कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट फर्केकाहरू घरमै लुक्छन्, क्वारेन्टाइनमा बस्नै मान्दैनन्

शिव पुरी

रौतहट — धान रोप्ने र काट्ने समयमा जिल्लाबाट धेरै मानिसहरू मजदुरीका लागी भारत जान्छन् । त्यसको अलवा मकै र गहुँको सिजनमा पनि पञ्जाब लगायत विभिन्न सहरमा काम गरेर ६-७ महिनापछि घर फर्कन्छन् ।

भारतबाट फर्केकाहरू घरमै लुक्छन्, क्वारेन्टाइनमा बस्नै मान्दैनन्

कोही लामो समयसम्म उतै बस्छन् । जिविकाको एउटा दरिलो उदाहरण भारतमा काम गर्ने पनि हो । तर पछिल्लो समय भारतका विभिन्न राज्यमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि त्यसरी भारत गएकामध्ये अधिकांश घर फर्केका छन् ।

संक्रमण भएको ठाउँबाट आएकाहरू क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । तर उनीहरू सबै घरमै लुकेर बसेका छन् । भारतबाट फर्केकाहरूलाई अभिभावकले नै लुकाएर राख्ने गरेको पाइएको छ ।

चन्द्रपुर ६ मेथियाहीका सुरज चौधरी भारतको बैंगलोरबाट दुई दिनअघि घर आएका हुन् । उनी आएदेखि घरभित्र लुकेर बसेका छन् । शनिबार उनलाई लिन गएको प्रहरी सहायक निरीक्षक टेकबहादुर लामाको टोलीलाई घरमै बस्ने भनेर प्रतिवाद गरे । चौधरीका परिवारका सदस्यले पनि घरमै बस्न दिनुपर्छ भनेर जिद्दी गरे ।

चन्द्रपुर सरकारी अस्पतालले घरमै बस्नु भनेर लेखेर दिएको कागज देखाएर चौधरी पन्छिए । उनले स्वास्थ्य जाँच गराएका छन् । चौधरी एउटा उदाहरणमात्र हुन् । भारतका विभिन्न सहरबाट घर फर्केका अधिकांश मानिस घरमै लुकेर बसेका छन् । शनिबारसम्म गौर चन्द्रनिगाहपुर लगायतमा स्थापना गरिएको क्वारेन्टाइनमा एक महिला सहित ६९ जना बसेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । ‘मानिसहरू आफैं सचेत हुनुपर्ने । कम्तिमा दुईसाता परिवारका सदस्यबाट अलग रहेर क्वारेन्टाइनमा बस्नुपर्नेमा लुकेर बस्ने गर्छन् ।’ प्रजिअ घिमिरले प्रशासनलाई जानकारी भएसम्मका मानिसलाई पायक पर्ने क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको जानकारी दिए । क्वारेन्टाइनमा बसेकाहरूको अवस्था समान्य रहेको घिमिरेले जनाए ।

रौतहटबाट रोजगारीका लागि भारत जानेको संख्या करिब १० हजार छ । तर यसको आधिकारिक तथ्यांक कोहीसँग छैन । त्यसरी भारत गएकाहरू कोरोना भाइरसको संक्रमण बढ्दै गए पछि विभिन्न नाका हुँदै जिल्ला आएका छन् । तीमध्ये थोरै मात्र स्थानीय प्रशासनको सम्पर्कमा आएर क्वारेन्टाइनमा बसेका छन् । बाँकी गाउँ-घरमै लुकेर बसेका छन् । भारतको केरला, मुम्बई, पञ्जाब, दिल्ली, पटनालगायत स्थानमा काम गर्न गएकाहरू फर्केर घरमै निर्धक्कले बसेका हुन् । उनीहरू मध्ये केहीमाथि समाजिक निगरानी बढाइएको प्रशासनले जनाएको छ ।

जिल्लामा गौर, बंकुल, लक्ष्मीपुर बेलबिछवा, औरैया लगायत भारतसँग सीमा जोडिएको ८ वटा खुला नाका छन् । पछिल्लो समय खुला नाकाबाट केही मानिस नेपाल प्रवेश गरेको पाइएको छ । प्रहरीले भ्याएसम्म त्यस्तालाई नियन्त्रणमा लिने गरेको छ ।

प्रकाशित : चैत्र १५, २०७६ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?