प्रहरी पक्की भवनमा

कान्तिपुर संवाददाता

हेटौंडा — टहरामा कष्टपूर्ण बसी नागरिकलाई सुरक्षा प्रदान गर्दै आएका हेटौंडा उपमहानगरपालिका–६ चौघडा चौकीका प्रहरीले शुक्रबारदेखि पक्की भवन पाए । ०७२ वैशाख २९ गतेको परकम्पले प्रहरी चौकी भवन भत्केर टहरामा कोचिएर बस्दै आएका थिए ।

टहरामा भएको सानो २ वटा कोठालाई कार्यालय, सुत्ने, भान्सा र हतियार राख्ने ठाउँको रूपमा प्रयोग गर्दै आएका थिए । ‘झन्डै चार वर्ष टहरामा कठिन ढंगले बसियो,’ चौकीका असई डम्बरबहादुर केसीले भने, ‘पानी परेपछि भिज्ला भनेर हतियार जोगाउनै समस्या थियो ।’

हेटौंडा बजारबाट ६ किमि दूरीमा रहेको उक्त चौकीको नवनिर्मित भवनको प्रदेश ३ प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी दीपककुमार थापाले शुक्रबार एक समारोहबीच उद्घाटन गरेका थिए । पुनर्निर्माण प्राधिकरणको लगानीमा पुनर्निर्माण गरिएको उक्त भवनको उद्घाटन गर्दै डीआईजी थापाले सुन्दर सुविधायुक्त भवनमा बसेर प्रहरीले आम नागरिकलाई भरोसायोग्य सेवा दिनुको साथै सुरक्षा प्रदान गर्न निर्देशन दिए । नागरिक र प्रहरी एक सिक्काका २ पाटा भएको बताउँदै उनले भने, ‘स्थानीयवासीको सहयोगबिना कुनै पनि अपराध नियन्त्रण गर्न सकिँदैन ।’ प्रहरी अनुशासित, मर्यादित र कर्तव्यपरायण हुनुपर्ने उनले बताए ।

१ करोड १९ लाख ६२ हजारको लागतमा निर्माण गरिएको भवनको उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भूकम्पका कारणले मकवानपुरका आधा दर्जनभन्दा बढी घर भाडामा लिएर होस् वा टहरा र त्रिपालमुनि बसेर होस नागरिकलाई सुरक्षा प्रदान गरिरहेको बताए ।

साढे ३ कठ्ठा जमिनमा २ तले १० कोठे भवन, भान्सा घर र शौचालय निर्माण गरिएको छ । कार्यक्रममा जग्गादाता नारायणगोपाल थापालाई सम्मानपत्र प्रदान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका १७ वटा प्रहरी चौकीका भवन भ्कूम्पले क्षतिग्रस्त बनाएको थियो । त्यसमध्ये ६ वटा प्रहरी चौकी पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो भने ११ वटा चौकीमा आंशिक रूपमा क्षति पुगेको थियो ।

प्रहरीका अनुसार प्रहरी चौकी डाँडाखर्क, इप्रका ठिंगन, प्रहरी चौकी फाखेल र प्रहरी चौकी काँकडास्थित कान्द्राङको भूकम्पले पूर्ण क्षतिग्रस्त भएको हो । वैशाख २९ गतेको परकम्पले प्रहरी चौकी चौघडा र प्रहरी चौकी सीमभन्ज्याङ क्षतिग्रस्त बनाएको थियो । भूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको प्रहरी चौकीका भवनहमध्ये पुनर्निर्माण गरिएको यो पहिलो भवन हो ।

भूकम्पले आंशिक क्षति पुर्‍याएको इप्रका मनहरीको भवन मर्मत गरेर सञ्चालनमा ल्याएको छ । अझै पनि प्रहरीहरू भूकम्पले भवन क्षतिग्रस्त बनाएपछि टेन्ट र टहरामा बसेर नागरिकलाई सेवा प्रदान गरिरहेका छन् । नागरिकलाई सुरक्षा प्रदान गर्न दुर्गम बस्तीमा रहेका प्रहरीहरू आफैं असुरक्षित अवस्थामा बस्न बाध्य छन् ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका सीमभन्ज्याङस्थित प्रहरी चौकीका प्रहरीहरू हिउँ, तुसारो र सिरेटो खेप्दै टेन्टमुनि बसेर सेवा प्रदान गरिरहेका छन् । २०७२ जेठ १२ गतेको भूकम्पले प्रहरीहरू बस्दै आएको सीमभन्ज्याङस्थित भवन भत्केपछि उनीहरू त्रिपालमुनि बस्दै आएका हुन् । त्यो क्रम अहिले पनि जारी छ । टेन्ट पुरानो भएर च्यातिएर राति शीत मात्र हिउँ पनि भित्र छिर्‍यो । मकवानपुरको सबै भन्दा उचो भूभाग सीमभन्ज्याङ हो ।

उक्त क्षेत्रमा सधैं चिसो सिरेटो चल्छ । यसैगरी, बकैया गाउँपालिकामा पर्ने ठिङ्गनस्थित इप्रका साविकको गाविस भवनको एउटा कोठामा राखिएको छ । त्यसैमा प्रहरीहरू पनि कोचिएर बस्ने गरेका छन् । यसैगरी भार्ता, कान्द्राङ, फाखेल, भोर्लेनी र डाँडाखर्कस्थित प्रहरी चौकी घर भाँडामा लिएर राखिएको छ । उनीहरूको बसाइ असुरक्षित रकष्टपूर्ण छ ।

प्रकाशित : फाल्गुन २६, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्

आयआर्जन दुनाटपरीबाटै

कान्तिपुर संवाददाता

हेटौंडा — यहाँको कमलाखोंज क्षेत्रमा खेर जाने सालको पातको दुनाटपरी उद्योग सञ्चालन गरेर एक व्यवसायीले मनग्य आम्दानी गरेका छन्  । दुधौली नगरपालिका ४ स्थित डुढाका टंकप्रसाद सापकोटाले दुनाटपरी उद्योग सञ्चालन गरेर मनग्ये आम्दानी गरेका हुन् ।

आफ्नै घरमा सञ्चालन गरेको उद्योगलाई उनले वरपीपल नामकरण गरेका छन् । घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा स्थापना भएको वरपीपल दुनाटपरी उद्योगले स्थानीयलाई रोजगारीसमेत दिएको छ ।

समूहको पहलबाट उद्योग खोलियो सञ्चालक सापकोटाले भने, ‘अहिले समूहका सबैलाई रोजगार मिलेको छ, स्थानीयले जगंलबाट पात ल्याउँछन्, त्यसको पारिश्रमिक दिइन्छ ।’ जंगलबाट पात ल्याउनेलाई पारिश्रमिक दिएर पनि राम्रै आम्दानी भएको उनले बताए । ‘घरखर्च राम्रोसँग चलेको छ, त्यसको अलावा केही रकम बचतसमेत हुने गरेको छ,’ उनले भने ।

उद्योगमा ५० जनाभन्दा बढीले पात संकलनको रोजगारी पाएका छन् । पात संकलकको पारिश्रमिक कटाएर नै मासिक ४० हजारभन्दा बढी आम्दानी हुने गरेको उनले सुनाए । मिहिनेत गरे घरआँगनमै कमाउने आधार धेरै भएको उनको ठहर छ ।

पात संकलन गरेबापत् सामुदायिक वनलाई रोएल्टी बुझाउने गरिएको छ । उद्योगबाट बनेका दुनाटपरी सदरमुकाम सिन्धुलीमाढीका अलावा बनेपा, भक्तपुर, काठमाडौंलगायत देशका विभिन्न सहरमा बिक्रीवितरण हुँदै आएको छ ।

दुनाटपरी उद्योग भनेर हेला हुन्छ, तर आम्दानी राम्रो देखिन्छ, लघु उद्यमीलाई सघाउँदै आएका श्री सिन्धुलीका सचिव वेदराज दाहालले भने, ‘खेर जाने पातको सदुपयोग पनि भएको छ, गाउँमै रोजगारी र मनग्ये आम्दानी पनि छ ।’ कमलाखोंज क्षेत्रमा सालका रूख प्रशस्त भएकाले पातको समस्या नरहेको सञ्चालक सापकोटा भनाइ छ ।

प्रकाशित : फाल्गुन २६, २०७५ ०७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्