कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेशनल मेडिकल कलेजलाई कोरोना अस्पताल बनाउने निर्णय

भूषण यादव

वीरगन्ज — जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले नेसनल मेडिकल कलेजलाई कोभिड-१९ अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

नेशनल मेडिकल कलेजलाई कोरोना अस्पताल बनाउने निर्णय

जिल्लामा कोभिड १९ का संक्रमितहरुको बढ्दो संख्याका कारण संक्रमितका उपचार र व्यवस्थापनको लागि हाल सञ्चालनमा ल्याइएका दुईवटा कोभिड अस्पतालको बेड संख्या प्रयाप्त नदेखिकाले कलेजलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्न केन्द्रको शुक्रबार बसेको बैठकले निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले मेडिकल कलेज उपयुक्त देखिएकाले उक्त अस्पताललाई कम्तिमा ३ सय बेडको कोभिड-१९ उपचार व्यवस्थापन गर्ने अस्पतालको रुपमा सञ्चालन गर्न लगाउने र यसमा थप पहल एवं समन्वयको लागि केन्द्रीय संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जनाए ।

नारायणी अस्पतालमा कार्यरत ३८ जना स्वास्थ्यकर्मीहरु संक्रमित भई आकस्मिक बाहेक नियमित सेवा प्रवाह अवरुद्ध भएकाले थप स्वास्थ्यकर्मीको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ । नेपाल राष्ट्र बैंक वीरगन्ज शाखालाई स्वास्थ्य र सुरक्षा सम्बन्धी प्रोटोकलहरुको पालना हुने गरी अति आवश्यक सेवा प्रवाहमा असर नपर्ने गरी न्यूनतम रुपमा भए पनि बैंकिङ सेवा प्रवाहको व्यवस्था मिलाउन लगाउने र खाद्य तथा किराना पसलहरु समेत स्वास्थ्य र सुरक्षाको सबै शर्त र मापदण्डको अनिवार्य रुपमा पालना गर्ने शर्तमा भिडभाड नहुने गरी उचित समयमा खोल्न दिने निर्णय भएको छ ।

वीरगन्ज महानगरपालिका क्षेत्रमा साउन १० गतेदेखि र सदरमुकाम बाहिर साउन १९ देखि निषेधाज्ञा लगाइएको छ । अतिआवश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएकोमा बैंक र खाद्य तथ किराना पसल सञ्चालन गर्न निर्णय गरिएको हो ।

जिल्लामा कोभिड १९ संक्रमितहरुको संख्या बढ्दै गएकोले लक्षण नभएका तथा समान्य लक्षण भएका संक्रमितहरुको व्यवस्थापनको लागि थप सामुदायिक आइसोलेसन सेन्टरहरु सञ्चालन ल्याउने केन्द्रले निर्णय गरेको छ । सिद्धार्थ मावि, गोपाल मण्डली धर्मशाला, रानीसती धर्मशाला लगायतका सामुदायिक आइसोलस सेन्टरहरुको खाना, नास्ता लगायतको व्यवस्थापकीय खर्च व्यवस्थापनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई अनुरोध गने निर्णय भएको बस्नेतले बताए । तत्कालको लागि यसको खर्च तथा व्यवस्थापन जिल्ला प्रशासन कार्यालयले गर्ने भएको छ ।

वीरगन्ज महानगरपालिका क्षेत्रमा रहेका सामुदायिक आइसोलेसन सेन्टरहरुमा नारायणी अस्पतालको सुपरिवेक्षणमा रहने गरी स्वास्थ्यकर्मीको व्यवस्था वीरगन्ज महानगरपालिकाले गर्ने र यसरी स्वास्थ्यकर्मीहरु खटिएको अवस्थामा उनीहरुलाई सरकारले तोके बमोजिम जोखिम भत्ता तथा अन्य सुविधा उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस साथ अनुरोध गर्ने निर्णय भएको उनले बताए ।

प्रकाशित : श्रावण २४, २०७७ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?