कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना परीक्षण गर्न अस्पतालकै असहयोग

संघले पठाएको पीसीआर मेसिन अझै जडान भएन 
अजित तिवारी

जनकपुर — जनकपुरस्थित प्रादेशिक अस्पतालले सहयोग नगर्दा प्रदेश २ मा कोरोना भाइरस रोग (कोभिड–१९) को परीक्षणमा ढिलाइ भएको छ । अस्पतालले ल्याब राख्न बेलैमा ठाउँ उपलब्ध नगराएकाले संघीय सरकारले उपलब्ध गराएको पीसीआर मेसिन जडान नै हुन सकेको छैन ।

कोरोना परीक्षण गर्न अस्पतालकै असहयोग

मेसिन जडान र परीक्षणका लागि काठमाडौंको टेकु अस्पतालका तीन चिकित्सक जनकपुर आएका छन् । डा. सुरेन्द्र मधु नेतृत्वको उक्त टोलीलाई प्रादेशिक अस्पतालका चिकित्सक र कर्मचारीले सघाएका छैनन् । विभिन्न बहाना देखाउँदै अस्पताल प्रशासनले बुधबार साँझ मात्र ल्याब राख्न हल उपलब्ध गराएको छ । बिहीबार त्यहाँ विद्युत् जडानको काम भइरहेको छ ।

‘खुला स्पेसमा जिरोबाट काम गर्नुपर्ने भएकाले ल्याब सञ्चालनमा ल्याउन समय लागेको हो,’ प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डा. नागेन्द्र यादवले कान्तिपुरसँग भने, ‘हामी युद्धस्तरमा काम गर्दै छौं । बिहीबार साँझसम्म ल्याब सञ्चालनमा ल्याउने तयारी छ ।’ उनले काठमाडौंबाट सामान आउन नै ढिलाइ भएकाले ल्याब सञ्चालनमा समय लागेको दाबी गरे । तर, स्रोतका अनुसार प्रादेशिक अस्पतालका कर्मचारी र चिकित्सकले ल्याबको सामान जडान र सञ्चालनको सबै जिम्मा काठमाडौंबाट आएको टिमकै भएको भन्दै उनीहरूलाई असहयोग गरिरहेका छन् ।

काठमाडौंबाट आएको टोलीले यसबारे केन्द्रमा गुनासो सुनाइसकेको छ । टेकु अस्पतालकी निर्देशक डा. रुना झाले ल्याब स्थापनाका लागि प्राविधिक टिम पठाइए पनि किन ढिलाइ भयो भन्नेबारे थाहा नभएको बताइन् । ‘ल्याब सञ्चालनमा किन असहयोग भइरहेको छ, जनकपुरमै सोध्नुस्,’ उनले भनिन् ।


ल्याब सञ्चालनमा भइरहेको ढिलाइ र असहयोगबारे प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह र राज्यमन्त्री अभिराम शर्मालाई समेत जानकारी गराइएको छ । मन्त्री साहले अस्पतालका मेसु डा. यादव र अस्पताल विकास समितिका अध्यक्ष सञ्जय सिंहलाई ल्याब सञ्चालनमा सहयोग गर्न निर्देशन दिएपछि बिहीबार बिहानदेखि केही काम हुन थालेको हो ।

प्रदेशको स्वास्थ्य आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादवका अनुसार पीसीआर मेसिन चलाउन प्रादेशिक अस्पतालमा पनि दुई जना तालिमप्राप्त जनशक्ति छन् । ल्याब स्थापनापछि शंकास्पद व्यक्तिहरूको स्वाब परीक्षण गरिने प्रादेशिक अस्पतालले जनाएको छ ।

महाशाखाका निर्देशक डा. यादवले संघीय सरकारले उपलब्ध गराएको १ हजार थान पीपीई जिल्लाहरूमा वितरण गरिसकिएको बताए । जिल्लैपिच्छे ५०–५० थान पीपीई पठाइएको र बाँकी जनकपुरस्थित प्रादेशिक अस्पताललाई दिइएको उनले जानकारी दिए । प्रदेश २ मा १० हजार पीपीईको आवश्यकता रहेकोमा प्रदेश सरकारले थप खरिद गर्ने प्रक्रिया थालेको यादवको भनाइ छ । प्रदेश सरकारले धनुषाको गंगुलीमा निर्माण गरेको क्वारेन्टाइनमा २५ जना र जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा ५ जना छन् ।


प्रकाशित : चैत्र २०, २०७६ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?