कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना उपचार गर्न एकसाथ ६ अस्पताल तयार पारिँदै

स्वाब परीक्षण वीरगन्जबाट पनि गर्ने तयारी 
अजित तिवारी

जनकपुर — कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको प्रदेश २ मा महामारीसँग जुझ्न ६ वटा अस्पताललाई कोभिड उपचार केन्द्रका रूपमा स्तरोन्नति गर्न एकसाथ काम थालिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले ६ वटा सरकारी अस्पताललाई स्तरोन्नति गरी ५०–५० शय्याका कोभिड उपचारयुक्त अस्पताल बनाउन लागेको हो ।

कोरोना उपचार गर्न एकसाथ ६ अस्पताल तयार पारिँदै

महोत्तरीको जलेश्वर अस्पताल, पर्साको पोखरिया, सप्तरीको भारदह, धनुषाको डुमरिया, बाराको कलैया अस्पताल र जनकपुरको प्रादेशिक अस्पतालकै परिसरमा रहेको नर्सिङ कलेजमा कोभिड अस्पताल बनाइँदै छ । यीमध्ये जलेश्वर, पोखरिया र भारदह अस्पताल १५ बाट ५० शय्याका बन्दै छन् । धनुषा, डुमरियाको स्वास्थ्य केन्द्रलाई पनि स्तरोन्नति गरेर ५० शय्याको बनाइने सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकारी दिए । बाराको कलैया अस्पताल ५० शय्याकै रहे पनि त्यहाँ भेन्टिलेटर र आइसीयूसहितका पूर्वाधार थपिने उनले बताए ।

‘कोभिड उपचारका लागि ६ वटै अस्पतालमा पूर्वाधार र प्राविधिक काम सुरु भइसकेको छ,’ साहले कान्तिपुरसँग भने, ‘जनकपुर नर्सिङ कलेजको भवनमा ५० बेडको थप आइसोलेसन वार्ड बनाइँदै छ ।’ कोरोनाको महामारी झाँगिए प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डले मात्र थाम्न नसकिने निष्कर्ष निकाल्दै मन्त्रालयले नर्सिङ कलेज परिसरलाई कोभिड उपचारकै लागि प्रयोग गर्न पूर्वाधार थपेको हो ।

संघीय सरकारले प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगन्ज र सगरमाथा अस्पताल राजविराजलाई कोभिड उपचार केन्द्र बनाएको छ । यी तीन अस्पतालमध्ये नारायणी र सगरमाथा अस्पताल संघकै मातहत छन् । अब प्रदेश सरकारले आफ्नै मातहतमा कोभिड उपचार केन्द्र स्थापना गर्न लागेको हो । ‘प्रदेशका सबै जनशक्ति र पूर्वाधार कोभिड नियन्त्रण र उपचारमै केन्द्रित छन्,’ साहले भने, ‘सरकारी अस्पताललाई बजेटको कमी हुन दिएका छैनौं ।’

सामाजिक विकास मन्त्रालयले सरकारी अस्पतालहरूलाई कोभिड विशेष उपचार केन्द्रमा परिणत गर्न जलेश्वर अस्पताललाई ८ करोड, कलैया अस्पताललाई ७ करोड, सिरहा अस्पताललाई ८ करोड, प्रादेशिक अस्पताल जनकपुरलाई २२ करोड रुपैयाँ उपलब्ध गराएको छ । ‘अरू अस्पताल रकम माग गर्ने क्रममा छन्,’ मन्त्री साहले भने, ‘मन्त्रालयकै बजेटबाट खर्चको व्यवस्थापन मिलाइएको छ ।’

अस्पताललाई आवश्यक सामान खरिदको सबै प्रक्रिया मिले पनि लकडाउनले जहाज र कार्गो नचल्दा समयमै स्वास्थ्य उपकरण ल्याउन मुस्किल भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार नेपालमै उपलब्ध समान जुटाएर काम चलाइँदै छ ।

संघबाटै वीरगन्जमा पीसीआर

एकैपटक ३ जनामा कोरोना भाइरस पुष्टि भएपछि संघीय सरकारले आफ्नो मातहत रहेको वीरगन्जको नारायणी अस्पताललाई स्वाब परीक्षणका लागि पीसीआर मेसिन उपलब्ध गराएको छ ।

कोरोना भाइरसको उच्च जोखिम रहेको वीरगन्जमै स्वाबको परीक्षण गराउन सरकारले दैनिक करिब ३ सय जनाको परीक्षण हुने पीसीआर मेसिन बुधबार पठाएको हो । प्रदेश सरकारमार्फत हस्तान्तरण हुने भनिए पनि संघले अस्पताललाई सीधै प्रदान गरेको छ । मेसिन बुझ्न सामाजिक विकास मन्त्रालयका कर्मचारी काठमाडौं गए पनि संघीय सरकारले नारायणी अस्पताललाई नै सिधै दिइने बताएको थियो ।

पीसीआर मेसिनबाट आइतबारदेखि परीक्षण थालिने नारायणी अस्पतालले जनाएको छ । अहिले पीसीआर मेसिन राख्ने ल्याबको काम भइरहेको छ । अब प्रदेश २ मा कोरोना भाइरसको स्वाब परीक्षण जनकपुर र वीरगन्ज दुई ठाउँबाट हुने भएको छ ।

प्रकाशित : वैशाख ५, २०७७ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?