कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

कोरोनामुक्त भएको खुसीमा वडाध्यक्षले मोटरसाइकल ऱ्याली निकाल्दा झडप

शिव पुरी

रौतहट — रौतहटको गुजरा नगरपालिका–६ का वडाध्यक्ष सकिल अन्सारीले कोरोना संक्रमणमुक्त भई घर फर्केको खुसीयालीमा गाउँमा मोटरसाइकल र्‍याली निकाल्दा मंगलबार राति झडप भएको छ । निषेधाज्ञाको अवज्ञा गर्दै उनले ठूलो संख्यामा र्‍याली निकालेपछि स्थानीय नागरिकसँग झडप भएको हो ।

कोरोनामुक्त भएको खुसीमा वडाध्यक्षले मोटरसाइकल ऱ्याली निकाल्दा झडप

कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको खुसीयालीमा २० वटा मोटरसाइकलमा ४० जना जतिको समूहमा र्‍याली निकालेका वडाध्यक्ष अन्सारीको समूह र स्थानीयबीच राति झडप भएको हो । उनले गाउँमा र्‍याली निकाल्दा स्थानीयले ढुंगामुडा गरेका थिए । झडपमा दुवै पक्षका ७ जना घाइते भएको इलाका प्रहरी चन्द्रनिगाहपुले जनायो ।

वडाध्यक्ष अन्सारीलाई कोरोना संक्रमण पुष्टि भएपछि भदौ ९ गते चाँदीपार्क आइसोलेसन कक्षमा राखिएको थियो । एक सातापछि उनको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसैको खुसीयाली मनाउन ६ नम्बर वडाको खतवैया गाउँमा मोटरसाइकल र्‍याली गरिरहेको अवस्थामा स्थानीयले विरोध गर्दा दुवै पक्षबीच ढुंगा हानाहान भएको इलाकाका डीएसपी हेमबहादुर शाहीले बताए ।

घाइतेको स्थानीय मेडिकल र केहीलाई चन्द्रपुर अस्पताल ल्याइएको छ । स्थिति नियन्त्रणमा लिन इलाका प्रहरीबाट इन्सपेक्टर नितेश सिंहको कमान्डमा थप सुरक्षाकर्मी खटिएको छ । वडाध्यक्ष अन्सारीले निषेधाज्ञाको उल्लंघन गर्दै ठूलो जमातमा र्‍याली गर्न थालेपछि आफ्नै वडाका मानिसहरु आक्रोशित भएका थिए ।

इलाका प्रहरीका अनुसार झडपमा वडाध्यक्ष पक्षका खतवैया गाउँका सदिक अन्सारी, शारदा देवी, प्रमिला चौधरी, वकिल अन्सारी, मोजमिल अन्सारी घाइते भएका छन् । उनीहरुको निधार, हात र दाँतमा चोट लागेको छ ।

झडपमा स्थाानीय जयदा खातुन, शेष नसिब घाइते भएका छन् । उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेको आरोपमा इलाका प्रहरीले राति नै केहीलाई पक्रेर अनुसन्धान थालेको छ ।

प्रकाशित : भाद्र १७, २०७७ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?