
गौशाला, महोतरी — मरहा खोलामा गिट्टी कुटेर गुजारा चलाउने गौशाला–५ मुसहर टोलकी रामकली देवी सदाको दैनिक ज्याला तीन सातादेखि ठप्प छ। आम्दानी बन्द भएपछि छिमेकीसँग मागेर खाएकै दुई साता बित्यो।

जब बुधबार दिउँसो घरमै राहत सामग्री लिएर गौशाला उद्योग वाणिज्य संघको टोली आइपुग्यो, ५५ वर्षीया रामकलीको आँखा रसाए। फुसको भत्केको छाप्रोभित्र सुत्ने चटाइ, माटोको ओभानो चुल्हो र भाँडो देखाउँदै उनले भनिन्,‘ बिहान खाए साँझ भोकै, साँझ खाए बिहान भोकै बस्नुपरेको थियो। राहतले १० दिनसम्म गुजारा चल्ने भयो।'
राहतमा चामल, दाल, आलु, सोयाबिन, खानेतेल, नुन, साबुन पाएपछि संघका अध्यक्ष रामराजा प्रसाद साहलाई धन्यवाद दिँदै रामकलीले भनिन्, ‘चुल्होचौका बन्द थियो। ऐंचोपैंचो गरेर जेतेन पेट भर्दै थियौं।' निर्वाचनमा मत माग्न दिनहुँ आउने नेता विपतको बेला नआएको भन्दै स्थानीयले असन्तुष्टि पोखेका छन्।
तीन सातादेखिको लकडाउनका कारण मजदुर, गरिब, विपन्न परिवार समस्यामा छन्। नगरपालिका र गाउँपालिकाले राहत वितरण गर्न ढिलाइ गरेपछि गरिब दलितलाई खाने व्यवस्था मिलाएको संघका अध्यक्ष रामराजा प्रसाद साहले बताए।
'व्यापारीहरुबाट संकलन गरिएको खाद्यान्न बस्तीमा वितरण गरिएको छ,' अध्यक्ष साहले भने, ‘कोरोनाको जोखिम मध्यनजर गर्दे प्रहरीको सहयोगमा दैनिक उपभोग्य सामान उपलब्ध गराएका छौं।’
यता गौशाला नगरपालिकाका प्रवक्ता भोजबहादुर दर्लामीले नगरपालिकाको बैठकले राहत वितरणका लागि वडाहरुमा बजेट पठाइएको बताए। गरिब, विपन्न र लकडाउनले समस्यामा परेका परिवारलाई राहत उपलब्ध गराउने तयारी गरेको उनको भनाइ छ।
प्रदेश २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न प्रदेश सरकारले एक साताअघि नै बजेट पठाएको थियो । तर, स्थानीय तहले राहत वितरणमा ढिलाइ गरेका छन्।
प्रकाशित : चैत्र २६, २०७६ १९:०४