कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती र लालबकैयाको बाँध फेरि कटान

शिव पुरी

राैतहट — अविरल वर्षाले जलस्तर बढेसँगै वाग्मती र लालबकैया नदीले यस वर्ष पनि बाँध कटान गर्न थालेका छन् । स्थानीय बासिन्दा जुनसुकै बेला बाढी पस्न सक्ने भन्दै त्रासमा छन् ।

वाग्मती र लालबकैयाको बाँध फेरि कटान

बाढी बस्ती पस्न नदिन कटान क्षेत्रमा आइतबार सशस्त्र, नेपाली सेना र नेपाल प्रहरीले बोराको बाँध लगाएका छन् । सशस्त्र प्रहरी प्रदेश २ का डीआईजी राजु अर्यालले बौधीमाई र परोहा नगरपालिकाको तेजापाकड क्षेत्रमा लालबकैया नदीले झन्डै सय मिटर बाँध कटान गरेको बताए । ‘कटानबाट जोगाउन बोरा राख्ने काम गरेका छौं । नदीमा पानी बढ्नासाथ कटान बढ्छ,’ उनले भने, ‘बर्सेनि लालबकैया र वाग्मतीले डुबान र कटान गर्दै आएका छन् ।’

दुवै नदी नियन्त्रण गर्न भारत सरकारले निर्माण गरिदिएको बाँध ठाउँ/ठाउँमा चर्किएपछि यसपटक वाग्मती–लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुरले मर्मत गरेको थियो । राजदेवी नगरपालिकाको वाग्मती क्षेत्रमा पनि कटान सुरु भएपछि आइतबार रातिदेखि नै सुरक्षा निकायको पहलमा बोरा राख्ने काम भइरहेको छ । राजदेवी–३ चन्डियाका झगरु साहले वाग्मतीले सधैं दुःख दिने गरेको गुनासो पोखे । ‘पुरानो बाँध कटान गरेकाले डर लागेको छ,’ उनले भने, ‘कतिखेर भत्किन्छ, ठेगान छैन ।’


बाढीबाट हुने जनधनको क्षति रोक्न तत्कालीन जल–उत्पन्न प्रकोप विभागमार्फत भारत सरकारको सहयोगमा लालबकैया र वाग्मतीमा दुई दशकअघि ४४ किलोमिटर बाँध बनाइएको थियो । अहिले ठूलो भेल आए त्यसले थेग्न नसक्ने स्थानीयको भनाइ छ । गत वर्ष साउन २९ गते लालबकैयाको बाढीले इनरबारी क्षेत्रको झन्डै १ मिटर बाँध कटान गरेको थियो । यसले त्यहाँका ३/४ सय घर जोखिममा परेका थिए । भत्किएको ठाउँमा आयोजनाले ढुंगा राखेर तटबन्ध गरेको थियो । अहिले त्यस क्षेत्रमा खतरा टरे पनि पश्चिमी भेगका बैरिया, फतुहा, पोखरिया, तेजापाकड, खोरिया, बुटुवा लक्ष्मिनिया, इनर्वा, मर्यादपुर, गम्हरिया, बुनियाद क्षेत्रका स्थानीय त्रासमा छन् ।


वाग्मतीको पूर्व सर्लाहीतर्फ धुर्वा, महिनाथपुर, हरकठवा, मानपुर, हजरिया मलाह, राजघाट खर्सालको बाँध कटानको जोखिममा छ । यसले सदरमुकाम गौरसहित ब्रह्मपुरी, बेलबिछुवा, मुडवलवा, लक्ष्मिपुर, बसतपुर, भसेढवा, पिप्रालगायत दर्जन बस्तीमा बाढीको त्रास बढेको छ ।

प्रकाशित : असार २९, २०७७ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?