प्रहरीविरुद्ध सिम्रौनगढ बजारमा नेकपाको प्रदर्शन
बारा — जिल्लाको निषेधित क्षेत्र सिम्रौनगढ बजारमा नेकपाले ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुखविरुद्ध मंगलबार प्रदर्शन गरेको छ ।
व्यापारीसित साँठगाँठ भारतबाट सामान ल्याउनेलाई सघाएको, विभिन्न अपराधिक घटनाका अभियुक्तहरुलाई पक्राउ नगरेको, निर्दोष नागरिकलाई पक्राउ गरि कुटपिटसँगै अमानवीय व्यवहार गरेको भन्दै प्रदर्शन गरिएको नेकपाका सिम्रौनगढका नगर संयोजक गगनदेव कुसवाहाले बताए ।
सिम्रौनगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरेन्द्र तामाङविरुद्ध नेकपाका कार्यकर्ताहरुले प्ले कार्ड बोकेर बजारमा प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
भारतीय सीमा नाकासँग जोडिएको सिम्रौनगढ क्षेत्र प्रहरीको बाह्य आयस्रोतमा आकर्षक ठाउँ मानिन्छ । कोरोना भाइरसको संक्रमण रोक्न स्थानीय प्रशासनले प्रदर्शन गरिएको उक्त क्षेत्रमा एक सातादेखि निषेधाज्ञा जारी गरेको छ ।
‘प्रहरी कमाउ धन्दामा केन्द्रीत भएको र मुद्दाका अभियुक्तहरुलाई पक्राउ नगरेपछि बाध्य भएर प्रदर्शन गरिएको हो,’ नेकपाका नेता गोपाल ठाकुरले भने, ‘गृह मन्त्रीदेखि मन्त्रालयका अधिकारीहरु र जिल्लाका प्रहरी प्रमुखलाईसमेत यो विषयमा गुनासो गर्दा सुनुवाई भएन, प्रहरी निरीक्षकले पनि अटेरी गर्नुभयो ।’
यसैबीच प्रहरी निरीक्षक तामाङलाई सोमबार नै जिल्ला प्रहरी कार्यालयमा तानिएको छ । नेकपाले प्रदर्शन गर्ने भएपछि सोमबार रातिदेखि प्रहरीले सीमामा कडाइ गरेको थियो । ‘प्रदर्शनको तयारी हुन थालेपछि प्रहरीले कडाइ गर्यो,’ एक व्यापारीले भने ।
प्रहरी निरक्षक तामाङले झुठो आरोप लगाएर आफूविरुद्ध प्रदर्शन गरेको दाबी गरे ।
प्रकाशित : श्रावण २७, २०७७ १८:३५