कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्लाहीमा सय जनाको स्वाब संकलन

ओमप्रकाश ठाकुर

सर्लाही — जिल्लाको धनकौलका एक किशोरमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीयसहित सय जनाको थ्रोट स्वाब संकलन गरिएको छ । धनकौल गाउँसहित जिल्लाका अन्य स्थानीय तहका केही स्थानमा अझै स्वाब संकलन भइरहेको छ । सबै स्वाब शनिबार बिहान काठमाडौं लगिने स्थानीय प्रशासनले जनाएको छ । 

सर्लाहीमा सय जनाको स्वाब संकलन

गत शुक्रबार र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणमा पोजिटिभ देखिएका ती किशोरलाई पीसीआर जाँचका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । त्यहाँ गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण नभेटिएपछि उनलाई घर फर्काइएको थियो । तर त्यहाँका चिकित्सकलाई शंका लागेर थ्रोट स्वाब थप परीक्षणको लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउँदा किशोरको रिपोर्ट पोजिटिभ आएको छ । घर गएका किशोरबाट थप संक्रमण भएको वा नभएको पत्ता लगाउन केन्द्रबाट स्वास्थ्यको एक टोलीसमेत जिल्ला आएको छ ।

ती टोलीले कोरोना पुष्टि भएका धनकौलका किशोरको परिवारसहित २५ तथा चन्द्रनगर गाउँपालिकाका क्‍वारेटाइनमा रहेका ७५ जना गरी एक सय जनाको स्वाब संकलन गरेको छ । लकडाउन जारी भएपछि चन्द्रनगरमा भारतबाट लुकीछिपी ७५ जना आएका थिए । भारतबाट आएकाहरुलाई गाउँपालिकाले क्‍वारेन्टाइनमा राखेको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले कोरोना पुष्टि भएका किशोरको गाउँलाई सिल गरिसकिएको जानकारी दिए । ‘कोरोना संक्रमण पुष्टि भएको किशोरको परिवारसहित उनको परिवारको सम्पर्कमा आएका २५ जनाको स्वाब संकलन गरेका छौं,’प्रजिअ जिसीले भने, ‘चन्द्रनगरका पनि ७५ जनाको स्वाब संकलन भएको छ, अब हामी ईश्वरपुरतिर लाग्दै छौं, त्यहाँको संकलन गरेर भोलिसम्म टोली काठमाडौं पठाउने छौं ।’ती किशोरलाई उपचारका लागि वीरगन्ज पठाइएको छ । उनका परिवारका ५ जनालाई स्थानीय तहको क्‍वारेन्टाइनमा राखिएको छ ।

प्रहरी स्रोतका अनुसार किशोर भारतको नयाँदिल्लीमा ब्याग बनाउने कम्पनीमा काम गर्दै आएका थिए । लकडाउन जारी भएपछि एक एम्बुलेन्समा रौतहटको गौर नजिकको गाउँ आइपुगेका किशोर चोरबाटो हुँदै चैत २३ गते सर्लाही आइपुगेका थिए । भारतबाट घर आउँदै गरेको जानकारी प्रहरीमा पुगेपछि ती किशोरलाई प्रहरीले बीच बाटोबाटै गाउँपालिकाको क्‍वारेन्टाइनमा राखेको थियो । क्‍वारेन्टाइनमा बस्दै आएका किशोरमा आरडीटी रिपोर्ट पोजिटिभ आएपछि स्थानीय प्रशासनले कोरोनाको प्रादेशिक अस्पतालमा पठाएको थियो ।

गत आइतबार अस्पतालबाट डिस्चार्ज गरिएका किशोरलाई थप दुई दिन होम क्‍वारेन्टाइनमा राखिएको थियो । बुधबारबाट किशोर सामान्य अवस्थामा फर्केका थिए ।

प्रकाशित : वैशाख १२, २०७७ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?