कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबै विद्यालयमा एकै पोसाक

हेटौंडा — मकवानपुरको एक गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रछात्रालाई एकै खालको पोसाक लगाउनुपर्ने व्यवस्था गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि गाउँपालिकाभित्र रहेका सामुदायिक स्कुलका विद्यार्थीले एकै खालको विद्यालय पोसाक लगाउनुपर्ने व्यवस्था गरेको हो । 

गाउँ शिक्षा समिति मनहरीले फरक/फरक विद्यालयमा अध्ययनरत विद्यार्थीको विद्यालय पोसाकमा फरकपन देखिएकाले एकरूपता ल्याउन उक्त निर्णय गरेको गापा अध्यक्ष एकराज उप्रेतीले बताए । समितिको शुक्रबार बसेको बैठकले यससम्बन्धी निर्णय गरेको हो । शिक्षा समितिले छात्रछात्रा दुवैलाई आकाशे रंगको सर्ट, गाढा नीलो रंगको पाइन्ट र टाई तथा जुत्ता रहने निर्णयसमेत गरेको छ ।


वर्षायाममा भने कतिपय विद्यालयमा टाई र जुत्ता अनिवार्य नहुने समितिले निर्णय गरेको छ । खोला तरेर विद्यार्थी स्कुल जानुपर्ने भएकाले त्यस्ता स्कुलका विद्यार्थीलाई वर्षायाममा भने जुत्ता र टाई अनिवार्य गरेको छैन । ‘सबै विद्यालयका बालबालिकाको पोसाक एकरूपता ल्याउनका लागि यस्तो कदम चालेका हौँ,’ मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टले भनिन्, ‘हाम्रो पोसाक देखेर मनहरी गाउँपालिकाका विद्यालयको विद्यार्थी रहेछ भनेर सबैले चिनून् भन्ने उद्देश्य हो ।’


गाउँ शिक्षा समितिले शैक्षिक वर्ष २०७६ को लागि शैक्षिक क्यालेन्डरसमेत निर्माण गरेको छ । जसअनुसार यसअघि दसैं, तिहार र छठ पर्वलाई जोडेर दिइँदै आएको लामो बिदा कटौती गरेको छ ।


दसै र तिहारको बीचमा १३ दिन विद्यालय सञ्चालन हुने गरी क्यालेन्डर निर्माण भएको गाउँ शिक्षा समितिका प्रमुख राजेन्द्र चौलागाईँ ले बताए । साविकको मनहरी र हाँडीखोला गाविस समेटेर बनाएको मनहरी गाउँपालिकामा ८ वटा सामुदायिक विद्यालय छन् भने २३ वटा निमावि र प्राथमिक विद्यालय रहेका छन् । उक्त गापामा रहेका ३२ वटा सामुदायिक विद्यालयमा ६ हजार ५ सय छात्रछात्रा अध्ययनरत छन् ।

प्रकाशित : वैशाख १, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?