कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जंगली जनावर मार्न थापेको पासोमा परेर एक गम्भीर घाइते

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको घुर्कौलीमा जंगली जनावर मार्न थापेको पासोमा परेर बिहीबार राति एक जना गम्भीर घाइते भएका छन् । खुट्टामा भरुवा बन्दुकको छर्रा लागेर गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि भरतपुर पठाइएको छ ।

हरिवन नगरपालिका–५ घुर्कौलीका १८ वर्षीय राजेन्द्र महतोको घरमा बिहीबार घरायसी विवाद भएको थियो । त्यसै क्रममा महतोले आफ्नै भाउजुको टाउको समेत फुटाएका थिए । प्रहरी आएको खबर पाउनासाथ महतो बारीबाट भाग्ने क्रममा भरुवा बन्दुकको पासोमा पर्दा बन्दुकको छर्रा लागेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । खुट्टामा बन्दुकको छर्रा लागेका महतोलाई हरिवनमा समान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

बारीमा लगाइएको भरुवा बन्दुकको पासोको बारेमा महतोलाई जानकारी थिएन । बन्दुकको पासो कसले लगाएको भन्ने बारेमा पनि खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस क्षेत्रमा अझै पनि जंगली वन्यजन्तुको चोरी सिकारी गर्नका लागि अवैध रुपमा रहेको भरुवा बन्दुकको पासो लगाउने गरिएको छ । कतिपय किसानले बाली जोगाउन खेतमा करेन्ट लगाउने, बाँसको भाटामा डोरी अथवा जाली लगाएर खेतबारी घेर्ने लगायतको उपाय अपनाउँदै आएका छन् ।

प्रकाशित : वैशाख १९, २०७७ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?