कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

वीरगन्जमा वडाध्यक्षकै निर्देशनमा एक परिवारलाई समाजबाट बहिष्कार

भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगर–२१ परवानीपुरमा वडाध्यक्षकै संलग्नतामा एक परिवारलाई समाजबाट बहिष्कार गरिएको छ । उक्त परिवारले कोरोनाका बेला मस्जिदमा धेरै जना भेला नहुन भन्दा आफूहरूलाई समुदायबाट अलग गरिएको आरोप लगाएको छ ।

वीरगन्जमा वडाध्यक्षकै निर्देशनमा एक परिवारलाई समाजबाट बहिष्कार

वडाध्यक्ष हबिब मियाँले आफ्नै समुदायका राजमहमद मियाँको परिवारसँग कुनै लेनदेन र सहयोग नगर्न टोलबासीलाई उर्दी गरेका हुन् । आइतबार परवानीपुर मस्जिदछेउ स्थानीयसहितको बैठक डाकी उनले राजमहमदको परिवारलाई साथ दिने र सहयोग गर्नेलाई पनि त्यही कारबाही गर्ने निर्णय गराएका छन् ।

जेठ १२ गते इदका दिन राजमहमद, उनका छोरा र श्रीमतीले मस्जिदका इमाम मौलानालाई गालीगलौज तथा हातपात गरेको वडाध्यक्षको आरोप छ । इदपछि पनि त्यस्तै व्यवहार दोहोर्‍याएपछि आइतबार भेला बसी समाजबाट अलगथलग गर्ने निर्णय भएको भेलाको माइन्युटमा उल्लेख छ ।

राजमहमदले भने कोरोना महामारीका कारण इदका दिन मस्जिदमा ५ जनाभन्दा बढी भेला भई नमाज नपढ्न सरकारले गरेको आह्वानविपरीत वडाध्यक्षलगायत करिब ५० जना व्यक्ति भेला भएकाले विरोध गरेको बताएका छन् । ‘इदका दिन वडाध्यक्ष हबिब मियाँ र खुस महमद मियाँले हामी मस्जिदको कोषाध्यक्ष र जमाती अमिर हौँ, हामीलाई तिमीले सिकाउन पर्दैन, हामीलाई जे मन लाग्छ त्यही गर्छौं भनेपछि विरोध गरेका हौँ,’ उनले भने, ‘विरोधपछि मस्जिदबाट सबै जना निस्केर वडाध्यक्षको घरअगाडिको खाली जग्गामा नमाज पढेका थिए ।’

त्यही रिसइबीमा आफ्नो परिवारलाई जात–समुदायबाट अलग गरी गाउँकालाई आफ्नो परिवारसँग कुनै लेनदेन, खानपिन र व्यवहार नगर्न उर्दी गरिएको उनको भनाइ छ । ‘कोरोना नफैलोस् भनेर मैले सामाजिक कुरा नै गरेको हुँ,’ कान्तिपुरसँग उनले भने, ‘तर, मलाई नै समाजबाट निकाल्ने निर्णय गरे ।’

उनले आफूहरूलाई दुर्व्यवहार गरेकाले वडाध्यक्ष, जमातीका अमिरलगायत १६ जनामाथि कारबाहीको मागसमेत गरे । ‘कुनै जात समूह वा वर्णको हिसाबले कसैले कसैलाई छुवाछुत वा भेदभाव गरी जातबाट निकाला गर्न हुँदैन भन्ने कानुनी व्यवस्था छ,’ उनले भने, ‘अहिले त्यो पुरानो जमाना छैन ।’

प्रकाशित : असार १, २०७७ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?