्