सार्नुपर्ने बस्तीमा घर बनाउँदै

हरिहरसिंह राठौर

धादिङ — भूकम्पकै दिन रुबी भ्याली ४ हिन्दुङका ९६ घरधुरीलाई २ वटा पहिरोले घेर्‍यो । बस्तीको सिरानदेखि पुछारसम्म गएका २ वटा पहिरोले एउटा टोल पहिरोकै बीचमा पर्‍यो भने अर्को टोल छेउमा । सिँचाइ हुने खेत सबै पुरिए । भूकम्पपछिका वर्षहरूमा पहिरोले ८ घरगोठ बगायो ।

भूकम्प गएको ३ महिना पछि पहिलो पटक पुगेका भूगर्भशास्त्रीहरूले हिन्दुङ बस्ती पूरै सानुपर्ने सिफारिस गरे । तैपनि बस्ती छोड्न स्थानीयले मानेनन् । उत्तरी भेकमा रहेको बहुमूल्य जडिबुटी बेचबिखन, चौंरी र भेडाबाख्रापालन, निगालो चोयाको घरायसी प्रयोजनका विभिन्न वस्तुहरूको व्यापार जंगली जनावरको सिकार यो बस्तीका मुख्य आकर्षण हुन् ।


हाल उक्त पहिरोमा उत्तिसका रुखहरू उम्रन थालेका छन् । दुवैतिर पहिरोले घेरेको उक्त विकट बस्तीलाई भूकम्पपछि पनि हरेक वर्षात्मा वितण्डा मच्चाउँछ । भौगोलिक विकटताका कारण हरेक घटनापछि उद्धार तथा सरकारी सहायतामा निकै कठिनाइ हुने गरेको छ ।


हिन्दुङकै सामुन्ने पारि नेवियर गाउँनजिकै पनि पहाड खसेर पहिरोमा परिणत भएको छ । उक्त बस्ती पनि सार्नुपर्ने सिफारिस हुँदा हुँदै आवास निर्माणका लागि पहिलो

किस्ता पनि दिइयो । तर बस्ती सार्न चासो देखाइएन ।


जिल्लाबाट बस्ती सार्न सिफारिस गएका बस्तीहरूलाई भूगर्भशास्त्रीहरूले गहिरो अध्ययन गरी ३ वटा वर्गीकरण गरेको थियो । विज्ञहरूले साविकका तिपलङ्ग, झार्लाङ्ग, सेर्तुङ्ग, दार्खा, रीगाउं र सेम्जोङ्ग गाविसका ३२ गाउँटोलका २ सय ७६ सामान्य घरलाई स्थानान्तरण गर्नुपर्ने किटान गरेको थियो । विज्ञहरूले बस्तीलाई मर्मत गरी बस्न मिल्ने, भूक्षय नियन्त्रण र बायो–इन्जिनियरिङका कार्यक्रमहरू लागू गरी बस्न मिल्ने पनि सिफारिस गरिएको थियो ।


‘हामीले त्यतिबेलै व्यापक विरोध गरेका हौं । बरु जोखिमयुक्त बस्ती तत्काल सार्नुस् । पहिलो किस्ता नदिनुस् भनियो । तर मानेनन्, किस्ता दिए,’ दोहोरो र अन्योलपूर्ण नीतिले पुनस्र्थापना प्रभावकारी नभएको रीगाउँका भक्त लामाले भने । जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख राजेन्द्र केसीले भने, ‘थाहा पाए जति दोस्रो किस्ता रोकेका छौं । तर नीति अस्पष्टताका कारण सार्न पर्ने बस्तीका लाभग्राहीले पनि दोस्रो किस्ता लिएका छन् ।’


भूगर्भ शास्त्रीहरूले अध्ययनपश्चात भूकम्पीय जोखिम रहेकोले मानवीय बस्ती सार्नुपर्ने सिफारिस गरेका बस्तीहरूमा अशक्त र वृद्धवृद्धा मात्रै छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले त्यतिबेला गरेका उत्तरी धादिडका ८ बस्तीका ६ सय घरधुरीहरू जोखिमयुक्त ठहर गरी अन्यत्र सार्न सिफारिस गरेको थियो ।


सरकारले दिएको पुनस्र्थापनाको सुविधा लिँदै युवा पुस्ताहरूमध्ये एक सय ९२ जनाले सदरमुकाम लगायत विभिन्न स्थानमा जग्गा किनेर आवास निर्माण गरिसकेका छन् भने थप ९० जनाको प्रक्रियामा रहेको आयोजना इकाई प्रमुख केसी बताउँछन् ।

प्रकाशित : माघ १७, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

छोरी–बुहारी विदेश, श्रीमान्–ज्वाइँ घरै

विमल खतिवडा, अनिश तिवारी

गुम्बाथान, सिन्धुपाल्चोक — जुगल गाउँपालिका ३, तेम्बाथानकी २८ वर्षीया खामील्हामु शेर्पा साइप्रसबाट फर्किएको महिना दिन भयो । ४ वर्ष २ महिना त्यहाँ बसिन् । त्यसअघि इराक र कतार गएकी थिइन् । अब तत्काल विदेश जाने सोचमा छैनन् । 

गाउँ पुग्न सदरमुकाम चौताराबाट २ दिन लाग्छ । घरको आर्थिक अवस्था कमजोर भएकाले बाध्य भएर बिदेसिनुपरेको उनले गुनासो गरिन् । घरबाट विदेश जाने उनी एक्ली होइनन् । परिवारका अधिकांश सदस्य इराक, दुबई र कुवेतमा छन् ।

‘नयाँदिल्ली हुँदै इराक पुगेकी थिएँ,’ उनले भनिन्, ‘हाउसकिपिङमा काम गरें, कुनै समस्या भएन ।’ उनले आफ्नो कमाइले बुबाआमालाई घर बनाउन सहयोग गरेको बताइन् । धान फल्ने खेत छैन । बारीमा मकै र कोदो मात्र उब्जिन्छ । त्यसले वर्ष दिन धान्दैन । ‘गाउँमै बसेर परिवार पाल्न गाह्रो थियो,’ उनले भनिन्, ‘बाध्यताले बिदेसिनुपर्‍यो ।’

सात दिदीबहिनीमध्ये उनी साइली हुन् । दाजु मिङ्मार जेठमा दुबईबाट फर्किए, भाइ रिन्जी एक वर्षदेखि इराकमा छन् । भाउजू ३ वर्षदेखि कुवेतमा छिन् । २ बहिनी काठमाडौं, थानकोटमा पढिरहेका छन् । जेठी दिदी साङ्बु २ वर्ष इराक बसेर फर्किइन् । ठाइँली बहिनी पल्मु श्रीमान्सँगै इराकमा छिन् । ठूली कान्छी फुर्गेल्मु २ वर्ष कुवेत बसेर फर्केकी छन् । माइली दिदी १४ वर्षमै बितिन् ।

‘कमाएको पैसा घरखर्चमै लगानी भयो,’ फुर्गेल्मुले भनिन्, ‘केही जम्मा गरेका छौं, बुबाआमाले आफ्नो खर्चले बिहे गरिदिन सक्ने अवस्था छैन, बिहेका लागि थोरबहुत जम्मा गरेका छौं ।’
बुबा उङी र आमा मिङ्मार छोराछोरीको कमाइबाट पालिएका छन् । ‘पहिला छोराछोरी धेरै जन्माएर दु:ख पाइयो भन्ने लागेको थियो,’ आमा मिङ्मारले भनिन्, ‘अहिले सहारा बनेका छन्, उनीहरूकै कमाइले बाँचेका छौं ।’

घर ठड्याउनेदेखि खाद्यान्नको जोहो गर्नेसम्मको काम छोराछोरीले मिलेर गरिरहेका छन् । तेम्बाथान र गुम्बाथानका अधिकांश छोरीबुहारी विदेशमा छन् । घर हेर्ने काम छोरा–ज्वाइँले गरिरहेका छन् । विदेश गएकाले घरमा सोलार राखेका छन् । पुरानो घरलाई नयाँ बनाएका छन् । छोराछोरीलाई सहरमा राखेर पढाएका छन् । तेम्बाथानमा १ सय ६० घरधुरी छन् । वडा ३ को गुम्बाथानमा २ सय घरधुरी छन् । यो गाउँका करिब ५० घरका युवायुवती इराकमा रहेको स्थानीय कान्छा लामाले जानकारी दिए । ‘म पनि इराक गएको थिएँ, काम नपाएर फर्किएँ, महिलालाई जस्तो सजिलो पुरुषलाई हुँदैन रहेछ,’ उनले भने, ‘एक महिना पनि अडिन सकिनँ ।’

महिलाहरू गाउँकै एजेन्टमार्फत इराक जाने गरेका छन् । ‘सजिलो तरिकाले इराक जाने कम छन्,’ गुम्बाथानका मिङ्मार लामाले भने, ‘अधिकांश एजेन्टमार्फत जाने गरेका छन्, यसरी महिला गाउँबाट इराक जान थालेको १५ वर्षभन्दा बढी भयो ।’

घरेलु कामदारमा महिलाको माग धेरै हुन्छ । उनीहरू मासिक ३५ देखि ४० हजार रुपैयाँ कमाउँछन् । पुरुषले प्राय: गाडी चलाउने काम पाउँछन् । इराकमा समस्या भए पनि खाडी मुलुक जानेमा पुरुष बढी छन् । गुम्बाथानका नुर्पु लामाले श्रीमती साङ्गे डोल्मालाई इराक पठाएका छन् । जेठी छोरी साङ्मो पनि उतै छिन् । घरव्यवहार नुर्पुले सम्हालेका छन् । श्रीमतीले छोराछोरी पढाउन सजिलो होस् भनेर सानो किराना पसल खोलिदिएकी छन् । ‘घरमा खाना पकाउनेदेखि छोराछोरीलाई तयार बनाएर विद्यालय पठाउनेसम्मको काम आफैं गर्दै आएको छु,’ उनले भने, ‘घरमा लाग्ने खर्च श्रीमतीले पठाइदिन्छिन् ।’

उनले पनि नयाँ घर ठड्याएका छन् । श्रीमती गएको ५ वर्ष र छोरी गएको २ वर्ष भयो । श्रीमतीले पठाएको पैसा लिन उनी ३/३ महिनामा जलवीरे, बाह्रबिसे पुग्छन् । पसलको सामान लिन बनेपा जान्छन् । ‘पूरै गृहिणी भएको छु,’ उनले भने, ‘कामबाट सन्तुष्ट छु, श्रीमती विदेश नगएको भए म जानुपथ्र्यो ।’ उनले इराकमा पुरुषलाई काम पाउन समस्या भएकाले नगएको गुनासो गरे । छोरा कुशल कक्षा ८ मा, छोरीहरू पासाङ डोल्मा कक्षा ६ र महागाली कक्षा ३ मा पढ्छन् ।

छाल्देन लामाले पनि काइली छोरी सुक डोल्मालाई ९० हजार ऋण गरेर इराक पठाएका छन् । २ वर्षको अवधिमा छोरीले डेढ लाख पठाएको उनले बताए । ‘छोरीलाई काम कस्तो छ भनेर सोध्दा राम्रो छ, कुनै समस्या छैन भनेकी छ,’ उनले भने, ‘गाउँका थुप्रै युवती इराक गएकाले छोरीलाई पठाएँ ।’ घरको आर्थिक अवस्थाले गर्दा छोरीलाई पढाउन नसकेको उनको गुनासो छ । ‘छोरा कमाउन सक्ने भएका छैनन्,’ उनले भने, ‘छोरी ठूला छन्, घरको आर्थिक अवस्थाले कमाउन विदेश जाने हिम्मत छोरीले नै गरिन् ।’

जुगल गाउँपालिकाको दिपु, तेम्बाथान, गुम्बाथान, क्याङसिङबाट वैदेशिक रोजगारीमा जाने महिलाको संख्या धेरै छ । प्राय: घरबाट रोजगारीका लागि बिदेसिएकै छन् । धेरैजसो इराक पुगेका छन् । भन्छन्, ‘इराकमा पुरुषभन्दा महिलालाई सजिलो छ ।’

छोरीले पठाएको पैसा झिक्न काठमाडौं जाने गरेको उनले सुनाए । ‘उतैबाट घरमा आवश्यक खाद्यान्नदेखि लत्ताकपडा किनेर फर्किन्छु,’ उनले भने । उनका चार छोरी र २ छोरा छन् । जेठी करमाया ४ वर्ष ६ महिना इराक बसेर फर्किएकी छन् । असारमा फर्किएकी उनले मंसिरमा घरजम गरिन् ।

अगुवा गिर्मी लामा गाउँमा शिक्षा, स्वास्थ्य, रोजगारीको समस्या रहेको बताउँछन् । ‘आम्दानीको स्रोत छैन, रोजगारीका लागि अवसर छैन,’ उनले भने, ‘त्यसैले धेरै जना उमेर बढाएर विदेश जाने गरेका छन् ।’

गाउँकै २९ वर्षीया डोमा लामा ४ वर्ष इराक बसेर नौ महिनाअघि फर्किएकी छन् । उनका दुई दिदी उतै छन् । अहिले डेढ लाख लगानी गरेर किराना पसल खोलेकी छन् । श्रीमान् कान्छा लामा चौंरी हेरचाहमा व्यस्त हुन्छन् । १५ वटा चौंरी किन्न डोल्माले आर्थिक सहयोग गरेकी हुन् । उनलाई अब विदेश जानु छैन । पसल राम्रो चलेको छ । उनले भनिन्, ‘घरपरिवारसँगै बसेर काम गर्न मन छ ।’ एउटी छोरी छिन् ।

‘गुम्बाथानका प्राय: घरबाट कुनै न कुनै देशमा रोजगारीका लागि जानेहरू छन्,’ स्थानीय क्याबलुङथाङ आधारभूत विद्यालयका प्रअ गंगाराम सापकोटाले भने, ‘विदेश पलायन हुनुको मुख्य कारण आर्थिक अवस्था हो ।’

जुगल गाउँपालिकाको दिपु, तेम्बाथान, गुम्बाथान, क्याङसिङबाट वैदेशिक रोजगारीमा जाने महिलाको संख्या धेरै छ । ‘कति महिला वैदेशिक रोजगारीका लागि गएका छन् भन्ने तथ्यांक छैन, अहिले तथ्यांक लिइरहेका छौं तर कर्मचारी अभावले समस्या भएको छ,’ गाउँपालिका प्रमुख होमनारायण श्रेष्ठले भने, ‘वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्न गाउँमै रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम ल्याउँदै छौं, त्यसपछि बिदेसिनेको संख्या घट्नेछ ।’

प्रकाशित : माघ १७, २०७५ ०८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×