भूकम्पपीडित एकल महिलालाई सास्ती

कान्तिपुर संवाददाता

नुवाकोट — वैशाख १२ गतेको भूकम्पपछि आवास निर्माणमा बढी असर एकल महिलाहरूलाई परेको छ । विदुरनगरपालिका २ तोपखानाकी ४८ वर्षीया सावित्री विक अझै टहरामा छिन् । अन्य एकल महिलाले पनि घर बनाउन नसकेको गुनासो गरेका छन् ।



विकले दुइटा टहरा र एउटा पालको भरमा उनको दैनिकी गुजारा चलाएकी छन् । आर्थिक अभाव र लाभग्राही सूचीमा समावेश हुन नसक्दा उनको परिवार टहरामै छ । ‘घर बनाउन पैसा छैन,’ नातिनीसँगै भेटिएकी उनले भनिन्, ‘गुनासोमा ७/८ पटक भरियो ।’

टहरो बनाउन र जस्तापाता एक गैरसरकारी संस्थाले सहयोग गरेको बताइन् । अहिले उनको ५ जनाको परिवार टहरामा छ । निजी आवास पुनर्निर्माणका लागि पटकपटक गुनासो भर्दासमेत लाभग्राही सूचीमा नपरेको गुनासो उनले गरिन् । उनको पाँच वर्ष अघि श्रीमान् बिते । छोरा कान्छोको उपचार गर्दागर्दै भएको रकम सिद्धिएको उनले बताइन् ।

‘भएका रकम छोराको उपचारमा सिद्धियो,’ उनले भनिन्, ‘वर्षामा टहरामाथिदेखि भल आउँछ । कुलेसो काटेर भल तर्काउनुपर्छ ।’ जिल्लामा ७६ हजारभन्दा बढी भूकम्पपीडित छन् । त्यसमध्ये हालसम्म ४४ हजारले निजी आवास सम्पन्न गरेका छन् । ४० प्रतिशत भूकम्पपीडितले अझै निजी आवास बनाउन सकेका छैनन् । कोही अनुदानको पर्खाइमा छन् । कतिको गुनासो अझै सुनुवाइ भएको छैन । निजी आवास निर्माण गर्न नसक्नेमा बढी एकल महिला परेका छन् ।

आर्थिक अभाव, गाउँमा सरल रूपमा कामदार नपाउनु र निर्माण सामग्री महँगो भएपछि उनीहरूलाई समस्या बनाएको छ । यस्तै आर्थिक अभावले घरको जग मात्र हालेर बसेकी लिखुगाउँपालिका १ राउस्वाँराकी ४१ वर्षीया कमला थापामगरलाई परेको छ । उनको ३ जनाको परिवार टहरामा छ ।

एकल महिला भएकाले छोराछोरी पढाउनेदेखि लिएर घर बनाउने अभिभारा उनकै काँधमा छ । ‘जग हालियो,’ उनले भनिन्, ‘पैसा छैन । सबै चिज महँगो छ । विस्तारै बनाउनुपर्ला ।’

प्रकाशित : वैशाख १५, २०७६ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्

गोसाइँकुण्डमा केबलकार

कृष्ण थापा

नुवाकोट — धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाइँकुण्डसम्म केबलकार निर्माण गरिने भएको छ । दुप्चेश्वर गाउँपालिका २ कुटुङसाङदेखि गोसाइँकुण्ड गाउँपालिका ५ स्थित कुण्डसम्म केबलकार निर्माण गरिने भएको छ ।


लाङटाङ केबलकार प्रालिले निर्माण गर्ने उक्त प्रस्ताव अघि बढाएको हो । केबलकार सञ्चालन हुने क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को लागि प्रक्रिया अघि बढिसकेको प्रालिका अध्यक्ष भीम ढकालले बताए ।

कम्पनीका अनुसार पाँच वर्षभित्रमा केबलकार निर्माण गरिसक्ने र त्यसको लागत २ अर्ब रुपैयाँ लाग्ने जनाएको छ । दुप्चेश्वर गाउँपालिका २ कुटुङसाङ २४७० मिटरमा उचाइमा रहेको छ भने गोसाइँकुण्ड ४३८० मिटर उचाइमा छ । केबलकारको लागि कुटुङसाङदेखि गोसाइँकुण्डसम्म दुरी ९ किलोमिटर हुने कम्पनीले जनाएको छ ।

गोसाइँकुण्डसम्म केबलकार सञ्चालनका लागि अन्य स्थानबाट पनि प्रक्रिया बढेको भए पनि कुटुङसाङदेखि गोसाइकुण्डसम्म निर्माण हुने केबलकार आन्तरिक तथा बाहृय पर्यटकका लागि सहज हुने कम्पनीको दाबी छ ।
काठमाडौंको सुन्दरीजल हुँदै गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक र मानवीय हिसाबले रमाइलो पदयात्रा मानिन्छ ।

गोसाइँकुण्ड जाने तीर्थयात्री, बाहृय र आन्तरिक पर्यटकहरू काठमाडौंको सुन्दुरीजलबाट यात्रा सुरु गर्छन् । अधिकांश तीर्थयात्री नुवाकोटको त्रिशूली हुँदै रसुवा सदरमुकाम धुन्चेबाट पदयात्रा गर्छन् भने सुन्दरीजलको बाटो हिमाली दृश्यवलोकन गर्दै गोसाइकुण्ड पुग्छन् ।

केबलकार स्थापना गर्ने प्रस्ताव राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पेस भइसकेको कम्पनीले जनाएको छ । सुन्दरीजलबाट आउने तीर्थयात्री र पर्यटकहरू तामाङ बस्ती हुँदै मूलखर्क पुग्छन । वैशाख(जेठमा फूल्ने गुराँस र सल्लाले यात्रीलाई मन चंगा गराउदै बोड्लाङ भन्ज्याङ हुदैचिसापानी पुग्छन् । चिसापानी नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौंको सिमाना हो ।

यो पर्यटकीय गन्तव्यसमेत हो । चिसापानी, पाटीभन्ज्याङ हुँदै कुटुङसाङ पुगिन्छ । यो सिन्धुपाल्चोक र नुवाकोटको सीमामा पर्छ । पूर्वतिर हेलम्बु जाने पदयात्रा मार्ग पनि नजिक छ । यहीबाट गोसाइँकुण्ड पदयात्रा, पवित्र दुप्चेश्वर महादेवको दर्शन गरेर पनि हेलम्बु, तार्केघ्याङ पुग्न सकिन्छ ।

गोसाइँकुण्डसम्म केबलकार सञ्चालन गर्दा स्थानीय स्तरमा रोजगारीको सिर्जना हुने, धार्मिक तीर्थयात्री तथा पर्यटकहरू वृद्धि हुने कम्पनीले जनाएको छ । कुटुसाङबाट मात्र नभई रसुवाको धुन्चे र नुवाकोटको घ्याङफेदीबाट पनि केबलकार निर्माण गर्ने प्रस्ताव छ ।

प्रकाशित : वैशाख १५, २०७६ ०७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्