कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘विज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको विशेष टोली  वीरगन्ज पठाऊ’

भूषण यादव

वीरगन्ज — पछिल्लो समयमा पर्सामा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएकोमा यहाँका प्रमुख राजनीतिक दलले संघीय सरकारसँग कारोना संक्रमण नियन्त्रण गर्न विज्ञ सहितको चिकित्सक र स्वास्थ्यकर्मीको विशेष टोली माग गरेका छन् ।

‘विज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको विशेष टोली  वीरगन्ज पठाऊ’

नेकपा, कांग्रेस, जनता समाजवादी पार्टी, प्रदेश सांसद, वीरगन्ज महानगरपालिका र नागरिक समाजको जिल्ला अगुवाहरुको बिहीबार वीरगन्जको नगरसभा गृहमा बसेको बैठकले कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गइरहेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै चिकित्सक र स्वास्थ्यकर्मीको टोली तत्काल वीरगन्ज पठाइ सम्पूर्ण व्यवस्थापन गरिदिन संघीय सरकारको स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको हो ।

कोभिड संक्रमण दिनहुँ देखिन थालेकाले वीरगन्जमा अहिले भएको कोभिड विशेष अस्पतालमा बेडको अभावमा भर्ना हुन नपाएर संक्रमित उपचारबाट बन्चित भएका छन् । कोभिड संक्रमितका लागि थप कोभिड अस्पतालको अत्यावश्यक भएकोले नेसनल मेडिकल तथा शिक्षण अस्पताल, बयोधा अस्पताल, वीरगन्ज हेल्थ केयर अस्पताल लगायत निजी अस्पतालमध्ये कुनैलाई लिएर अविलम्ब कोभिड अस्पतालको व्यवस्थापन र सञ्चालन गर्न संघीय सरकारसँग बैठकले माग गरेको नेकपाका प्रतिनिधि महेश दासले बताए ।

यसैगरी नारायणी अस्पतालको बन्द सेवा स्वास्थ्य सुरक्षा अप्नाएर सुचारु गर्न एवं नारायणी अस्पताललाई जनरल अस्पतालकै रुपमा सुचारु राख्न स्वास्थ्य मन्त्रालयसँग आग्रह समेत गरिएको छ । कोरोना संक्रमितको मृत्यु पछि सदगतमा स्थानीयले अवरोध गर्न थालेपछि विद्युतीय शव दाह गृह स्थापनाको पहल गर्ने बैठकले निर्णय गरेको छ । सम्पूर्ण सुरक्षा सतर्कता अपनाएर गरिने शवदाहमा कोही कसैले विरोध नगरिदिन समेत बैठकले अनुरोध गरेको नेकपाका दासले जनाए ।

साउनयता पर्सामा दुई सय ३ जना नयाँ संक्रमित थपिएका छन् । सात जनाको मृत्यु भइसकेको छ । कोरोना अस्पतालको आइसियुमा ४ जना उपचार गराइरहेका छन् ।

प्रकाशित : श्रावण १५, २०७७ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?