कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थाहामा ५० प्रतिशत प्रगति

हेटौंडा — मकवानपुरको थाहा नगरपालिकाले चालू आवमा वित्तीय र भौतिक दुवैतर्फ ५० प्रतिशतभन्दा बढी प्रगति गरेको छ । जिल्ला समन्वय समितिले गरेको अनुगमनका क्रममा नगरपालिकाले चालू आवको फागुन मसान्त सम्ममा भौतिक र वित्तीय दुवैतर्फ ५० प्रतिशतभन्दा बढी प्रगति गरेको जानकारी दिएको छ । 

नगरपालिकाको कुल ५१ करोड १७ लाख ८ हजार बजेटमध्ये फागुन मसान्तसम्ममा २९ करोड ५५ लाख ६३ हजार निकासा भएको र २६ करोड ६६ लाख ८७ हजार रुपैयाँ अर्थात् ५२.२७ प्रतिशत खर्च भएको मेयर लवशेर विष्टले अनुगमन टोलीलाई जानकारी दिए ।

नगरपालिकालाई केन्द्रीय सरकारबाट प्राप्त ३५ करोड ६९ लाख १५ हजारमध्ये २० करोड ८६ लाख ८२ हजार अर्थात् ५८ प्रतिशत, प्रदेश सरकारबाट प्राप्त ३ करोड १० लाख २८ हजार मध्ये ४१ लाख १ हजार अर्थात् १३ प्रतिशत, आन्तरिक आयबाट प्राप्त २ करोड ९४ लाख ३५ हजारमध्ये १ करोड ८९ लाख ४ हजार अर्थात् ६४ प्रतिशत, र राजस्व बाँडफाँडबाट प्राप्त ९ करोड २८ लाख मध्ये ३ करोड ५० लाख अर्थात् करिब ३७ प्रतिशत रकम खर्च भइसकेका मेयर विष्टले बताए । उनका अनुसार समग्रमा थाहा नगरपालिकामा

५२.२७ प्रतिशत खर्च भएको छ ।

चालू आवमा नगरपालिकामा कुल ९४ वटा मात्र योजना रहेको र कुनै पनि योजना ५ लाखभन्दा कम रकमको थिएन । नगरपालिकामा रहेका भौतिकतर्फको ७४ वटा योजनामध्ये हालसम्म ७३ वटा योजना सम्झौता भइसकेका छन् । भौतिकतर्फ ६७ प्रतिशत प्रगति हासिल गरेको समेत नपाका उपमेयर खडग गोपालीले जानकारी गराएका थिए ।

थाहा नगरपालिकाले समग्रमा ५२.२७ प्रतिशत उपलब्धि हासिल गरेको भए पनि यतिमै चित्त बुझाउने अवस्था भने नरहेको मेयर विष्टले जनाए । कर्मचारी अभाव तथा विभिन्न झन्झटिला कानुनी प्रावधानका कारण सोचेअनुसारको काम भने गर्न नसकेको गुनासो उनले गरेका थिए ।

यसैगरी, न्यायिक समितिमा चालू आवमा ६१ वटा उजुरी परेको उपमेयर गोपालीले टोलीलाई जानकारी गराएका थिए । नगरपालिकामै न्यायिक इजलासको व्यवस्था रहेको र न्यायिक इजलास बस्ने निश्चित दिन तोकिएको समेत अवगत गराएका थिए । हालसम्म परेका ६१ मध्ये ५० वटा उजुरीको फर्स्योट भएको र एउटा अदालतमा पठाइएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जिल्लामा हालसम्म गरिएका अनुगमनका क्रममा थाहा नगरपालिका अन्य स्थानीय तहमध्ये उत्कृष्ट पाइएको बताए । टुक्रे योजनाका कारण अन्य स्थानीय तहहरूले प्रगति राम्रो गर्न नसकेको अवस्थामा थाहा नगरपालिकाले ५ लाखभन्दा कमका योजना नबनाएर प्रगति गर्न सकेको उनको ठम्याइ थियो ।

प्रकाशित : वैशाख ३, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?