विपद् व्यवस्थापन कोषबाट जनप्रतिनिधिलाई भत्ता- प्रदेश २ - कान्तिपुर समाचार

विपद् व्यवस्थापन कोषबाट जनप्रतिनिधिलाई भत्ता

भूषण यादव

वीरगन्ज — पर्साको कालिकामाई गाउँपालिकाका जनप्रतिनिधिले विपद् व्यवस्थापन कोषको रकमबाट एक/एक लाख रुपैयाँ अनुगमन र बैठक भत्ता लिएको पाइएको छ ।

विपद् व्यवस्थापन समितिबाट निर्णय गरि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र पाँच जना वडाध्यक्षले ७ लाख १७ हजार ९ सय रुपैयाँ भत्ता लिएका हुन् । गाउँपालिका प्रमुख नै समितिको समेत अध्यक्ष रहने व्यवस्था छ । यसैगरि गाउँपालिकाका कर्मचारीले जोखिम भत्ताको रुपमा ४ लाख ६३ हजार ५ सय रुपैयाँ लिएका छन् ।

गाउँपालिकाका स्वास्थ्य अधिकृत महेन्द्र चौरसियाका अनुसार कोरोना नियन्त्रण तथा रोकथामको क्रममा खटिएका जनप्रतिनिधि र कर्मचारीले भत्ता लिएका हुन् । गत भदौ ७ गतेदेखि कात्तिक पहिलो हप्तासम्म गाउँपालिकामा कोरोना परीक्षण भएको थियो । त्यसक्रममा एक हजार ३७ जनाको परीक्षण हुँदा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

‘६१ दिनसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा अनुगमन र बैठक गरेबापत जनप्रतिनिधिले कूल ७ लाख १७ हजार ९ सय रुपैयाँ र कर्मचारीले ४ लाख ६३ हजार ५ सय जोखिम भत्ता लिएका छन्,’ गाउँपालिका स्वास्थ्य प्रमुख योगेन्द्र प्रसाद चौरसियाले भने, ‘विपद् व्यवस्थापन समितिले निर्णय गरेर जनप्रतिनिधिले भत्ता लिएका हुन् ।’

कोरोना रोकथामका लागि विपद् व्यवस्थापन कोषबाट २३ लाख ४० हजार रुपैया“ निकासा भएको थियो । जसमध्ये ११ लाख ८१ हजार ५ सय रुपैयाँ जनप्रतिनिधि र कर्मचारीले भत्ताको रुपमा बाँडफाँड गरेका हुन् । भिटिएम खरिदमा ३ लाख ४८ हजार रुपैयाँ, दुईवटा एम्बुलेन्सको भाडा वापत ७६ हजार र औषधि तथा अन्य सामाग्री खरिदमा ७ लाख ५२ हजार रुपैयाँ खर्च भएको स्वास्थ्य अधिकृत महेन्द्र चौरसियाले जनाए ।

विपद् व्यवस्थापनको रकमबाट जनप्रतिनिधि र कर्मचारीले भागबण्डा मिलाएपछि स्थानीयले आलोचना गरेका छन् । कालिकामाई गाउँपालिका– १ मुर्ली निवासी राजेन्द्र कुमार कुर्मीका अनुसार जुन लक्ष्यका लागि बजेट प्रयोग गर्नुपर्ने थियो त्यसमा प्रयोग नगरि आपसी मिलेमतोमा दुरुपयोग गरिएको छ ।

‘सरकारी ठेक्का लगाउँदा पनि व्यवस्थापकीय खर्चका लागि १०/१५ प्रतिशत छुटयाउने गरिन्छ,’ नागरिक अगुवा समेत रहेका कुर्मी भन्छन्, ‘तर यहाँ त झन्डै आधा रकम भक्ताको नाममा बाँडफाँड गरिएको छ । जनताको हितमा भन्दा पनि व्यक्तिगत लाभका लागि विपतको रकम प्रयोग गरिएको छ ।’

विपद् व्यवस्थापनको निर्देशिका बमोजिम भक्ता लिएको जनप्रतिनिधिले जनाएका छन् । ‘विपद् व्यवस्थापनको रकम मानवीय हिसाबले पनि अनुगमन र बैठक भत्ताको रुपमा लिन मिल्दैन्,’ पालिकाका एक कर्मचारी भन्छन्, ‘तर, जनप्रतिनिधि अहिले आफैं सरकार भएका छन्, जे निर्णय गरे पनि हुन्छ भन्ने मानसिकता विकसित भएको छ ।’

विपद् समितिका अध्यक्ष समेत रहेका गाउँपालिका प्रमुख नथुनी प्रसाद कुशवाहाले अन्य गाउँपालिकाले पनि अनुगमन र बैठक भत्ता लिएपछि आफू पनि निर्णय गर्न वाध्य भएको खुलाउँछन् । ‘नजिकैको छिपहरमाई गाउँपालिका र अन्य पालिकाका जनप्रतिनिधीले भत्ता नलिएको भए हामी पनि लिदैन्थ्यो,’ कान्तिपुरसँग फोनमा अध्यक्ष कुशवाहाले भने, ‘अरुले पैसा लिने अनि हामी चाँहि सित्तैमा काम गर्ने भन्न थाले, पार्टीगत कुरा पनि छ, सबै मिलाउन गाह्रो छ, गाउँपालिका बोर्डमा हाम्रो बहुमत पनि छैन् ।’

गाउँपालिका बोर्डको बहुमतले पास गर्ने हो । ‘नियमले मिलेन भने महालेखाले बेरुजु गरिदिन्छ,’ उनले भने, ‘अनि सबैले तिर्छन् ।’

प्रकाशित : मंसिर ८, २०७७ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्

महानगरीय ट्राफिक महाशाखा प्रमुखमा भट्टराई

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी हेर्ने निकाय महानगरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व परिवर्तन भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालको ठाउँमा महाशाखाको प्रमुखको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराई आएका छन् ।

महाशाखामा साेमबार एक कार्यक्रमको आयोजना गरी भट्टराईको स्वागत र ढकालको बिदाइ गरिएको छ । बिदाइ समारोहमा वरिष्ठ उपरीक्षक ढकालले आफ्नो कार्यकालमा आफूले उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण काम गरेको बताए ।

नवनियुक्त प्रमुख भट्टराईले उपत्यकामा हुने ट्राफिक जाम र दुर्घटना कम गर्न भएका कामहरुलाई आफूले निरन्तरता दिने बताए । विगतमा पनि आफूले मशाखाका अन्तर्गत रहेर काम गरेको उल्लेख गर्दै उनले सवारी जाम र दुर्घटना न्यूनीकरण आफूले पहिलो प्राथमिकतामा राख्ने बताए । ढकालको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । उनले महाशाखा प्रमुख भएर १५ महिना ट्राफिक प्रहरीको नेतृत्व गरेका थिए ।

कार्यक्रममा अधिकृत र जवान गरी १९ जना ट्राफिक प्रहरीलाइ पुरस्कृत गरिएको छ ।

प्रकाशित : मंसिर ८, २०७७ १८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×