कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ आयोजना एकैपटक सुरु

रमेशकुमार पौडेल

चितवन — देवघाटधाममा विद्युतीय शवदाह गृह बन्ने भएको छ । पूर्व प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार शवदाह गृहसहित भरतपुरका विभिन्न पाँच आयोजनाको संयुक्त शिलान्यास गरे ।

५ आयोजना एकैपटक सुरु

पाँच आयोजना निर्माणको कुल सम्झौता रकम साढे ४६ करोड रुपैयाँ रहेको छ । सहरी विकास मन्त्रालयको सघन सहरी तथा भवन निर्माण आयोजनाअन्तर्गत ती परियोजनाहरू निर्मण हुन लागेका हुन् ।


परियोजनाअन्तर्गत सबैभन्दा धेरै खर्चमा शवदाह गृह बन्दै छ । यसको निर्माण लागत ११ करोड २१ लाख आठ हजार ६ सय ४१ रुपैयाँ छ । त्यसपछि भरतपुरको लक्ष्मीनारायणण तथा ओमकारेश्वर मन्दिरमा पार्क तथा अन्य पूर्वाधार निर्माणका लागि १० करोड ९० लाख ७३ हजार ६८२ रुपैयाँ खर्च हुनेछ । रानीपोखरीमा पार्क र पूर्वाधारका लागि ९ करोड ४५ लाख ९४ हजार १ सय ८० रुपैयाँ खर्च हुँदै छ ।


भरतपुरको केन्द्रीय बसपार्कको सुधारका लागि ८ करोड १८ लाख २३ हजार ३ सय २ रुपैयाँ खर्च हुनेछ । त्यसै गरी भरतपुरको सरकारी अस्पतालमा ६ करोड ८१ लाख ३० हजार ३ सय ८ रुपैयाँ खर्च गरेर कुरुवा घर निर्माण हुनेछ । निर्माणका लागि सम्झौता भइसकेका सबै योजना आउँदो दुई वर्षभित्र सकिनेछन् । सवै आयोजनाको बजेट नेपाल सरकारले बेहोर्ने कार्यक्रममा जानकारी गराइएको थियो ।


‘यी पूर्वाधारहरू सहरलाई सभ्य र सुसंस्कृत बनाउन आवश्यक छन् । यी सम्पन्न हुँदा भरतपुर महानगर नमुना सहर हुनेछ,’ शिलान्यासपछि सभामा बोल्दै पूर्व प्रधानमन्त्री दाहालले भने । दाहाल चितवन ३ का सांसद पनि हुन् । शवदाह गृह र भरतपुर अस्पतालको कुरुवा घरबाहेक अरू तीन आयोजना दाहालको निर्वाचन क्षेत्रअन्तर्गत परेका छन् । भरतपुरमा अन्य आयोजनाहरू पनि चाँडै नै आउने उनले बताए ।


सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सदरमुकाम क्षेत्रलाई आर्थिक तथा व्यापारिक केन्द्र बनाउने उद्देश्यले मन्त्रालयले सघन सहरी परियोजना सुरु गरेको बताए । ‘हामीले जे जति योजनाहरू ल्याएका छौं, ती सम्वृद्ध सहरको परिकल्पनालाई मूर्तरूप दिने खालका छन्,’ मन्त्री राईले भने । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले भरतपुरले विकासको गति समाएको बताइन् ।


प्रकाशित : माघ १८, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?