सीमाबाट समात्दै सिधै क्वारेन्टाइनमा
रौतहट — कोभिड-१९ को संक्रमण बढ्दै गएपछि जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएको क्वारेन्टाइनमा भारतबाट आउनेको संख्यामा ह्वात्तै बढेको छ । रोजगारीका लागि भारत गएकाहरु धमाधम घर फर्कन थालेका छन् । प्रशासन र स्थानीय तहले उनीहरुलाई सीमाबाट समात्दै सिधै क्वारेन्टाइन लैजाने गरेको छ ।
जिल्लाका १८ वटा स्थानीय तहले स्थापना गरेको ४८ वटा क्वारेन्टाइनमा आइतबारसम्म २ हजार ५ सय ५४ जनालाई राखिएको छ । पछिल्लो तिन दिनयता संख्या ह्वात्तै बढेको हो । सबैभन्दा बढी ईशनाथ नगरपालिकाको क्वारेन्टाइनमा ७ सय नेपाली भारतबाट आएर बसेका छन् । त्यस्तै राजपुर नगरपालिकाको मदरसाहा क्वारेन्टाइनमा ६ सय ८१ जना छन् ।
जिल्ला प्रशासन कार्यालय गौरका अनुसार मौलापुरमा २८, गुजरामा ५६, चन्द्रपुरस्थित महिला फुटबल एकेडेमीको क्वारेन्टाइनमा ७३, वृन्दावन र गढीमाईमा १ सय २५, माधव नारायणमा ४८, गौरमा १ सय ४, राजदेवीमा ६२, परोहामा १ सय ५०, देवाही गोनाहीमा २ सय ७१, बौधीमाईमा ५८, कटहरियामा १ सय २, फतुवाविजयपुरमा १०, गरुडामा ५३, यमुनामाई गाउँपालिकामा ६४ र दुर्गा भगवतीमा ३३ जना रहेका छन् । देवाहीगोनाही धरहरीमा रहेको जय किसान पोलिटेक्निकल इनस्टिच्युट क्वारेन्टाइनमा पाकिस्तानबाट आएका ९ जना धर्मगुरुहरु पनि बसेका छन् । जिल्लामा अहिले ४० बेडको आइसोलेसन वार्डमात्र छ । चन्द्रपुरमा २४ बेडको काम धमाधम हुँदै छ ।
अहिले आइसोलेसनमा एक महिलासहित १८ जना कोरोनो संक्रमितलाई राखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । ‘पछिल्लो समय भारतका विभिन्न सहरबाट घर फर्केनेहरुको लर्को लागेको छ,’ उनले भने, ‘क्वारेन्टाइनमा बस्नेको संख्या हेर्दा अझै आइसोलेसन वार्ड बनाउनुपर्ने देखिएको छ । स्थानीय तहमा निर्माणका लागि पहल थालेका छौं ।’
जिल्लाको विभिन्न गाउँबाट रोजगारीका लागि भारत गएकाहरुमा अहिले विभिन्न माध्यमबाट घर फर्केका छन् । भारतमा जारी लकडाउन केही खुकुलो बनाइएपछि उनीहरु घर फर्कन पाएका हुन् । प्रशासनले भारतबाट नेपाल फर्कनेको संख्या अझै बढ्न सक्ने अनुमान गरेको छ । सुरुमा दुवै देशमा लकडाउन जारी रहेको र सीमा सिल गरिएकाले चोरबाटो हुँदै जिल्ला प्रवेश गरेका थिए । त्यस्तालाई सुरक्षाकर्मीले पक्रेर सिधै क्वारेन्टाइन लैजाने गरेको थियो । त्यसबेला चोरबाट हुँदै लुकेर केही गाउँघरमै बसे । यसरी बस्दा समुदायमा कोरोनाको संक्रमण फैलिने जोखीम बढेको भन्दै स्थानीय प्रशासनले मुख्य बाटोबाटै आउन अनुरोध गरेको थियो । त्यसपछि भारतबाट आएकाहरुलाई सिधै क्वारेन्टाइनमा लैजाने व्यवस्था मिलाएका हो । पछिल्लोपटक कोरोनाको संक्रमण देखिएका १८ जना भारतबाट आएकाहरु हुन् ।
अहिले भारतका विभिन्न सहरबाट एम्बुलेसन्स, ट्रयाक्टर, खाद्यान्न बोक्ने ट्रक र पैदल भित्रनेहरु बढेका छन् ।
प्रकाशित : जेष्ठ ११, २०७७ १६:१८