मितेरी पुलको पुनर्निर्माण धमाधम

बलराम घिमिरे

रसुवा — रसुवागढी नाकामा रहेको नेपाल र चीन जोड्ने मितेरी पुलको पुनर्निर्माण धमाधम भइरहेको छ । तिब्त इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एन्ड ब्रिजले मितेरी पुलको पुनर्निर्माणलाई तीव्रता दिएको छ ।

भूकम्पले क्षति पुर्‍याएको नेपाल–चीन जोड्ने मितेरी पुल पुनर्निर्माण हुने भएपछि काम चलाउका लागि अस्थायी बेलिब्रिज निर्माण गरिँदै । तस्बिर : कान्तिपुर

२०७२ वैशाख १२ गतेको भूकम्पले उक्त पुलमा क्षति पुगेको थियो । भूकम्पको बेला पहिरोसँगै आएको ढुंगा लागेर मितेरी पुलको बीच भागमा ठूलो प्वाल पारेको छ । क्षति पुगेको पुलमाथि अस्थायी फलामेपुल राखेर यातायात सञ्चालन गरिएको छ । भूकम्पले क्षति पुर्‍याएको पुल भत्काइनेछ ।

पुरानो पुलभन्दा ५ मिटर उत्तर–पूर्वमा नयाँ पुल निर्माण हुनेछ । अहिले सञ्चालनमा रहेको पुल भत्किने भएपछि तल्लो भागबाट अस्थायी बेलिब्रिज राखेर यातायात सञ्चालन गर्नका लागि तयारी भइरहेको छ । पुलको जग खन्ने काम पनि सुरु भएको छ । चीन सरकारको पूर्ण सहयोगमा पुलको पुनर्निर्माण हुन लागेको हो ।

पुलको पुनर्निर्माण गर्न नेपाल सरकार र चिनियाँ सरकारबीच सन् २०१८ जुन २१ मा सहमति पत्रमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमण गर्दा सहमति पत्रमा हस्ताक्षर भएको हो । उक्त पुल चीन सरकारले पुनर्निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गत भदौ २३ गते ल्हासाबाट मितेरी पुलको शिलान्यास गरेका थिए । सन् २०१९ मे महिनामा पुल निर्माण सम्पन्न गर्ने चिनियाँ पक्षले बताएको छ । पुलको लम्बाइ ११० मिटर र चौडाइ १२ मिटर हुनेछ । पुल निर्माणका लागि आवश्यक सहजीकरण गर्न दुवै देशका स्थानीय अधिकारीहरूबीच बैठक सम्पन्न भएको छ ।

मितेरी पुलको पुनर्निर्माणले चीन सरकारको ‘वान वेल्ट वान रोड’ को अवधारण र व्यापार सहजीकरणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित : पुस १७, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्

अव्यवस्थित बन्दै मन्थली बसपार्क

टीकाप्रसाद भट्ट

रामेछाप — जिल्ला सदरमुकाम मन्थलीको बसपार्क दिनानुदिन अव्यवस्थित बन्दै गएको छ । धूलो र फोहोरले बसपार्क कुरूप बनेको छ । 

मन्थलीको गडुबारीमा रहेको बसपार्क । तस्बिर : टीकाप्रसाद/कान्तिपुर

दुई वर्षअघि निर्माण थालिएको उक्त बसपार्कको बाँकी काम अलपत्र छ । तत्कालीन सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय र मन्थली नगरपालिकाले दुई वर्षअघि बसपार्कलाई व्यवस्थित बनाउने भन्दै करिब १ करोड खर्चेका थिए ।

करोड खर्चेको बसपार्कमा थप कामका लागि कुनै बजेट विनियोजन भएको छैन । सहरी विकासका लागि खर्च गर्दै आएको सहरी विकास डिभिजन कार्यालय खारेज भएको छ भने नगरपालिकाले बसपार्क बनाउने योजना अलपत्र छाडेको छ । नगरपालिकाबाट यसअघि भएको लगानीलाई सदुपयोग गर्नका लागि पनि बसपार्कको थप कार्य गराउनुपर्ने स्थानीयको माग छ ।

स्थानीय जयप्रकाश श्रेष्ठका अनुसार बसपार्क र आसपासको क्षेत्र धुलाम्मे छ । बसपार्कभन्दा माथिल्लो भागमा घडेरी खार्दा आएको माटोले दुई वर्षअघि गरेको कामसमेत पुरेको छ । पहिले गरेको काम अहिले देखिँदैन धूलो र हिलोले छोपेको छ । उक्त क्षेत्र हुँदै बग्ने खोला नियन्त्रण नगरेसम्म बसपार्क व्यवस्थित बन्दैन । विगतमा खोलाले बनाएको बगरमा बसपार्क पर्छ ।

उक्त बगर हुँदै बग्ने खोलाको निकास छैन । सहरीकरण नहुँदासम्म स्थानीय किसानको खेतगडुबारीमा खोलाको भल पस्ने गरेका थियो । पछिल्लो समय गडुबारीमा समेत घरहरू निर्माण भएका छन् ।

खोलाकै बगरमा घर बन्ने क्रम पनि बढेको छ । खोलामा बाढी आउँदा सक्नेलेआफ्नातिरबाट अर्कोतिर फर्काउने चलनले खोलाको निकास कता हो ? भन्ने अन्योल छ । सहरी विकास तथा भवन निर्माण विभागले बनाएको गुरुयोजनामा बसपार्क क्षेत्रमा व्यवस्थित पार्किङ, टिकट काउन्टर, सार्वजनिक शौचालय, पसलसहितको व्यवस्था छ ।

उक्त गुरुयोजनाअनुसारको काम गर्न अझै करोडौं खर्च लाग्छ ।उक्त खर्च कुन निकायले गर्ने भन्ने टुंगो छैन । मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुरखड्काले यो वर्ष मन्थली बसपार्कका लागिबजेट विनियोजन नभएको बताए । बसपार्कसँगै जोडिएका बस्तीका बासिन्दा हिउँदमा धूलो र वर्षायाममा हिलोका कारण प्रताडित छन् ।

‘बसपार्कलाई चाँडो व्यवस्थापन गर्नका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्‍यो,’ स्थानीय सविता श्रेष्ठले बताइन् । उनले खोलाको वहावलाई मन लागि फर्काउँदा आसपासको बस्ती जोखिममापरेको बताइन् ।

प्रकाशित : पुस १७, २०७५ ०७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT