कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीमा संक्रमितको संख्या बढ्दै, छैन आइसोलेसन कक्ष

अवधेशकुमार झा

राजविराज — कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या सप्तरी जिल्लामा बढ्न सुरु भएका बेला संक्रमितलाई राख्न आइसोलेसन कक्षको अभाव भएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कुल २२ जना संक्रमितलाई राख्ने क्षमताको आइसोलेसन बेड बनाइएकोमा संक्रमितको संख्या बिहीबार दिउसोसम्म २९ पुगेपछि बाँकी ५ जनालाई कहाँ राख्ने भन्ने समस्या भएको छ । 

सप्तरीमा संक्रमितको संख्या बढ्दै, छैन आइसोलेसन कक्ष

सप्तरी जिल्लामा बिहीबार साँझसम्म २९ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार सप्तरीमा सबभन्दा बढी बोदेवरसाइन नगरपालिकामा २० जना संक्रमित फेला परेका छन् । यसैगरि डाकनेश्वरी नगरपालिका र वलान बिहुल गाउँपालिकामा ३–३ जना तथा सुरुङगा नगरपालिका, खडग नगरपालिका र बिष्णुपुर गाउपालिकामा १–१ जना संक्रमित भेटिएको स्वास्थ्य प्रमुख यादवले बताए ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा कुल १७ जना संक्रमित राख्ने आइसोलेसन बेड रहेकोमा बिहीबार संक्रमित थपिएपछि २२ जना अट्ने बेडा बनाइएको हो । जिल्ला स्वास्थ्य प्रमुख यादवले तत्कालका लागि ती ७ जना संक्रमितलाई बोदेवरसाइन नगरपालिकाको क्वारेन्टाइन स्थलमै अलग्गै कोठामा राख्ने गरि ब्यबस्था मिलाइएको बताए ।

संक्रमितको संख्या बढ्न थालेपछि राजविराजस्थित साईकृष्ण मेडिकल कलेजको पूरानो भवनमा आइसोलेसन कक्ष बनाउने तयारी गरिएको छ । प्रदेश सरकारको लगानीमा नेपाली सेनाले आइसोलेसन कक्ष निर्माणको व्यवस्थापन गरिरहेको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भइसकेकाहरुलाई क्वारेन्टाइनस्थलमै राखिँदा त्यहाँ रहेका अन्य व्यक्तिमा समेत संक्रमण फैलिन सक्ने खतरा बढेको छ । संक्रमणको त्रास बढेको दुई महिनाभन्दा बढी बितिसक्दा पनि गजेन्द्रनारायण सिंह अस्पतालबाहेक अन्य स्थानमा आईसोलेसन कक्ष निर्माणमा तदारुकता नदेखाइएका कारण अहिले आएर संक्रमितलाई राख्ने स्थानको अभाव भएको हो ।

प्रकाशित : जेष्ठ १५, २०७७ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?