२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

कुहिएको दाल बाँडेको आरोपमा दुई वडाध्यक्ष पक्राउ

लक्ष्मी साह

(बारा) — गुणस्तरहीन दाल खरिद गरी राहत बाँडेको आरोपमा कलैया उपमहानगरपालिकाका दुई वडाध्यक्ष र एक वडा सचिवसहित पाँच जना पक्राउ परेका छन् ।

कुहिएको दाल बाँडेको आरोपमा दुई वडाध्यक्ष पक्राउ

कलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए । मिल सञ्चालक जैनलाई काठमाडौंको कीर्तिपुर नगरपालिका–२ स्थित घरबाट र अन्यलाई जिल्लाबाटै नियन्त्रणमा लिइएको हो ।

आधा दर्जन वडाका सयौं परिवारलाई कुहिएको दाल बाँडिएको गुनासो आएपछि स्थानीय प्रशासनले कोल्डस्टोरबाट र राहत बाँडेको दाल परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको थियो । गुण नियन्त्रण कार्यालयले दाल गुणस्तरहीन भएको पुष्टि गरेपछि प्रहरीले अनुसन्धान गर्न थालेको हो । प्रहरीले कोल्डस्टोरमा भण्डारण गरिएको ३ सय ८० बोरा दाल सिल गरेको छ ।

प्रकाशित : वैशाख ७, २०७७ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?