कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गर्भवती चेपाङ महिलामा कुपोषणको समस्या

प्रमिता ढकाल

भरतपुर — चितवनको कालिका नगरपालिका–१० की लालीमाया चेपाङ एक साताअघि सुत्केरी भएकी हुन् । उनको पाँचौं सन्तान मृत अवस्थामा जन्मिएको थियो । पछिल्लो सन्तान गर्भमा आएदेखि स्वास्थ्य परीक्षण गराउन लालीमाया नियमित स्वास्थ्य चौकी जाने गर्थिन् ।

गर्भावस्थामा तौल निकै कम भएकाले उनलाई स्वास्थ्यकर्मीले पोसिलो खाना खान र आराम गर्न सुझाएका थिए । गर्भावस्थामा नियमित जाँच गराउनुपर्ने सचेतना भए पनि आर्थिक अभावका कारण पोसिलो आहार र आराम सम्भव थिएन । बच्चा जन्माउन आएकी लालीमायाको तौल जम्मा ४० किलो थियो ।

जटिलतालाई ध्यानमा राख्दै स्वास्थ्यकर्मीले जोखिम लिन चाहेनन् र अस्पताल जान सुझाए । गर्भवती लालीमाया एक्लै जान सम्भव थिएन । उनका श्रीमान् तथा परिवारले घरतिरै फर्काए । सुत्केरी व्यथा सुरु भइसकेकी उनले अन्नततः गर्भमै मरेको छोरालाई जन्माइन् । सुत्केरी लालीमायाको अवस्था अहिले थप जटिल छ ।


सात वर्षदेखि साविकको सिद्धि गाविसमा स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत सानुमाया तामाङका अनुसार यो लालीमायाको एक्लो कथा होइन । कालिका नगरपालिकाका विकट पहाडी भेगमा विपन्नताकै कारण कुपोषणको समस्या धेरै छ । सानुमायाले भनिन् ,‘खाने कुरै छैन भने हामीले पोसिलो खान खानुस् भनेर मात्र कहाँ हुनु ।’ ९ महिनाकी गर्भवती महिलाको तौल उनको सुरुवाती तौलभन्दा १२ किलो बढी हुनुपर्छ ।

तर कुपोषणका कारण चेपाङ समुदायका गर्भवती आमाहरूमा आवश्यक तौल पुग्नै नसक्ने अवस्था विकराल छ । बिहीबार स्वास्थ्यचौकीमा २४ वर्षीया पुतली चेपाङ गर्भवती जाँच गराउन आएकी थिइन् । ८ महिनाकी गर्भवती पुतलीको पनि तौल कम देखियो । ८ महिना पुग्दा उनको तौल ७ किलो मात्र बढेको थियो । नियमित जाँचमा आउने गरेकी उनलाई स्वास्थ्यकर्मीले पोसिलो आहारमा जोड दिए पनि अभावकै कारण व्यवहारमा उतार्न सम्भव नरहको बताइन् ।

‘घरमा जहान धेरै छौं,’ पुतलीले भनिन्, ‘मैले मात्र खाएर भएन ।’ दुई घण्टा हिँडेर स्वास्थ्य चौकी आइपुगेकी पुतलीलाई चौथो पटक स्वास्थ्यचौकीसम्म आउन पनि सकस छ । भेगका स्थानीयलाई स्वास्थ्य चौकीसम्म आउन न्यूनतम दुई घण्टा हिँड्नुपर्ने बाध्यता छ । खोलिएका ट्र्याकमा पानी पर्दा हिलाम्मे भएर चिप्लिने डर छ ।


विसं २०५९ सालमा बर्थिङ सेन्टर सुरु गरिएको सिद्धि स्वास्थ्य चौकीमा सुरुवातमा १२ जनाले सुत्केरी गराएका थिए । १७ वर्षपछि अर्थात यस आर्थिक वर्षको ९ महिनासम्म स्वास्थ्यचौकीमा १९ जनाले मात्र सुरक्षित सुत्केरी गराएका छन् । कालिका नगरपालिका १० र ११ का सेवाग्राही आउने स्वास्थ्यचौकीमा करिब १ हजार २ सय जना प्रजनन् उमेरका महिला छन् । सरकारले पहाडी भेगका गर्भवती महिलालाई स्वास्थ्यचौकीमा सुरक्षित सुत्केरी सेवा लिएबापत यसै आर्थिक वर्षबाट १ हजार ८ सय उपलब्ध गराउन सुरु गरेको छ । नियमित चार पटक स्वास्थ्य जाँच गराएका र स्वास्थ्यचौकीमा पुगेर सुत्केरी सेवा लिनेलाई मात्र यो सुविधा दिने व्यवस्था छ । गाउँकै स्वास्थ्यचौकीसम्म आउन असम्भव हुने चेपाङ समुदायले अस्पताल पुगेर सेवा लिने संख्या न्यून छ ।

प्रकाशित : वैशाख १४, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?