कोसेली बन्यो गुराँसको जुस

रसुवा — लालीगुराँस फुलेर फागुन र चैतमा उच्च पहाडी क्षेत्रको अधिकांश जंगल राताम्मे हुन्छ । धेरैले लालीगुराँस हेर्छन् । फोटो खिच्छन् र आनन्द लिन्छन् । तर त्यही जंगलमा फुलेर खेर जाने गुराँसको फूलबाट यहाँका स्थानीयले राम्रो आम्दानी लिइरहेका छन् ।

वन फुलेका गुराँसलाई धुन्चेका बाबुराम श्रेष्ठले वर्षौंदेखि जुस बनाएर आम्दानीको स्रोत बनाएका छन् । गुराँसको जुस बहुउपयोगी हुने थाहा पाएपछि श्रेष्ठले दर्ता गरी उद्योग सञ्चालन गरिरहेका छन् । उनले हिमालयन फलफूल प्रशोधन केन्द्र भनेर उद्योग खोलेका छन् ।


फूल टिप्न र जुस उत्पादन गर्न उनले वन कार्यालयसँग अनुमति लिएका छन् । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा भने फूल टिप्न अनुमति छैन । उनले अन्यत्रको जंगलबाट गुराँसको फूल टिपेर ल्याउने गरेका छन् । रसुवा घुम्न आउने सबैजसो पाहुनाले कोसेलीका रूपमा गुराँसको जुस लैजाने गरेको श्रेष्ठले बताए ।


गुराँसको फूलबाट बनेको जुसले जन्डिस, कलेजोसम्बन्धी रोग, घाँटी दुखाइ, मोटोपन घटाउने, मधुमेहका बिरामीलाई फाइदा पुग्ने र रगत सफाइ गर्ने चिकित्सकहरू बताउँछन् । श्रेष्ठले गुराँसको फूलसँगै डालेचुक, चुत्रो र आँपबाट जुस र वाइनसमेत उत्पादन गरिरहेका छन् ।


लालीगुराँस र डालेचुक गरी वार्षिक हजार बोतल जुस उत्पादन तथा बिक्री हुने गरेको छ । आधुनिक उपकरण प्रयोग गरी जुस बनाउने गरिएको छ ।


जुस उत्पादन गर्न घरेलु तथा साना उद्योग विकास समिति रसुवा र हिमाली आयोजनाले आधुनिक उपकरण सहयोग गरेको छ । यो पेसामा श्रेष्ठका परिवारका सबै सदस्य लागेका छन् ।


१ लिटर गुराँसको जुसको मूल्य १ सय ५० रुपैयाँ छ । एक बोतल डालेचुकको जुसलाई ३ सय पर्छ । जुसको मुख्य बजार भनेको रसुवा, नुवाकोट र काठमाडौं हो ।

प्रकाशित : चैत्र २३, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?