कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

राहत वितरणमा विवाद बढ्दै 

झडपमा वडा सदस्य घाइते
अवधेशकुमार झा

राजविराज — लकडाउनले मर्कामा परेका विपन्नलाई राहत वितरणका क्रममा जिल्लाका विभिन्न स्थानमा विवाद देखिएको छ । कतै झडप भएर जनप्रतिनिधि नै घाइते भएका छन् त कतै वितरण नै स्थगन गर्नुपरेको छ । केही स्थानमा अहिलेसम्म वडास्तरीय संयन्त्र नै गठन हुन सकेको छैन ।

आइतबार कञ्चनरूप नगरपालिका–८ मा भएको विवादमा एक समूहको आक्रमणबाट जनप्रतिनिधि घाइते भए । इलाका प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार वडा सदस्य सञ्जय पासमानमाथि आक्रमण भएको हो । टाउको फुटेर चारवटा टाँका लगाइएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । उनलाई जोगाउन गएका भाइ सुरेश पासमान पनि घाइते छन् ।

स्थानीयले आफूले पनि पाउनुपर्ने, राहत आवश्यक नभएकाको नाम पनि सूचीमा राखिएको भन्दै विवाद झिकेपछि त्यहाँ वितरण नै स्थगित गरिएको छ ।

डाकनेश्वरी नगरपालिका–८ मा पनि सोमबार राहत वितरणका क्रममा विवाद भएको छ । स्थानीय र जनप्रतिनिधिबीच तनाब बढेपछि सुरक्षाकर्मीले तत्काल स्थिति नियन्त्रणमा लिएको थियो । अहिले त्यहाँ राहत वितरण स्थगन गरिएको नगरप्रमुख शिवनारायण साहले बताए ।

बलान–बिहुल गाउँपालिकामा अध्यक्ष दयानन्द गोइत र उपाध्यक्ष रुबी गुप्ताबीचको द्वन्द्वले राहत वितरण प्रभावित भएको छ । छिन्नमस्ता गाउँपालिकामा वडास्तरीय समितिसम्म बन्न सकेको छैन । विष्णुपुर गाउँपालिकामा अझै नाम संकलन नै चलिरहेको छ ।

राहत वितरणका लागि वडाध्यक्षको संयोजकत्वमा राजनीतिक दल, सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको समिति बनाइएको छ । कतिपय स्थानमा समितिका सदस्यले आआफ्नो पार्टीका मानिसको नाम राख्नुपर्ने भन्दै अडान लिने गरेका छन् । कतै मापदण्डमा नरहेकाहरूलाई पनि राजनीतिक आस्थाका आधारमा राहत दिइने गरेको छ ।

प्रकाशित : वैशाख ८, २०७७ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोखरा विमानस्थलको ऋण अनुदानमा परिणत गर्न सरकारले पत्राचार गरेको छ । अब चीनले के गर्ला ?

×