कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई थरी रिपोर्टले गौरका स्वास्थ्य कर्मचारी तनावमा 

शिव पुरी

रौतहट — कोरोना परीक्षणका क्रममा दुई खाले रिपोर्ट आएपछि गौरका स्वास्थ्यकर्मीहरु तनावमा देखिएका छन् । जनकपुर र हेटौंडा प्रयोगशालाबाट एउटै स्वाबको दुई थरी रिपोर्ट आएपछि स्वास्थ्य कार्यालय रौतहटका अधिकारीहरु ३ दिनदेखि तनावमा छन् ।

दुई थरी रिपोर्टले गौरका स्वास्थ्य कर्मचारी तनावमा 

जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले कोरोना पुष्टि गरेको रिपोर्टको थप परीक्षणका लागि हेटौंडा पठाउँदा त्यहाँ रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्यकर्मीहरु तनावमा परेका हुन् । विश्वस्त हुनका लागि केन्द्रीय प्रयोगशाला टेकुमा परीक्षण गर्न बिहीबार थप स्वाब संकलन गरिने भएको छ ।

एक साताअघि स्वास्थ्य कार्यालय गौरका २३ जनाको स्वाब संकलन गरेर जनकपुर पठाइएको थियो । पाँच दिन पछि १२ जनाको रिपोर्ट नेगेटिभ देखियो । त्यसको दुई दिन पछि ११ जनाको रिपोर्ट आएको थियो । ती मध्ये ५ जना पोजिटिभ आएको रिपोर्ट प्रयोगशालाले पठाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश साहले बताए । उनीहरु हाल अस्पतालमै कार्यरत छन् ।

‘हामीले पुनः स्वाब संकलन गरेर रातारात वाग्मती प्रदेशको प्रयोगशाला हेटौंडामा जाँचका लागि पठायौं,’ उनले भने,‘हेटौंडामा परीक्षण गर्दा पाँचै जनामा नेगेटिभ रिपोर्ट आयो । अब जनकपुरको ल्याबको कसरी विश्वास गर्नु ? ’

यो घटनाले जनकपुर प्रयोगशालामाथि गम्भीर प्रश्‍न उठाएको स्वास्थ्य कार्यालयका प्रमुख साहले सुनाए । २३ जनाकै स्वाब पुनः संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले अनुरोध गरेका छन् ।

जनकपुरको रिपोर्टपछि कन्ट्याक्ट ट्रेसिङ लगायतको काम सुरु गर्नुअघि पुनः अर्को ल्याबबाट परीक्षण गराएर हेर्ने निष्कर्ष पछि हेटौंडामा परीक्षण गर्न पठाइएको प्रमुख साहले सुनाए । तर रिपोर्टमा कोरोना नभएको आएपछि स्वास्थ्यका अधिकारीहरु दोधारमा परेका हुन् ।

गौर अस्पतालकै एक कर्मचारीको छोरामा केही दिनअघि संक्रमण पुष्टि भएपछि असार ११ गते स्वास्थ्यका २३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

एक महिनाअघि पनि भारतबाट फर्किएका बृन्दावन नगरपालिका ६ का एक व्यक्तिको स्वाब परीक्षण गर्दा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरले नेगेटिभ रिपोर्ट आएको बताए पनि १० दिनपछि टेकुमा परीक्षण गर्दा ती व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको थियो । घट्नापछि ल्याबमा हुने परीक्षणको गुणस्तरमाथि प्रश्न उठेपछि बीचमा बन्द गरिएको थियो ।

अहिले नयाँ आरटी पीसीआर मेसिन जडान गरेर ल्याब पुनः सञ्चालनमा ल्याइएको छ । जिल्ला स्वास्थ्य प्रमुख साहले टेकुको पनि रिपोर्ट पोजिटिभ आयो भने जनकपुरको ल्याब बन्द गर्नु पर्ने जिकिर गरे ।

प्रकाशित : असार १७, २०७७ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?