सिरहाका दलित बस्तीमा छैन राहत 

भरत जर्घामगर

सिरहा — मजदुरीमा दिनभर खटेर गुजारा चलाउँदै आएका जिल्लाका दलित बस्ती लकडाउनको समस्यामा परेका छन् । लकडाउनका कारण १६ दिनदेखि मजदुरीमा खटन नपाउँदा जिल्लाका भूमिहीन सुकुम्बासी मुसहर परिवारलाई छाँक टार्न मुश्किल परेको छ ।

सिरहाका दलित बस्तीमा छैन राहत 

कतिपय छरछिमेकबाट चामल पैॅचो गरेर गुजारा चलाइरहेका छन् भने धेरैजसोको चुल्हो बल्न छोडेको छ ।


धनगढीमाई नगरपालिका १२ आहालेडाँडाका मुसहर बस्तीमा छाँक कसरी टार्ने भन्ने समस्या सुरु भएको छ । २१ घरधुरी भूमिहीन सुकुम्बासी मुसहर समुदायको बसोबास रहेको बस्तीका उनीहरु मजदुरीमा खटेर गुजारा चलाउँथे । काममा जान नपाएकाले उनीहरुलाई भोको पेटले सताउन थालेको छ ।


६० वर्षीय सुदवा सदाय मुसहरले अहिलेसम्म छिमेकीबाट पैॅचो ल्याएर छाँक टारेपनि अब छिमेकीले समेतपैॅचो दिन नसक्ने बताएपछि पीरलो बढेको गुनासो पोखे । ३ छोरीको विवाह भएपछि सुदवाको परिवारमा उनी र पत्नी देवी मात्र छन् । उनीहरुले मजदुरीमा खटेर गुजारा चलाउँदै आएका थिए ।


आहालेडाँडाजस्तै ४५ घरधुरीको बसोबास रहेको सीमलटोकी मुसहर बस्तीमा समेत छाँक टार्ने पीरलो बढेको छ । पूर्व–पश्चिम राजमार्गदेखि ५ किलोमिटर उत्तर गोलबजार नगरपालिका–१० स्थित घुर्मिखोला किनार धोवियाधारका ४० घर परिवारको बसोबास रहेको सदाय मुसहर बस्तीमापनि भोक कसरी टार्ने पीरलो बढेको छ । दैनिक ज्यालादारीले जीवन धान्दै आएका उनीहरु मजदुरीमा जान नपाएपछि समस्यामा परेका हुन् ।


मजदुरीमा जान नपाएपछि बस्तीका ३५ वर्षीय लालदेव सदायले तीन छोरी र पत्नीसहित पाँच जनाको परिवारको लागि चुल्होमा आगो बाल्न कठिन भएको सुनाए । ‘पेटले त भोक सहदैन्,’ उनले भने, ‘भोको पेटले आहारा माग्छ, पेट भर्न आहाराको जोहो छैन ।’


आहालेडाँडा, सीमलटोकी, धोबियाधार जस्तै सिरहामा दलित मुसहर समुदायमा छाँक टार्ने समस्या बढेकाले तत्काल राहतको व्यवस्था गर्नुपर्ने नेपाल राष्ट्रिय मुसहर संघका महासचिव रामस्वरुप सदाले बताए । तथ्यांक विभागका अनुसार सिरहामा मुसहर समुदायको जनसंख्या ३९ हजार ९ सय २९ छ ।


‘दलित मध्येपनि ज्याला मजदुरीमा खटेर गुजारा चलाउने मुसहर समुदाय लकडाउनको बढी मारमा परेका छन्,’ उनले भने, ‘दिनभर मजदुरीमा खटेर चामल किनेर चुल्हो बाल्ने उनीहरुका लागि स्थानीय तहले तत्काल खाध्यान्न उपलब्ध गराउन आवश्यक छ ।’


कोष खडा गर्दै स्थानीय तह


सिरहाका स्थानीय तहले भने सुकुम्बासी, दैनिक मजदुरीमा खटेर गुजारा चलाउने दलित परिवारका लागि राहत कोष खडा गरेका छन् । उनीहरुले आफूले खडा गरेको राहत कोष विभिन्न संघसंस्थालाई सहयोग गर्न आव्हान गरेका छन् । लहान नगरपालिकाले १ करोड र सिरहा नगरपालिकाले १ करोड १० लाखको कोष खडा गर्दै कोषमा सहयोग गर्न संघसंस्थालाई सहयोग गर्न आग्रह गरेका छन् ।


धनगढीमाई नगरपालिकाले नगर क्षेत्रका संघसंस्था, उद्योगलगायत मनकारीलाई सहयोग गर्न आग्रह गर्दै सूचना जारी गरेको छ ।


लहान नगरपालिकाले १०, १३, १५ र २४ वडाका १ हजार ७ सय ६९ विपन्न परिवारलाई बुधबार राहत वितरण गरेको जनाएको छ ।

प्रकाशित : चैत्र २६, २०७६ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?