कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यान्सरलाई जितेकाहरूले काटे केक

रमेशकुमार पौडेल

चितवन — आठ वर्षअघि भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल छिर्दै गर्दा पोखराकी सरस्वती दाहाल अधिकारी सरुको मन ढक्क फुलेको थियो । पाठेघरको क्यान्सर भएर उपचारका गर्न छिर्दै गर्दा जिन्दगी आज हो कि भोलि हो भन्ने भाव जागेको थियो ।

बुधबार त्यही अस्पतालको सभा हलमा सरु थिइन् । उनमा रोगको कुनै संकेत थिएन । अनुहारमा मुस्कान थियो । हरपल उत्साहित देखिन्थिन् उनी ।


उनलाई पाठेघरको क्यान्सर भएको २०६७ सालको जेठमा पत्ता लाग्यो । भारतको राजीव गान्धी अस्पतालमा उनको सुरुको उपचार र शल्यक्रिया भयो । त्यसपछि उनी ०६७ सालको मंसिरमा भरतपुरको क्यान्सर अस्पताल आइन् । बाँकी सबै उपचार त्यही भयो । वर्ष दिनमा सबै उपचार पूरा भयो । बेला बेलामा उनी परीक्षणका लागि आउने गर्छिन् । अहिले क्यान्सर निको भएको छ । पाँच वर्षभित्र नबल्झिए रोग निको भएको मानिन्छ ।


बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभा हलमा सरु मात्रै हैन, उनीजस्ता धेरै थिए । त्यसमा पनि विशेष थिइन्, भरतपुर महानगरपालिका २२ पटिहानी पदमपोखरीकी ८१ वर्षीया आशा गुरुङ । उनलाई पाठेघरमा क्यान्सर भएको पत्ता लाग्दा भरतपुरमा भर्खर अस्पताल खुलेको थियो । त्यसैले सुरुमा उनी पनि भारत नै गइन् । भरतपुरमा उपचार सुरु भएपछि त्यो झन्झट पनि हट्यो ।


बुढेसकालमा क्यान्सर हुँदा पनि बाँचिन् । उपचार गरे क्यान्सर निको हुन्छ भन्ने गतिलो उदाहरण योभन्दा अरु के होला । क्यान्सर अस्पतालमा रहेको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागले पाठेघरमा क्यान्सर भई भरतपुर अस्पतालमा नै उपचार गरी निको भएका नवलपुर, चितवन र मकवानपुर र पोखराका २० जना भेला गरायो । क्यान्सरपछि पनि जीवन सम्भव छ भन्ने सन्देश दिन जन्म दिनमा काटिने केक काटियो ।


उनै ८१ वर्षीया आशा गुरुङले केक काटिन् र सबैलाई बाँडिन् । क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यले सबैलाई अबिर लगाइदिए, फूलको गुच्छा दिए अनि दोसल्ला ओढाएर सम्मान गरे । जनवरी महिनालाई विश्वभर पाठेघरको मुखको क्यान्सरविरुद्धको अभियानका रूपमा मनाइने गरिन्छ । त्यही सन्दर्भमा क्यान्सर अस्पतालमा पनि कार्यक्रम भएको हो ।


पाठेघरको मुखको क्यान्सर

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यका अनुसार पाठेघरको मुखको क्यान्सर लाग्नै नदिने सजिला उपाएहरू छन् । यदि लागेको हो भने पनि सुरुमै पत्ता लाग्ने विधिहरू पनि छन् । सुरुमै रोग पत्ता लागेर उपचार गरे पाठेघरको मुखको क्यान्सर लगभग पूर्ण रूपमा निको हुने डा.आचार्यले बताए । तर नेपालमा यस्तो हुने गरेको छैन ।


अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला शिवाकोटीका अनुसार पाठेघरको मुखको क्यान्सर प्रमुख १० क्यान्सर रोगमध्ये पर्दछ । भरतपुरको अस्पतालमा सन् २०१७ मा कुल चार हजार ९ सय ७५ क्यान्सर रोगीहरूको उपचार भएको थियो । जसमध्ये पहिलो नम्बरमा फोक्सोको क्यान्सर हुने रोगीहरू ५ सय ७४ जना र दोस्रोमा पाठेघरको क्यान्सर हुने ५ सय ४४ जना रहेको शिवाकोटीले जानकारी दिए ।


‘कुनै कुनै वर्ष त पहिलो स्थानमै पाठेघरका क्यान्सर भएका बिरामीहरूको संख्या पुग्दछ । महिलालाई मात्रै हुने यो क्यान्सर नेपालमा बढ्दो छ,’ शिवाकोटीले भने । उनका अनुसार वर्षमा विश्वभर पाँच लाख ७० हजार महिला पाठेघरको मुखको क्यान्सरका कारणले मर्दछन् । तीमध्ये ९० प्रतिशत महिला नेपाल जस्ता कम विकशित देशका हुने गरेको शिवाकोटीको भनाइ छ ।


विभागका जनस्वास्थ्य अधिकारी रश्मी मुल्मीका अनुसार कम उमेरमा बिहे, कम उमेरमै यौनसम्पर्क, कम उमेरमै बच्चा जन्माउने र एकभन्दा बढी यौनसाथी भएका महिलालाई यस्तो क्यान्सर हुने सम्भावना रहन्छ । यौन अंगमा हुने सूक्ष्म जीवाणु हयुमन पापिलोमा भाइरस (एचपीभी) पनि पाठेघरको मुखको क्यान्सर गराउने कारण हो । खानपान, चुरोट बिँडी, रक्सी, यौन रोग, गुप्तांगको सरसफाइ अभावले पनि क्यान्सर हुन सक्छ । ‘९० प्रतिशत कारण हाम्रो आफ्नै जीवनशैली र रहनसहन हो,’ मुल्मीले भनिन् ।


अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यका अनुसार परीक्षण गर्ने हो भने १० वर्षपछि पाठेघरको मुखको क्यान्सर हुने अवस्था छ भने कुरा पनि पहिल्यै पत्ता लाग्दछ । भीआईए परीक्षणबाट यस्तो थाहा हुन्छ । जुन परीक्षण क्यान्सर अस्पतालमा छ र । समुदायमा गएर पनि तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सजिलै गर्न सकिने अवस्था छ । पाठेघरको क्यान्सरको उपचार अरूको भन्दा सस्तो पनि छ ।


क्यान्सर जितेका महिलाहरूले समाजमा यस्तो सन्देश पुर्‍याउन सक्ने कार्यक्रममा सहभागीहरूले बताए । अस्पतालले महिला स्वयंसेविकाहरूका लागि पनि क्यान्सर सम्बन्धी प्रशिक्षणहरू दिँदै आएको छ । ‘क्यान्सर जटिल खालको रोग हो । यसलाई लुकाउनुपर्छ भनेर मानिस यहाँ दैलोको अस्पताल छाडेर विदेश पुगेका छन् । तपाईंहरू यही उपचार गरेर निको भएर सचेतना जगाउने काममा पनि जुट्नुभएको छ । जुन हदैसम्मको महान् काम हो,’ अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यले भने ।

प्रकाशित : माघ १०, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?