कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना पोजिटिभ अघि नै सद्‌गत

अजित तिवारी

जनकपुर — उच्च ज्वरो लागेर मृत्यु भएका धनुषाका एकजनामा सद्‌गत गरिएको अर्को दिन मात्र कोरोना भाइरस पोजिटिभ देखिएको छ । उच्च ज्वरो लागेपछि घरमै रहेका धनुषा ललियाका ५० वर्षीय बिन्देश्वर मण्डलको आइतबार उपचारका लागि जनकपुर ल्याउने क्रममा मृत्यु भएको थियो ।

कोरोना पोजिटिभ अघि नै सद्‌गत

प्रादेशिक प्रयोगशाला जनकपुरको रिर्पोटअनुसार उनमा सोमबार कोरोना भाइरस पुष्टि भएको हो । धनुषा प्रहरीले उनको सम्पर्कमा आएका सबैलाई पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ गर्न आग्रह गरेको छ ।

धनुषाका एसपी रमेश बस्नेतले मृतक जनकपुरको विनय तारा फाउन्डेशन क्यान्सर अस्पतालका सुरक्षा गार्डमा कार्यरत थिए । उनलाई आइतबार त्यही अस्पतालमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको थियो । मृतक मण्डलको आइतबार स्वाब संकलन गरेर सद्‌गतका लागि शव नेपाली सेनालाई जिम्मा लगाइएको थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मृतक शंकास्पद रहेकाले स्वाब संकलन गरेर शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाइएको बताए । ‘रिर्पोट सोमबार आयो । तर, उनमा कोरोना भाइरसको धेरैजसो लक्षण देखिएकाले आइतबार नै शव व्यवस्थापन गरिएको हो ।’

रिर्पोट नआएसम्म शव व्यवस्थापन गर्ने वा नगर्ने विषयमा आइतबार जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुखहरुबीच छलफल भएको थियो । ‘रिर्पोट नआएसम्म शव व्यवस्थापन नगर्न धेरैको सल्लाह थियो,’ बैठकमा सहभागी एक सुरक्षा अधिकारीले भने, ‘तर कहाँबाट के भयो । सेनालाई शव बुझाउने निर्णय गरियो ।’

प्रकाशित : श्रावण २६, २०७७ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?