कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्युँतियो पुरानो चलन

कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न सर्लाहीसहित मधेस क्षेत्रमा पाहुना वा कुनै आगन्तुकलाई हातखुट्टा धुवाउने चलन फेरि सुरू भएको छ ।
प्रदेश ब्युरो

जनकपुर — दशक अघिसम्म तराई–मधेसमा पाहुँना आउँदा घरभित्र पस्नुअघि साबुन–पानीले हातखुट्टा धुन्नुपर्ने अनिवार्य चलन थियो । साबुन र पानी बाथरुममा सरेपछि तराई–मधेसको यो पुरानो चलन पनि हरायो । तर, कोरोना भाइरसको संभावित संक्रमणलाई रोक्न सर्लाहीमा साबुनपानीले घरको ढोकामै हातखुट्टा धुन्नुपर्ने चलन फेरि ब्युँतियाइदिएको छ ।

ब्युँतियो पुरानो चलन

बाहिरबाट आएका जो कोहीलाई पनि हात खुट्टा सफा गरेर मात्र घर प्रवेश गर्न दिन थालेका छन् । यहाँका स्थानीय कोरोना भइरसको सम्भावित संक्रमणबाट जोगिन व्यक्तिगत सरसफाइसहित घर आँगन सफासुग्घरमा समेत जुटेका छन् ।


कविलासी नगरपालिका–१ पिपरियाकी १३ वर्षीया प्रिजु कुमारी र उनकी हजुरआमा बैदेही देवीबीच तीन जेनेरेसनको फरक छ । उनीहरूबीच धेरै कुरा मिल्दैन । तर विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाबाट बच्न यी दुईबीच मत मिलेको छ । हजुरआमाले घर अगाडीको चापाकलमा सावुन राखेपछि यी दुवैको मत मिलेको हो । ब्यक्तिगत सरसफाइको यो काइदा दुवैले अपनाएका छन् । हजुरआमाले पुराना चलन सम्झेकी छन् भने नातिनी प्रिजुले नेपाल टेलिकमसहित विभिन्न संचार माध्यमबाट कोरोनको संक्रमणबाट बच्न सरसफाईमा ध्यान दिनु पर्ने सुनेपछि यो चलनलाई आत्मसात गरेकी हुन् ।


विद्यालय कोरोना भाइरसका कारण विदा भएपछि उनी घरमा बुवा आमालाई सरसफाइको काममा सघाउने गरेकी छन् । पुराना चलनमा उनले सेनिटाइजर थपेकी छन् । बाहिरबाट आएका जो कोहीलाई उनले हात खुट्टा धुन लगाई सेनिटाइजर हातमा हालेर मुछ्न लगाएपछि मात्र घर भित्र प्रवेश गर्न दिने गरेकी छन् ।


हजुरआमा बैदेही देवीले विभिन्न किसिमका किटानुबाट जोगिन यो चलन मधेसमा पहिलेदेखि नै चलिआएको बताइन् । उनले पछिल्लो समय सुविधाको नाममा सावुन बाथरुममा सिमित भइरहेका बेला कोरोनाको त्रासले नयाँ पुस्ताले पनि पुराना चलनमा सहमति जनाएको सुनाइन् । उनले बाहिरबाट आएका ब्यक्ती विभिन्न ठाउँमा उठ बस गरेको र कतिपय मानिससंग भेटघाट गर्दा किटानुहरू पनि सर्ने भएकाले यसबाट बच्न यो चलन चलाइएको जानकारी दिइन् ।


ग्रामिण क्षेत्रमा ब्यक्तिगत सरसफाई मात्र हैन कोरोनको कहरबाट बच्न घर आँगन सरसफाइमा स्थानीयले ध्यान पुर्‍याइरहेका छन् । यहाँ दिनहँ जस्तो अथवा एक दुइदिन बिराएर गाईको गोबरले घर आँगन लिपपोत गर्ने क्रम बढेको छ । गाईको गोबरले किटानु मार्ने भएकाले स्थानीयले यो उपाय अपनाएका हुन् । चिकित्सकहरूले समेत ग्रामिण क्षेत्रमा सरसफाइको पुराना चलन कोरोनाबाट बच्ने उपाय हुन सक्ने औल्याए ।


कोरोनाको संक्रमणबाट बच्न सरसफाई नै महत्वपुर्ण रहेको जिल्ला अस्पताल मलंगवाका डा. चन्दनराज शर्माले बताए । ‘कोरोनाबाट जोगिन बिश्व्ब्यापीरुपमा सरसफाईको नै अभ्यास भइरहेको छ, यो विभिन्न ब्यक्तीबाट सर्ने सरुवा रोग भएकाले मधेसमा परम्परादेखि चलिआएको सरसफाइको चलनले किटानुलाई घर भित्र प्रवेश गर्न दिँदैन,’ उनले भने, ‘पुराना चलनले हामी घर भित्र आरामले बस्न सक्छौं, संक्रमणको जोखिम न्यून हुन्छ ।’


यता विश्वब्यापी रूपमा फैलिरहेको कोरोना भाइरसबाट बच्न सतर्कता अझ बढाउँदै लैजाने निर्णय भएको छ । सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा शुक्रवार अवेरसाँझसम्म बसेको जिल्लाका उपलब्ध सरोकारवालाहरूको बैठकले सवै निकायबीच समन्वय गरि जिल्लामा कोरोना भित्रिन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको हो ।


धेरै भीडभाड हुने बजार क्षेत्रमा मानिसको उपस्थिती कम गर्न खाद्यान, माछा मासु, फलफुल, तरकारी लगायतका बस्तु बेग्ला बेग्लै ठाउँमा बिक्रीकालागि ब्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले जनाए । ‘सवैभन्दा बढी भिडभाड हुने ठाउँ बजार हो, एकै स्थानमा लाग्दै आएको बजारलाई टुक्रा गरेर लगाउन सवै स्थानीय तहलाई अनुरोध गरेका छौं,’ प्रजिअ जिसीले भने, ‘कोरोनाबाट बच्न आफुपनि सतर्कता अपनाउनु पर्छ २५ जनाभन्दा बढी एक ठाउँमा जम्मा नहोऔं र ब्यक्तिगत सरसफाईमा ध्यान दिउँ ।’


नमुना संकलन केन्द्र

राजविराज– कोरोना भाईरसको संभावित जोखिमबाट बच्न राजबिराजस्थिछ गजेन्द्र नारायण सिंह अस्पतालमा नमुना संकल्न र आइसोलेन वार्डको व्यवस्था गरिदैछ । कोरोनाको शंकास्पद विरामीहरूको नमुना संकलनका लागि व्यवस्था मिलाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । ‘नमुना संकलन गर्ने तालिम प्राप्त प्राबिधिक आईसकेका छन्’ उनले भने , ‘अब शंका लागेको खण्डमा नमुना संकलन गरि परिक्षणका लागि पठाउने ब्यबस्था गरेका छौ ।’ उनका अनुसार अस्पतालमा १० शैययाको आईसोलेसन वार्डको स्थापना गरिएको छ । अस्पतालमा आईतवारबाट छुटै ज्वरो क्लिनीक संचालन गर्ने तयारी गरिएको छ ।


यसैगरि, निजी क्षेत्रको दुई अस्पताल राजविराजस्थित छिन्नमस्ता अस्पताल र रायपुरस्थित युनिक अस्पतालमा पनि २०–२० शैययाको आईसोलेसन वार्ड स्थापना गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जनाए । उनका अनुसार रुपनीस्थित नेपाल प्रहरीको पुर्व क्षेत्रिय अस्पतालमा पनि आईसोलेसन कक्ष राख्ने तयारी गरिएको छ ।


यस्तै जिल्ला स्थित सुरक्षा प्रमुखहरू, स्थानिय जनपूतिनिधीहरू र स्वास्थ्यसंग सम्बन्धित कार्यालयका प्रतिनिधीहरूले राजविराज स्थित पुरानो साइकृष्ण मेकिडल कलेजको भवनलाई क्यारेनटाइनको रुपमा राख्नेबारे छलफल गरेका छन् । उक्त भवनलाई सफाई गरि भौतिक पुर्वाधार र इक्विपमेन्टहरू थपेर क्वारेन्टाइन बनाउन लागिएको यादवले बताए । तर, साविकमा साई कृष्णा मेडिकल कलेज रहेको क्षेत्रको वरिपरिका स्थानियहरूले उक्त स्थानमा क्वारेन्टाइन वा आईसोलेसन वार्ड वनाउन नदिने भन्दै शनिबार विरोध जनाएका छन् ।


यसैगरि, सप्तरीको तिलाठी कोईलाडी गाँउपालिका–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्र तोपाको एउटा कोठालाई संक्रमण निवारण गरी कम्तिमा दुई वेडको निगरानी कक्ष (क्वारेन्टाइन) को रुपमा तयारी गर्ने भएको छ । गाँउपालिकाको जनस्वास्थ्य आपतकालीन ब्यवस्थापन उप समितिको बैठकले वडा नं. १ बेल्ही भन्सारमा रहेको हेल्थ डेस्कलाई अझ प्रभावकारी बनाउन विहान ६ बजेदेखि दिउासो १२ बजेसम्म एउटा सिफ्ट र दिउसो १२ बजेदेखि साझ ७ बजेसम्म अर्को सिफ्टमा गरी स्वास्थ्यकर्मीहरूलाई परीक्षणकोलागि परिचालन गर्ने निर्णय गरेको छ ।


हेल्थ डेस्कमा बुधबारसम्म २ हजार ३ सय २१ जनाको परीक्षण गरिएको छ । गाउापालिकाले सबै वडामा कोरोना सम्बन्धी जानकारी मैथिली भाषामा माइकिङड्डमार्फत सन्देश प्रवाह गर्दै आएको विपद ब्यबस्थापन अधिकृत राजेश झाले जनाए । जिल्ला प्रहरी कार्यालयले हिरासतकक्षमा रहेका थुनुवाहरू र मातहतका कार्यालय समेतका कार्यरत रहेका प्रहरी कर्मचारीलाई मास्क बितरण गरेको छ ।


दलित मुसहर बस्तीमा सचेतना


सिरहा– दलित मुसहर वस्तीमा कोरोना भाइरसको संभावित संक्रमणबाट जोगिन विभिन्न संघसंस्थाले सचेतना अभियान सुरु गरेको छ । कोरोना भाइरसको लक्षण, यसबारे पूर्वसर्तकता अपनाउन ती बस्तीका घर घर पुगेर सचेतिकरण अभियान सुरु गरेको हो । दलित जनकल्याण युवा क्लबले लहान नगरपालिका २ स्थित १ सय १५ घरधुरीको बसोबास रहेको दलित मुसहर बस्तीमा पुगेर कोरोनाबारे सचेतिकरण सुरु गरेको हो । सामाजिक परिचालक एलिना हिंङमाङ चौधरीका अनुसार बस्तीका घरलौरी महिला पुरुषलाई मास्कको प्रयोग, साबुन पानीले हातधुने तरिकाबारे सिकाइएको थियो । त्यसैगरी कोरोना भाइरसको लक्षण र यसबारे पूर्वसर्तकता अपनाउनबारे जानकारी गराइएको छ । बस्तीका १ सय १५ घरधुरीलाई साबुन उपलब्ध गराइएको छ ।


हात धुन र मास्क वितरण


पर्सा– वीरगन्जस्थित सीमा नाकामा सर्वसाधारणलाई मास्क वितरण गरिएको छ । गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले कोईरालाको १० औं स्मृति दिवशको अवसर पारेर शनिबार सर्वसाधारणलाई सेनेटाइजरले हात धुन लगाउनुका साथै मास्क बितरण गरेको हो ।


यसैबीच वीरगन्ज भन्सारस्थित सशस्त्र प्रहरी राजश्व गस्ती गुल्मले पनि भारतबाट भित्रिने यात्रुहरूलाई लक्षित गरी सीमा नाकामा माइकिङ्ग थालेको छ । गुल्मका प्रमुख डिएसपि अमरबहादुर खत्रीले वीरगन्ज भन्सारदेखि मितेरी पुल सम्म माइकिङ गरी भारतबाट भित्रिने भारतीय तथा नेपाली सर्वसाधारणलाई कोरोना भाइरसको महामारीबाट बच्ने विधिहरूबारे सन्देश दिने काम भई रहेको बताए ।

प्रकाशित : चैत्र ९, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?