कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाल्वा बजार खाँडादेवी गाउँपालिकामा

रामेछाप — सुनापति र खाँडादेवी दुई गाउँपालिकाले आआफ्नै दाबी गरेको रामेछापको गाल्वा बजारलाई स्थानीय प्रशासनले खाँडादेवी गाउँपालिकाभित्र पर्ने निर्णय दिएको छ । 

गाल्वा बजार खाँडादेवी गाउँपालिकामा

दुई गाउँपालिकाको सीमा बजार गाल्वालाई आफ्नो भन्दै दुई गाउँपालिकाबीच सीमा विवाद चर्किएपछि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले साविकका प्रमाण र नजिरका आधारमा उक्त विवादित क्षेत्र खाँडादेवी गाउँपालिकामा पर्ने निर्णय दिएका हुन् ।


सुनापति गाउँपालिकाले गाल्वाभन्दा पूर्वतर्फ केही वरै सुनापति गाउँपालिकामा स्वागत छ भन्ने बोर्ड राखेपछि सीमा विवाद चुलिएको थियो । विवाद बढेपछि जिल्ला समन्वय समितिका प्रमुखसहित गाल्वामा पुगेका जिल्लास्तरीय टोलीले छलफल गर्दासमेत विवाद समाधान नभएपछि साविकका प्रमाण जुटाएको हो ।


तत्कालीन जिल्ला पञ्चायतले २०३८ सालमा जिल्लाका गाविस हेरफेर हुँदा खाँडादेवी र हाल सुनापति गाउँपालिकामा पर्ने दिमीपोखरीको सीमा पूर्वमा अग्लेश्वर, गाल्वा भन्ज्याङ थुम्कीडाँडा हुँदै डोग्मा पञ्चायतको सिमाना र पश्चिममा खानीखोला, उत्तरमा घाटडाँडा खानीखोला हुँदै दोरम्बा गाउँपञ्चायतको सिमाना कायम गरेको थियो ।


दुई वर्षअघि गाउँपालिकाको सीमा कायम गर्दा साविकका गाविसहरू मिलाएर बनाइएकोले साविकको खाँडादेवी गाविसलाई खाँडादेवी गाउँपालिका बनाइएको हुँदा उक्त क्षेत्र सोही गाउँपालिकाको पर्ने शर्माले सुनाएको निर्णयमा उल्लेख छ ।


सुनापति गाउँपालिकाले साविकमा दिमीपोखरी गाउँपञ्यातको नापी हुँदा गाल्वा क्षेत्रसमेत दिमीतिरै नापी भएको आधारमा उक्त क्षेत्र आफ्नो दाबी गरेको थियो । जिल्ला प्रशासनले गाल्वा क्षेत्रमा सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण रोक्न पनि निर्देशन दिएको छ ।


सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरा वनाउने क्रम बढेकाले प्रशासनले त्यस्तो निर्देशन दिएको हो । उक्त क्षेत्रको पर्यटकीयलगायत विविध विकासका लागि दुवै गाउँपालिकाको स्वीकृत लिनसमेत प्रशासनले आग्रह गरेको छ ।


प्रकाशित : माघ १७, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?