कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोलबजार नगरपालिकाले थाल्यो खेलग्राम निर्माण

भरत जर्घामगर

सिरहा — गोलबजार नगरपालिकाले जिल्लामै पहिलोपटक खेलग्राम निर्माण थालेको छ । नगरले २ नम्बर वडास्थित गुरुधाममा ५२ बिघा क्षेत्रफलमा खेलग्राम बनाउन लागेको हो । 

गोलबजार नगरपालिकाले थाल्यो खेलग्राम निर्माण

७ बिघा जग्गामा दक्षिण र उत्तरतिर दुईवटा प्यारापिट निर्माण गरिएको छ । यस वर्ष पूर्वाञ्चल खेलकुद विकास समितिको ३१ लाख रुपैयाँ लगानीमा प्यारापिट बनाइएको हो । त्यसै गरी दक्षिणतिरबाट प्रदेश सरकारको ६५ लाख रुपैयाँ लागत र नगरपालिकको १५ लाख रुपैयाँ साझेदारीमा प्यारापिट बनाइँदै छ । नगरपालिकाका खेलकुद प्रशिक्षक कसम लामाका अनुसार यस वर्ष ६५ लाख रुपैयाँमध्ये ३४ लाख रुपैयाँ निकासा भएको छ । ‘एक स्थानीय तह एक खेलग्राम’ योजनाअन्तर्गत काम थालिएको नगरपालिकाले जनाएको छ ।

त्यसै गरी ९० लाख रुपैयाँ लागतमा गोलबजार नगरपालिका–४ मा कभर्डहल निर्माण गरिएको छ । नगर प्रमुख देवनाथ साहले जिल्लामै खेलक्षेत्रमा उदाहरणीय बन्न ५२ बिघा क्षेत्रफलमा क्रिकेट मैदान, स्विमिङ पुल, भलिबल कोर्ट निर्माण गर्न गुरुयोजना बनाइएको जानकारी दिए । ‘जिल्लामै स्टेडियम छैन,’ उनले भने, ‘खेलकुदको विकासका लागि गुरुयोजना बनाएर अघि बढेका छौं ।’ नगरपालिकाका अनुसार एकै थलोमा सबै खेल खेलाउन मिल्ने गरी पूर्वाधार बनाउन लागिएको हो ।


धनगढीमाईमा पनि कभर्ड हल

लकडाउनकै बीच धनगढीमाई नगरपालिकाले पनि खेलकुदका पूर्वाधार तयार गरेको छ । नगरले वडा नं ३ मा ५० लाख रुपैयाँ लागतमा कभर्ड हल बनाएको छ । प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले खेलक्षेत्रको जगेर्ना गर्न लकडाउनकै अवधिमा भए पनि कभर्ड हल निर्माण गरिएको बताए । उनका अनुसार प्रशासनिक भवन, विद्यालय भवन, स्वास्थ्य चौकी, मदन भण्डारी स्मृति पार्क, रिटेनिङ वाल निर्माणलगायत संरचना पनि बनाइएका छन् ।

प्रकाशित : भाद्र ३१, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?