सरकारी कर्मचारी नै फरार अभियुक्त 

कान्तिपुर संवाददाता

धादिङ — जिल्ला अदालतले फरार अभियुक्त ठहर गरेका व्यक्ति २ दशकदेखि प्रमुख जिल्ला अधिकारीको चालक पदमा कार्यरत रहेको खुलेको छ । प्रजिअका चालक विक्रम प्रधान नगरकोटी फरार अभियुक्त रहेको ठहर गर्दै अदालतमा पेस गर्न ताकेता पत्र लेखिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा नियुक्ति लिनुअघि उनी ट्रक चालक थिए । २०५२ तिर काठमाडौं बागबजारमा बटुवालाई ठक्कर दिएर मृत्यु भएको घटना पछि जिल्ला अदालत काठमाडौंले २०५३ चैत २१ गते २ महिना २ दिनको कैद सजाय सुनाएको थियो । घटनापछि फरार तत्कालिन नौबिसे ७ का नगरकोटी २०५३ मै जिल्ला प्रशाासन कार्यालयमा हलुका सवारी चालक पदमा नियुक्ती लिई ६ महिनामै स्थायी भएका थिए । अदालतको फैसला कार्यान्वयन गराउने आफनो जिम्मेवारी रहेको वताउँदै प्रजिअ भगीरथ पाण्डेले नगरकोटीलाई काठमाण्डौं अदालतमा पेश गर्न मंगलवारै प्रकृया अगाडी बढाएको वताए ।


धादिड जिल्ला अदालतले धुनीबेंसी नगरपालिकालाई खरिदार रामचन्द्र मगरलाई पनि तत्काल पेस गर्न ताकेता पत्र लेखेको छ । अशोक मगरको जाहेरीले २०५४ असार १९ गते तत्कालीन जिवनपुरका ४ वडा अध्यक्षलाई कुटपिट गरी हत्या गरेको आरोपमा खरिदार रामचन्द्रलाई २०५६ असोज १९ गते ५ महिना ११ दिन कैद सजाय फैसला सुनाएको थियो । घटनाताका रामचन्द्र तत्कालीन जीवनपुर गाउँपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत थिए । उक्त घटनामा संलग्न अन्य १० जना अझै फरार छन् । धुनीबेंसी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले अदालतको फैसला कार्यान्वयन गराउन आफूले सहयोग गर्ने बताए ।


जिल्लामा करिब १२ सय मुद्दाका अभियुक्तसँग १ हजार ३ सय ८० वर्ष १० महिना १४ दिन कैद असुलउपर गर्नु पर्नेमा २ सय ५३ वर्ष ५ महिना ९ दिन कैद असुलउपर गरिसकेको र ३ करोड ६६ लाख ७५ हजार २ सय ९३ रुपैयाँ असुलउपर गर्नु पर्नेमा चालु आवमा करिब ३६ लाख असुल भइसकेको छ ।


प्रकाशित : माघ १६, २०७५ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्

छुट्टा छुट्टै अभियोगमा दुई पक्राउ 

हरि गौतम

रुकुम पश्चिम — फरक फरक दुई घटना संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार मुद्दामा अदालतबाट दोषी करार भएका १ जना र विद्यालयमा अभद्र व्यवहार गर्ने अर्को गरी २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बाँफिकोट गाउँपालिका–१ लागिमका ६३ वर्षीय भद्रबहादुर कामीलाई लुकीछिपी रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । कामी विरुद्ध परेको बलात्कारको मुद्दामा सुनुवाइ गर्दै तुलसीपुर उच्च अदालत दाङले दोषी ठहर गरी ५ वर्ष कैद सजाय तोकेको थियो ।

अदालतको फैसला भएदेखि नै फरार रहेका कामीलाई प्रहरीको विशेष टोलीले बुधवार उनकै गाउँबाट पक्राउ गरेको हो । २०७५ मङ्सिर २७ गते गरेको फैसलामा कामीलाई दोषी ठहर्‍याई ५ वर्षको कैद सजाय तोकिएको थियो ।

विद्यालयमा पुगेर शिक्षक र विद्यार्थीलाई अभद्र व्यवहार गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिका–१०को बालबोध आधारभूत विद्यालयको राहत कोटाका शिक्षक ४६ वर्षीय खिमलाल ओली पक्राउ परेका हुन् ।

मादक पदार्थ सेवन गरेर विद्यालयमा प्रवेश गरी अन्य शिक्षक/स्टाफ तथा विद्यार्थीमाथि अभद्र व्यवहार गरेको उजुरीको आधारमा शिक्षक ओलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कक्षा कोठामा पढाइरहेका शिक्षकलाई अश्लील गालीगलौज तथा विद्यार्थीको पोसाक समेत च्यातिदिएको विद्यालयले जनाएको छ । शिक्षक विरुद्ध प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, नैतिकता विरुद्धको कसुर मुद्दामा म्याद थप समेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

प्रकाशित : माघ १६, २०७५ १८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×