कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अव्यवस्थित बन्दै मन्थली बसपार्क

टीकाप्रसाद भट्ट

रामेछाप — जिल्ला सदरमुकाम मन्थलीको बसपार्क दिनानुदिन अव्यवस्थित बन्दै गएको छ । धूलो र फोहोरले बसपार्क कुरूप बनेको छ । 

अव्यवस्थित बन्दै मन्थली बसपार्क

दुई वर्षअघि निर्माण थालिएको उक्त बसपार्कको बाँकी काम अलपत्र छ । तत्कालीन सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय र मन्थली नगरपालिकाले दुई वर्षअघि बसपार्कलाई व्यवस्थित बनाउने भन्दै करिब १ करोड खर्चेका थिए ।


करोड खर्चेको बसपार्कमा थप कामका लागि कुनै बजेट विनियोजन भएको छैन । सहरी विकासका लागि खर्च गर्दै आएको सहरी विकास डिभिजन कार्यालय खारेज भएको छ भने नगरपालिकाले बसपार्क बनाउने योजना अलपत्र छाडेको छ । नगरपालिकाबाट यसअघि भएको लगानीलाई सदुपयोग गर्नका लागि पनि बसपार्कको थप कार्य गराउनुपर्ने स्थानीयको माग छ ।


स्थानीय जयप्रकाश श्रेष्ठका अनुसार बसपार्क र आसपासको क्षेत्र धुलाम्मे छ । बसपार्कभन्दा माथिल्लो भागमा घडेरी खार्दा आएको माटोले दुई वर्षअघि गरेको कामसमेत पुरेको छ । पहिले गरेको काम अहिले देखिँदैन धूलो र हिलोले छोपेको छ । उक्त क्षेत्र हुँदै बग्ने खोला नियन्त्रण नगरेसम्म बसपार्क व्यवस्थित बन्दैन । विगतमा खोलाले बनाएको बगरमा बसपार्क पर्छ ।


उक्त बगर हुँदै बग्ने खोलाको निकास छैन । सहरीकरण नहुँदासम्म स्थानीय किसानको खेतगडुबारीमा खोलाको भल पस्ने गरेका थियो । पछिल्लो समय गडुबारीमा समेत घरहरू निर्माण भएका छन् ।


खोलाकै बगरमा घर बन्ने क्रम पनि बढेको छ । खोलामा बाढी आउँदा सक्नेले आफ्नातिरबाट अर्कोतिर फर्काउने चलनले खोलाको निकास कता हो ? भन्ने अन्योल छ । सहरी विकास तथा भवन निर्माण विभागले बनाएको गुरुयोजनामा बसपार्क क्षेत्रमा व्यवस्थित पार्किङ, टिकट काउन्टर, सार्वजनिक शौचालय, पसलसहितको व्यवस्था छ ।


उक्त गुरुयोजनाअनुसारको काम गर्न अझै करोडौं खर्च लाग्छ । उक्त खर्च कुन निकायले गर्ने भन्ने टुंगो छैन । मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले यो वर्ष मन्थली बसपार्कका लागि बजेट विनियोजन नभएको बताए । बसपार्कसँगै जोडिएका बस्तीका बासिन्दा हिउँदमा धूलो र वर्षायाममा हिलोका कारण प्रताडित छन् ।


‘बसपार्कलाई चाँडो व्यवस्थापन गर्नका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्‍यो,’ स्थानीय सविता श्रेष्ठले बताइन् । उनले खोलाको वहावलाई मन लागि फर्काउँदा आसपासको बस्ती जोखिममा परेको बताइन् ।

प्रकाशित : पुस १७, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?