कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोही चैते धान रोप्दै, कोही तास खेलेर दिन काट्दै

अवधेशकुमार झा

राजविराज — कोभिड–१९ जोखिम नियन्त्रणका लागि लकडाउन भइरहेका बेला सप्तरी जिल्लाको ग्रामिण परिवेश भने सहर भन्दा फरक छ । कोरोना भाइरसको संक्रमणका विषयमा गाउँमा पनि जानकार रहेपनि लकडाउनको पालना भने ग्रामिण क्षेत्रमा भइरहेको छैन ।

कोही चैते धान रोप्दै, कोही तास खेलेर दिन काट्दै

अझै पनि महिलाहरु समूह बनाएर कृषि कर्मका लागिरहेका छन् । ग्रामिण महिलाहरु चैते धान रोप्न व्यस्त छन् भने मानिसहरु सरसौ र तोरी घर भित्र्याउन व्यस्त देखिएका छन् । कतैकतै घर निर्माणमा पनि मजदुरहरु जुटिरहेका छन् ।


आर्थिक रुपले सवल रहेका परिवारमा खाने समस्या नदेखिएपनि प्रतिकुल आर्थिक अवस्थाका परिवारमा भने लकडाउनको अवधिमा पेट पाल्न समस्या भएको छ । दिनभरी कमाएर राति चुलो बाल्नेहरुको परिवारका अहिलेको अवस्थाले निक्कै दुख दिएको तिलाठी कोईलाडी गाउँपालिका–८ तोपाका रामबिलास यादवले भने । ‘रोगले गरिब वा धनी कसैलाई चिन्दैन्, तर पेटले पनि रोग मान्दैन,’ उनले भने, ‘सरकारले विपन्नहरुको दैनिक गुजाराका विषयमा पनि सोच्नुपर्ने समय आइसकेको छ ।’ आफू घरमै बस्दा गाई गोरुलाई समस्या हुन थालेपछि ग्रामिण क्षेत्रमा गाईवस्तु चराउनका लागि पनि बिहान बेलुका निस्कनेको कमी छैन ।


लकडाउनका बेला ग्रामिण चोकहरुमा अझै पनि सामान्य रुपमा चहलपहल देखिन्छ । सुरक्षाकर्मीको बारम्बार आग्रहका बावजुद पनि ग्रामिण क्षेत्रमा सर्वसाधारण घरबाट बाहिर निस्कन छोडेका छैनन् ।


ग्रामिण क्षेत्रका चोकहरुमा प्रहरी पुगेर घर बाहिर निस्केकाहरुलाई लखेट्ने काम गरिरहेको भएपनि आन्दोलनका बेला जस्तो सर्वसाधारणहरु प्रहरी जाने बित्तिकै झुन्ड बनाएर सडकतर्फ देखिने गरेका छन् ।


लकडाउनका बेला घरबाहिर समेत निस्कन रोक लगाइएपछि ग्रामिण क्षेत्रमा अहिले धेरै युवा र बुढापाकाको रोजाईमा परेको छ तास खेल । चारजना भेला हुने र तास सुरु गर्ने अनि १० जना भन्दा बढी दर्शकको रुपमा त्यहाँ झुम्मिने गरेका छन् । तर तास खेल्न समूहमा रहेका बेला कोरोना संक्रमणबाट बच्न भने उपायको पालना गरिएको देखिँदैन । बिना मास्क एक मिटर भन्दा पनि कम दूरीमा बसेर तास खेल्दा संक्रमणको खतरा भने उत्तिकै रहेको छ ।



क्वारेन्टाइनमा ८७ जना


सप्तरी जिल्लास्थित विभिन्न स्थानीय तहहरुले निर्माण गरेको क्वारेन्टाइनमा शुक्रबार दिउँसो सम्ममा ८७ जनालाई राखिएको छ । विभिन्न मुलुकबाट पछिल्लो समय घर आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । जिल्ला जनस्वास्थ्य प्रमुख दुनियालाल यादवका अनुसार जिल्लाभरका कुल ३ सय ९९ शय्याको क्वारेन्टाइन कक्ष, विभिन्न अस्पतालमा ५६ शय्याको आइसोलेसन कक्ष तयारी अवस्थामा रहेको छ ।


रंगशालामा तरकारी बजार


लकडाउनका बेला पनि राजविराज नगरपालिकाको हटियामा तरकारी किन्नेहरुको बिहान–बेलुका भीड लाग्न थालेपछि नगरपालिकाले राजविराजस्थित राज रंगशालामा हरेक दिन बिहान ६ बजेदखि ९ बजेसम्म तरकारी खरिद बिक्रीका लागि व्यवस्था मिलाइएको छ । उक्त रंगशालामा भीड नगरी संयम र सभ्य तरिकाले दुई मिटरको दूरीमा मात्र खडा भइ मास्क लगाएर तरकारी खरिद बिक्रीका लागि नगरपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित : चैत्र १४, २०७६ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?